शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

म्यानमाको राखाइनमा हवाई आक्रमण, १९ जना विद्यार्थीको मृत्यु

शनिबार, २८ भदौ २०८२, १७ : २२
शनिबार, २८ भदौ २०८२

सारांश

  • म्यानमारको राखाइन राज्यमा भएको हवाई आक्रमणमा कम्तीमा १९ जना विद्यार्थीको मृत्यु भएको छ।
  • आक्रमण क्याउक्ताव नगरपालिकामा रहेको विद्यालयमा भएको थियो, जसमा २२ जना घाइते भएका छन्।
  • अराकान आर्मीले आक्रमणको लागि म्यानमारको सैनिक सरकारलाई जिम्मेवार ठहराएको छ, र युनिसेफले दुःख व्यक्त गरेको छ।

क्याउक्ताव । म्यानमाको पश्चिमी राज्य राखाइनमा भएको एक हवाई आक्रमणमा परी कम्तीमा १९ जना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले ज्यान गुमाएका छन् । घटनाबारे जानकारी दिँदै सशस्त्र समूह अराकान आर्मी (एए) ले उक्त आक्रमण क्याउक्ताव नगरपालिकामा रहेका दुई निजी विद्यालयहरूमा भएको जनाएको छ।

उक्त समूहले सार्वजनिक गरेको विज्ञप्तिअनुसार आक्रमण मध्यरातपछिको समयमा भएको हो, जसमा १५ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीहरूको मृत्यु भएको र थप २२ जना घाइते भएका छन् । एएले आक्रमणका लागि म्यानमाको सैनिक सरकारलाई जिम्मेवार ठहर गरेको छ।

‘निर्दोष विद्यार्थीहरूको असमय निधनले हामीलाई पीडित परिवारसरह अत्यन्तै दुःखी तुल्याएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। स्थानीय सञ्चारमाध्यम म्यानमार नाउ ले जनाएको विवरणअनुसार, सैनिक सरकारको युद्धक विमानले दुई वटा पाँच सय पाउन्डका विस्फोटक सामग्री विद्यालय भवनमाथि खसालेको थियो, जब विद्यार्थीहरू निद्रामा थिए।

घटनापछि बाल अधिकारको संरक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था युनिसेफले वक्तव्य जारी गर्दै यस आक्रमणप्रति गहिरो चिन्ता र दुःख व्यक्त गरेको छ। युनिसेफले भनेको छ, ‘यो आक्रमण राखाइन राज्यमा पछिल्लो समय हुँदै आएको हिंसात्मक घटनाहरूको भयावह नमुना हो, जसको सबैभन्दा पीडादायक मूल्य बालबालिका र निर्दोष परिवारहरूले चुकाइरहेका छन्।’

सञ्चार संस्था एएफपीले घटनास्थल वरपरको जानकारी लिन खोज्दा इन्टरनेट र फोन सेवा अत्यन्तै कमजोर भएकोले प्रत्यक्ष विवरण प्राप्त गर्न नसकेको उल्लेख गरेको छ।

सन् २०२१ मा म्यानमारको प्रजातान्त्रिक सरकारलाई सैनिकले हटाएपछि देशमा विभिन्न सशस्त्र समूहहरूद्वारा प्रतिरोध तीव्र बन्दै गएको छ। यसबिच, सैनिक सरकारमाथि बारम्बार सर्वसाधारण क्षेत्रहरूमा हवाई तथा तोप आक्रमण गर्ने गम्भीर आरोपहरू लाग्दै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप