बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कला

‘द हिमालयन नाउ’ : परम्परागत, लोककला र आधुनिक कलाको जम्काभेट

शनिबार, २८ भदौ २०८२, २० : ००
शनिबार, २८ भदौ २०८२

ठमेलको छाया सेन्टरमा अवस्थित ‘द कला सालोन’मा भर्खरै (२१ अगस्टदेखि ९ सेप्टेम्बरसम्म) ‘द हिमालयन नाउ, २०२५’ शीर्षकको एउटा अब्बल सामूहिक कला प्रदर्शनी भयो । हिमालयको काखमा पल्लवित जीवन्त अनुभव अनि कलात्मक सिर्जनशीलताको कलागत रूप नै वस्तुतः यो कला प्रदर्शनीको मूल आत्मा थियो । यसर्थ पनि यसको नाम ‘द हिमालयन नाउ’ राखिएको हुनुपर्छ ।

सदियौँदेखि आफ्नै स्वाभिमानमा उभिएको आजको हिमालयन संस्कृतिलाई यस कला प्रदर्शनीमा प्रदर्शित कलाले बोकेका थिए । अर्थात् विविध विधाहरूलाई समेटेर गरिएको यो कला प्रदर्शनीले हाम्रै मौलिक परम्परा, संस्कृति र आराध्य देवदेवीलाई गहिरो रूपमा अँगालेको देखिन्थ्यो । अलिकति हिजोको जस्तो, अलिकति आजको जस्तो भएर बनेका यी चित्रले छुट्टै आकर्षण दिन भ्याएको पनि देखियो । यी कला धर्म र धार्मिकतासँग जोडिएका त छँदै छन्, सँगसँगै यी कलामा नेपाली संस्कार, आस्था र विश्वास प्रकट भएका छन् । 

यस प्रदर्शनीमा सङ्गीत पनि गाँसिन पुग्दा माहोल आफैँ कलामय बन्न पुगेको थियो । गायिकाहरूमा रोजी डङ्गोल श्रेष्ठ, अञ्जेला श्रेष्ठ अनि भायोलिनमा सुनिल सिंह थिए । 

क्यानभासको चारैतिर पानीको धारा बगाएर पसिनाको प्रतीकात्मक विम्ब बनाउनु पनि कलाकारको थप विशेषता देखिन्छ । यथार्थ चित्रको बिचमा धाराहरूको अमूर्त स्वरूप अलग्ग रूपमा देखिएको छ, यसले भीमसेनलाई पसिना आउने सन्दर्भलाई प्रकट गरेको छ ।

परम्परा र आधुनिकता बिचको पुलजस्तो वा फ्युजनजस्तो भएर देखिएको यस प्रदर्शनीमा समावेश धेरै कलामा हाम्रै परम्परागत गाथाहरू गुथिएका छन् । यी कला समसामयिक कला नै हुन्, तर यसमा लोककला वा परम्परागत पनि गाँसिएका छन् । जुनसुकै विधाका कला होउन्; आजको सन्दर्भ, आजको कला शैली र आधुनिक अङ्कन पद्धति जोडियो भने त्यसलाई समसामयिक कला मान्नुपर्छ । यी कलामा नेपाली माटो, जीवन पद्धति, धर्म–संस्कार, देवी–देवता आदि कुनै न कुनै रूपमा परेका छन् । 

यस प्रदर्शनीमा विभिन्न विधाका पाँच कलाकार सहभागी थिए— मिथिला कलाबाट दुईजना (राखी कर्ण र सुभाद्री सुभा), परम्परागत थाङ्का कलाबाट चेपाल दोर्जी शेर्पा, आधुनिक मूर्तिकलातर्फ कुमार थापा अनि आधुनिक चित्रतर्फ उमेश श्रेष्ठ । 

  • प्रदर्शित कला

कलाकार उमेश श्रेष्ठ यस कला प्रदर्शनीका समन्वयकर्ता पनि हुन् । कलाकार र समन्वयकर्ताको रूपमा उनी भन्छन्, ‘हामी कलाकारहरू यहाँ फर्म र इमेजलाई उभ्याउन खोजेका मात्र छैनौँ, समग्रमा हामी प्राचीन हिमालयको साक्षी पनि हौँ । यो प्रदर्शनी हल्ला–खल्लाका लागि मात्र होइन, मनोरञ्जनका लागि पनि होइन, यो हाम्रो अन्तर्आत्मा र सिर्जना माथिको प्रतिबद्धता हो ।’ 

umesh 3

यस प्रदर्शनीमा उमेशका सातवटा चित्र प्रदर्शित छन् । सबैजसो चित्रमा देवी–देवतालाई प्रत्यक्ष वा परोक्ष रूपमा चित्राङ्कन गरिएको छ । कतै देवी कुमारी साजसज्जाका साथ आसनमा विधिवत् विराजमान देखिन्छिन्; कतै मन्दिरतिर देखिने घण्टीहरूको संयोजन देखिन्छ; कतै स्तुपातिर देखिने मानेहरू लाइन लागेर बसेका देखिन्छन्; कतै साक्षात् देवीथान दृश्यावलोकन हुन्छ । जे देखिए पनि ती सबै धार्मिक आस्थासँगै जोडिएर आएको स्पष्ट देखिन्छ । 

उनका सबै चित्रका नाम (जस्तो ः होली टच, बिटविन टु सर्कल आदि) भने आजको सन्दर्भ मिलाएर राखिएका छन् तर कलाको सबैजसो अवयव धर्मकै छन् । 

‘बिटविन द सर्कल’ नामक उनको चित्रमा दुईवटा सर्कल बिचमा एउटा सिङ्गो सफलताको कथा गुथिएको छ । प्रक्रियामा तलदेखि माथि टुप्पासम्म पुग्दा विभिन्न अवयव पार गर्दै गएको देखिन्छ र अन्ततः सफलता चुमेको महसुस हुन्छ । झट्ट हेर्दा देवीको कामुक, सुन्दर र लयात्मक शरीर देखिन्छ, परम्परागत काष्ठकलामा कुँदिएका अर्धनग्न देवीको प्रतिकृतिका रूपमा । गहिरिएर हेर्दा सामान्य मान्छेको सामान्य जीवन उभो लाग्दै गएको र बुद्धत्वको अवस्थालाई उजागर गरेको देखिन्छ । 

umesh 4

‘बिटविन डिभोसन एन्ड सर्कल’ नामक अर्को उनको चित्रमा दोलखा भीमसेनको साक्षात् रूप प्रत्यक्ष देखिन्छ । यथार्थ रूपमा अङ्कन भएको यस चित्रमा सर्वप्रथम सानो मन्दिरको अग्रभाग देखिन्छ । मन्दिरभित्र भने लावण्य भगवान्को स्वरूप देखिन्छ । यस्तै लावा–लस्करका साथ घण्टीहरू, ढिक्का परेर बसेको अबिर तथा टीकाको थुप्रो पनि यस चित्रमा आएका छन् । यसैमाथि उनका भावना र विचारहरू थपिँदै गएका छन् । अर्थात् अविरल बगेका पानीका धाराहरू र साना–ठुला सर्कलहरू क्यानभासमा थपिँदै जाँदा यो चित्र देवताको प्रतिकृति मात्र बन्दैन; यसले कलाकारको भाव र विचारलाई पनि बोकेर उभिएको प्रतीत हुन्छ । यो अनौठो प्रकारको सोच देखिनु पनि सर्वनवीन ढङ्ग हो भन्नुपर्ने हुन्छ । 

कलाकार राखी कर्णका सबैजसो चित्रमा देवी–देवतालाई समेटिएको छ । लोकगाथालाई पात्रहरूको चयन गर्नु, लोककलाको विशेषतालाई समेत समावेश गर्नु, आफ्नै दृष्टिकोण थपेर यसलाई पस्कनु उनको कलागत विशेषता हो ।

भीमसेनलाई पसिना आयो भने राष्ट्रमै अनिष्ट हुन्छ भन्ने मान्यता एकातिर छ, अर्कोतिर यस मान्यतालाई लिएर अनेक टीका–टिप्पणी पनि हुने गर्छन् । क्यानभासको चारैतिर पानीको धारा बगाएर पसिनाको प्रतीकात्मक विम्ब बनाउनु पनि कलाकारको थप विशेषता देखिन्छ । यथार्थ चित्रको बिचमा धाराहरूको अमूर्त स्वरूप अलग्ग रूपमा देखिएको छ, यसले भीमसेनलाई पसिना आउने सन्दर्भलाई प्रकट गरेको छ । चाँदीको प्रतीकात्मक सर्कललाई अर्को विम्बको रूपमा उभ्याउँदा यो चित्र अझ मनमोहक देखिएको छ । 

उनकै अर्को चित्र छ, ‘द होली किस’ शीर्षकको । जहाँ गाढा निलो पृष्ठभूमिमा गाढा रातो रङ आएको छ; तत्पश्चात् हिमाल र मठ मन्दिर आदिलाई स्थापित गर्दा यस चित्रले यथेष्ट मौलिकताको बोध गराउँछ । बिचमा राधाकृष्णले कामुक शैलीमा आलिङ्गन गरिरहेछन् । उमेशको मूल विशेषता भनेको उनले सर्वप्रथम कुनै पनि ठाउँ वा वस्तुलाई प्रतिकृतिको रूपमा जस्ताकै तस्तै क्यानभासमा उतार्छन्, तत्पश्चात् त्यसैको तल–माथि अनेकौँ थप प्रतीकात्मक विम्ब थपेर एउटा अलग्ग भाष्यलाई निर्माण गर्छन् । 

कलाकार राखी कर्णका सबैजसो चित्रमा देवी–देवतालाई समेटिएको छ । लोकगाथालाई पात्रहरूको चयन गर्नु, लोककलाको विशेषतालाई समेत समावेश गर्नु, आफ्नै दृष्टिकोण थपेर यसलाई पस्कनु उनको कलागत विशेषता हो ।

rakhi 1

झट्ट हेर्दा उनका चित्र परम्परागत लोककलाजस्ता देखिन्छन् तर त्यसैभित्र उनका आफ्नै अवधारणा पनि गाँसिएका हुन्छन् । यसपालि प्रदर्शित उनका यी कला केही अलग्ग देखिन्छन् । 

राखीका चित्र दृश्यात्मक नै हुन्छन्, तर त्यसले कथा भनिरहेझैँ लाग्छ । उनले सिर्जना गरेको कथा आजको आम मान्छेसँग पनि जोडिएको देखिन्छ । कोही दर्शक उनको चित्रअगाडि आउनेबित्तिकै चित्रमा रहेको कथा सुनाउन उनलाई हतार हुन्छ । आम मान्छेसँग जोडिने यो उनको रहर पनि कलाकै भागजस्तो भएर देखापर्छ । सभ्यताको इतिहासमा अनेकानेक धर्मकथा र दन्त्यकथा पनि जन्मँदै गए । सन्तान, दरसन्तान एउटा पुस्ताबाट अर्को पुस्तामा कथा हस्तान्तरण हुँदै गएको प्रक्रियाबाट उनी प्रभावित बनिन्, त्यही नै उनको कलाको मूल प्रेरणाको स्रोत बन्यो । 

उनका चित्र मिथिला लोककलाका अनेकानेक प्रतीकात्मक विम्बले भरिएका हुन्छन् । चहकिला रङको प्रयोग गर्न रुचाउने उनको चित्रको आधारभूमि हो, मिथक । लोकगाथाभित्रका मिथकलाई खेलाएर उनी अनेक प्रकारका चित्रको निर्माण गर्छिन् । लोककलामा चहकिला रङ प्रयोग गर्ने परम्परा छ । मिथिला लोककलालाई आधार लिएर राखीले आफ्ना चित्रमा कैयौँ विषय वा विचार गाँस्ने गर्छिन्, जसले गर्दा उनका चित्रले थोरै समसामयिकता समाएको पनि देखिन्छ । यति हुँदै गर्दा पनि रङ मिश्रित हुँदै कोमलता देखिनु उनले थपेका कथाहरू हुन् । 

क्यानभासमा कुनै पनि स्पेसलाई उनी खाली छाड्दिनन् । त्यस्ता खाली ठाउँमा कुनै न कुनै अमूर्त बुट्टाले भरिहाल्न उनको इच्छा जागृत हुन्छ । त्यसैले अनेक प्रकारका रङ्गीबिरङ्गी बुट्टाहरूले उनको क्यानभास भरिएको देखिन्छ । यो उनको निजी पहिचान पनि हो । मैथिली संस्कृति तथा संस्कारमा जन्मे–हुर्केकाले गर्दा पनि उनका कला जीवन्त बन्न गएको देखिन्छ । 

‘विष्णुलोक’ नामक चित्रमा शेष नागमाथि देव विष्णु देवी र लक्ष्मीलाई राखेर उनले अलौकिक वातावरण सिर्जना गरेकी छन् । पृष्ठभूमिमा निलो आकाश, प्रतीकात्मक परम्परागत बादलका टुक्राहरू अग्रभागमा उछलकुद गर्दै बगिरहेको आदिलाई उनले स–साना रेखाहरूमार्फत राम्रैसँग उन्न भ्याएकी छन् । 

‘दश अवतार’ अर्को उनको आकर्षक चित्र हो । जहाँ विष्णुको दशवटा अवतारलाई चारैतिर अङ्कन गरिसकेपछि बिचमा विष्णु, लक्ष्मी र ब्रह्मालाई अर्को नाटकीय ढङ्गमा प्रस्तुत गरेकी छन् । साधारणतया दशावतारको चित्रमा यो थप इमेजलाई राखिँदैन तर यहाँ देखिनुको पछाडि हरेक अवतारको पछाडि म छु भन्ने प्रतीकात्मक बिन्दु हो रे । ‘छिन्नमस्ता माता– द काली’ उनको अर्को यस्तै रहरलाग्दो चित्र हो । 

यस्तायस्तै लोकगाथालाई मुख्य केन्द्रमा राखेर बनाइएका हरेक चित्रले अनेक विम्ब र प्रतीकका सहारामा कथा भनेका छन् । उनको अर्को चित्र छ, ‘भागीरथी गङ्गा’, जसमा घमण्डले चुर गङ्गालाई महादेवले आफ्नै जटाभित्र बाँधेर राखेको परिदृश्य देख्न सकिन्छ । भनिन्छ, अनुनय–विनय भएपछि मात्र उनी जटाको जङ्गलबाट मुक्त हुन्छिन् । अनि ठुलो जलाधारका साथ पृथ्वीमा आइपुग्दा राजकुमारहरूको उद्धार हुन्छ । ‘द जर्नी कोइस्ट अफ इन्लाइटेनमेन्ट’ नामक चित्रमा महात्मा बुद्धको सङ्घर्षपूर्ण जीवनको हरेक भागलाई स्पष्टसँग देखाइएको छ, जुन उनको अर्को आकर्षक काम हो । 

1000059494

अर्की मैथिली कलाकार सुभाद्री सुभाका कला पनि मैथिली कलाका लक्षणले भरिएका देखिन्छन् । मैथिली संस्कारमा आधारित भई विकसित भएको लोककला अनि लोकगाथा नै उनको चित्रको मूल आधार बनेको देखिन्छ । उनले कला बनाउन थालेको धेरै भएको छैन । लकडाउनमा घरैमा बस्नुपर्दा कला कोर्न सुरु गरेकी शुभद्रीले अहिले एउटा गतिलो बाटो समातिसकेकी छन् । विशेष गरेर यसपल्ट साउन महिनालाई मुख्य केन्द्र बनाएर उनले चित्र बनाएकी छन् । साउनको सुगन्ध, यसको सांस्कृतिक र आध्यात्मिक महत्त्वलाई उनका कलाले उजागर गरेका छन् । साउनमा अलिकता धर्म अनि अलिकता रङ्गीबिरङ्गी वातावरणले जब उनको हृदयमा छुन्छ; जब उनको मन–मस्तिष्कमा अनेक रूपहरू सलबलाउन थाल्छन् । यसैको प्रतिविम्बका रूपमा उनका कला जन्मन पुगेको देखिन्छ । 

मैथिली संस्कृतिमा माछालाई विशेष गरेर महिलाको बिहे पछिको जीवनमा उर्वरता, श्रीमान्को दीर्घ जीवन आदिका लागि प्रतीकका रूपमा लिने गरिन्छ । मैथिली मात्र होइन, हिन्दु संस्कृतिमै संस्कारका धेरै क्रियाकलापमा माछा राख्ने प्रचलन छ । मैथिली कलामा त माछाको प्रयोग अत्यधिक रूपमा हुने गर्छ । यस्तायस्तै विषयवस्तुलाई संयोजन गरेर शुभद्रीले चित्र बनाएकी छन् । पचासौँ माछा माछाले भरिएको यो उनको चित्र केही अनौठो लागे पनि यसको भावार्थ भने निकै गहिरो छ । बिच भागमा स्वस्तिक चिह्नसहित महिलालाई अङ्कित गरेकी छन् । यसरी उनले महिलाकै कुरा उठाएको स्पष्ट अनुभव गर्न सकिन्छ । ‘कृष्ण बाल–लीला, माखन चोर’ नामक अर्को चित्रमा पनि मण्डलाहरूको घेराभित्र कृष्णलाई चित्रण गर्न पुगेकी छन् । बालकृष्ण कसरी माखन चोरेर खाँदै छन् भन्ने कथालाई उनले आकर्षक ढङ्गले पस्केको देखिन्छ । 

chepal

चेपाल दोर्जी शेर्पाले ‘ग्रिन तारा’ मण्डला बनाएका छन् । मूलतः उनी बौद्ध टिचिङको प्राक्टिसनर पनि हुन् । अहिले पछिल्लो कालमा आएर उनी यसलाई सिकाउँछन् पनि । बौद्ध धर्मका ज्ञाता उनी सबल थाङ्का चित्रकार पनि हुन् । बौद्ध धर्ममा थाङ्का चित्रलाई आदरभावका हेरिन्छ । 

ज्यामितीय फर्ममा कलाचक्र मण्डला बिच रहेको उनको यो ‘ग्रिन तारा’ नामक कामलाई शान्ति, करुणा, संरक्षणत्व र प्रबोधनका रूपमा लिइन्छ । ‘ग्रिन तारा’ स्वयंमा करुणा, शान्ति र सङ्गतिको द्योतक हो । अझ यसैमा मण्डला जोडिएपछि यसले अझ व्यापक गहिराइ पाउने विश्वास गरिन्छ । आध्यात्मिक ज्ञान, प्रबोधन र शान्तिको यात्राका रूपमा पनि यसलाई हेर्ने गरिन्छ । 

परम्परा र समसामयिक भावाभिव्यक्ति बिचको संवाद बोकेर अर्का कलाकार कुमार थापाको अमूर्त मूर्तिकला बन्न गएको छ । थापा भन्छन्, ‘नेपाली सांस्कृतिक गहनताबारे अझै पनि राम्रोसँग बहस भएको छैन, म मेरा कलाबाट यसको शुभारम्भ गर्न चाहन्छु ।’ 

(मल्ल कलाकार र कला समीक्षक हुन् । )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप