बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कतारमा भएका हमास नेतालाई नेतन्याहुको चेतावनी

आइतबार, २९ भदौ २०८२, १० : २०
आइतबार, २९ भदौ २०८२

सारांश

  • इजरायली प्रधानमन्त्री नेतन्याहुले कतारमा रहेका हमास नेताहरूलाई गाजा युद्ध लम्ब्याएको आरोप लगाएका छन्।
  • नेतन्याहुले हमास नेताहरूले युद्धविराम प्रयासहरूलाई रोकेको र बन्धकहरूको रिहाइलाई अवरुद्ध गरेको बताए।
  • इजरायलले कतारको आलोचना गर्दै हमास नेताहरूलाई निष्कासन गर्न वा कारबाही गर्न माग गरेको छ।

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कतारमा बस्ने हमास नेताहरूलाई चेतावनी दिएका छन् ।  यी नेताहरू गाजा युद्ध अन्त्य गर्न सबैभन्दा ठुलो बाधा भएको अनि यिनीहरूकै कारण द्वन्द्व लामो हुँदै गइरहेको शनिबार उनले बताएका छन् । 

 दोहास्थित हमास पोलिटब्युरोले युद्धलाई अन्तहीन तरिकाले तानिरहेको अनि बन्धकहरूको रिहाइलाई रोकिरहेको पनि नेतन्याहुले बताए । ‘कतारमा बसिरहेका हमासका आतंकवादी नेताहरूलाई गाजाका जनताको मतलब नै छैन । युद्धलाई अन्तहीन रूपमा तान्न सकियोस् भनेर तिनीहरूले प्रत्येक युद्धविराम प्रयासलाई अवरुद्ध गरिरहेका छन् । यदि हामीले तिनीहरूबाट छुटकारा पायौं भने, बन्धकहरूको रिहाइ र युद्धको अन्त्य सम्भव हुनेछ,’  माइक्रोब्लगिङ वेबसाइट एक्समा उनले लेखेका छन् । 

कतारले हमासको शीर्ष नेतृत्वलाई आतिथ्य गरेकोमा इजरायलले कतारको बारम्बार आलोचना गरिरहेकै समयमा नेतान्याहुको यो बयान आएको द टाइम्स अफ इजरायलले बताएको छ । 

यस हप्ताको सुरुमा, नेतान्याहुले कतारमा बसिरहेका हमासका नेताहरूमाथिको आक्रमणलाई सेप्टेम्बर ११ को आक्रमण पछिको अमेरिकी कारबाहीसँग तुलना गरेका थिए । कतारले उनीहरूलाई देशबाट निष्कासन नगरेसम्म वा न्यायको कठघरामा ल्याएसम्म इजरायलले उनीहरू जहाँ भए पनि कारबाही गर्ने बताइएको छ । 

कतारले नेतान्याहुको टिप्पणीलाई लापरबाही भनेको छ । हमास नेताहरूलाई आतिथ्य गर्नु यसको अन्तर्राष्ट्रिय मध्यस्थता भूमिकाको एक हिस्सा भएको कतारको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप