बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजीलाई यदुवंशी बन्ने छुट छैन

आइतबार, २९ भदौ २०८२, १३ : ३७
आइतबार, २९ भदौ २०८२

जेनजीको आन्दोलनको जगमा टेकेर भएको विध्वंसपछि मुलुकले नयाँ नेतृत्व पाएको छ । पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले यो विध्वंसपछिको नयाँ नेपाल निर्माणको जिम्मा लिएकी छन् । उमेर समूह जे भए पनि मुलुकले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ । यो सामान्य अवस्था पटक्कै होइन । यो अवसरलाई सही सदुपयोग गर्न सकिएन भने यसले महाभारतपछिका यदुवंशीको अवस्था आउन सक्छ । हामीले संयमता, विवेक, धैर्यता र साझा भावनाबाट अघि बढ्ने क्षमता राख्नुपर्छ । जेनजीको आन्दोलनले व्यवस्था मात्र परिवर्तन खोजेको होइन, यसले अवस्था पनि परिवर्तन गर्नुपर्छ ।  

भगवान् कृष्णले महाभारत युद्धमा कौरवहरूको नाश गरे । उनले आफ्ना सन्तानलाई आपसमा लडाएर सखाप पारेको पीडामा गान्धारीले ‘यदुवंशी पनि त्यसरी विनाश होस्’ भनी श्राप दिइन् । सन्दर्भ महाभारतकालीन हो । जुन कथा प्राचीनकालको द्वारका नगरीसँग सम्बन्धित छ । यदुवंशीहरू वीर, पराक्रमी र आफ्नो वंशको गौरवमा मग्न थिए । उनीहरू आफ्नो विरासतको अहंकारमा मस्त थिए । जेनजी समूहलाई यो अवसर छैन, न त यो अन्तरिम सरकारलाई ।

पुराणहरूमा उल्लेख भए अनुसार यदुवंशीहरूको पतन बाह्य शत्रुका कारणले नभई उनीहरूको आफ्नै शक्ति र अहङ्कारको सीमा नाघेपछि भएको थियो । अहङ्कार र शक्तिप्रतिको अति आत्मविश्वास नै उनीहरूको विनाशको कारण बन्यो । भनिन्छ, मदिरापानको उत्सवमा सामान्य झगडाबाट सुरु भएको कलह क्रोध र घृणाको आगोमा यति फैलियो कि एकापसमा मारकाट गर्न थाले । ग्रन्थहरूले उल्लेख गरे अनुसार यदुवंशीहरूले सामान्य घाँसका पातहरूलाई मुसलमा परिणत गरे, जसले एक अर्कालाई सखाप पार्‍यो । जसबाट द्वारका शून्यमा परिणत भयो, द्वारका नगरी खाली भयो । यदुवंश समाप्त भए र केवल केही अवशेष बाँकी रहे । 

यदुवंशीय कथाले सामाजिक र नैतिक त्रासदीको पाठ सिकाउँछ । यसले हामीलाई सिकाउँछ कि जब कुनै समुदाय वा पुस्ताले आफ्नो मूल उद्देश्य बिर्सेर अहङ्कार, उन्माद र अराजकतालाई अँगाल्छ, तब बाह्य शक्तिले पराजित गर्नै पर्दैन, त्यो आफैँ भित्रबाट खोक्रो भएर ढल्छ । यस कथाले शक्ति, चाहे त्यो शारीरिक होस् या सामाजिक, त्यसलाई सही दिशा र विवेकले नियन्त्रण गरिएन भने आफैँलाई नष्ट गर्ने हतियार बन्न पुग्छ । 

जेनजी आन्दोलन नेपालमा युवा पुस्ताद्वारा सञ्चालित आन्दोलन हो । जसको सुरुवात राम्रो भविष्य, भ्रष्टाचारविरुद्ध आवाज र न्यायको खोजीजस्ता पवित्र उद्देश्यका साथ भएको हो । यो आन्दोलन युवा जोस, ऊर्जा र प्रविधिको सामर्थ्यले भरिएको थियो र समाजमा सकारात्मक परिवर्तन ल्याउने सपना देखेको थियो । सामाजिक सञ्जालमा न्यायका नारा गुन्जिएका थिए भने सडकमा आशाका जुलुस निस्किएका थिए । 

यदुवंशीहरूको पतन बाह्य शत्रुका कारणले नभई उनीहरूको आफ्नै शक्ति र अहङ्कारको सीमा नाघेपछि भएको थियो । अहङ्कार र शक्तिप्रतिको अति आत्मविश्वास नै उनीहरूको विनाशको कारण बन्यो । भनिन्छ, मदिरापानको उत्सवमा सामान्य झगडाबाट सुरु भएको कलह क्रोध र घृणाको आगोमा यति फैलियो कि एकापसमा मारकाट गर्न थाले ।

पीडाका साथ भन्नुपर्छ, यो आन्दोलनले हाल धुवाँको मुस्लोमा परिणत भई निभेको एक अँगारको गन्ध छाडेको छ । यसले ध्वस्त संरचनाहरू, जलेका सपनाका अवशेषहरू र ७० भन्दा बढी निर्दोष भविष्यहरूको अवसान गराएको छ । सयौँ अपाङ्ग, अशक्त र त्रसित आत्माहरूको चीत्कार छाडेको छ, जसले कुनै विजय नभई केवल विनाशको उत्सव मनाइएको भयावह चित्र कोर्ने खतराको सङ्केत गरिरहेको छ । यही अवस्थामा एउटा आशालाग्दो परिचित अनुहारको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

आन्दोलनले स्पष्ट नेतृत्व र नीतिगत धार गुमाएपछि एक अनियन्त्रित आवेगको तुफानमा बदलियो । सामाजिक सञ्जालमा पोखिएका आक्रोशका शब्द सुरुमा चेतना जगाउने माध्यम भए पनि पछि ती क्रमशः घृणा र विभाजनका अस्त्र बन्दै गए । शान्तिपूर्ण प्रदर्शनका लागि ल्याइएका ब्यानर र नारा आवेग र आक्रोशको ज्वालामा परिणत भए । जुन यदुवंशीको कथासँग मिल्दोजुल्दो देखियो । दुई दिनको विध्वंस र त्यसपछिका दुई दिनको प्रयासपछि देशले निकास पाएको छ । 

यदुवंशका कृष्णजस्तै आपसमा लडिरहेका आफ्नै वंशलाई हेरेर बसिरहेका केपी ओली ‘एउटा व्याधाको बाण’ लागेर घाइते भएका छन् । यो संयोगजस्तो लागे पनि यो विशाल विनाशको बीजारोपण उनकै सत्ताले गरेको थियो । जसरी कृष्ण सिंगो महाभारत जितेर पनि आफूसँग आफ्नै कुलका सम्पूर्णको विनाश हेरेर स्वर्ग गए, त्यसरी नै जेल–नेल, षड्यन्त्रको सामना गर्दै पञ्चायतदेखि गणतन्त्रसम्म महत्त्वपूर्ण भूमिकामा रहेका केपी पनि आफूसँगै विनाशको कारक बने ।  

उनको अकर्मण्यताका कारण दर्जनौँ युवा गोलीको सिकार भए । यसकै विरोधमा परिवर्तनको संवाहक हुनुपर्ने युवा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडमा उत्रियो । आफ्नै दाजुभाइ, दिदीबहिनी र बुबाहरूको सपनामा आगो लगायो । न्यायको खोजीमा निस्किएकाहरूले नै ऐतिहासिक धरोहरहरू खरानी बनाउने कलंक बोक्नुपर्‍यो । ७० भन्दा बढी मानिस मारिए । जसमा सुरक्षाकर्मी र निर्दोष नागरिक दुवै छन् । यसको पछाडि आन्दोलन भित्रैबाट निस्केको अनियन्त्रित क्रोध र अहङ्कार मुख्य कारण थियो । आन्दोलनको मूल उद्देश्यभन्दा विध्वंस ठुलो हुँदा कुनै पनि उपलब्धि हासिल हुँदैन कि भन्ने त्रास विद्यमान छ । समाजमा अविश्वास, भय र विभाजनको खाडल बढ्ने मात्र होइन, राष्ट्र निर्माणमा लाग्नुपर्ने युवा ऊर्जा आत्मघाती युद्धमा होमिने खतरा टड्कारो छ । 

यदुवंशीय कथाले सिकाएजस्तै जब कुनै समुदाय वा पुस्ताले आफ्नो मूल उद्देश्य बिर्सेर अहङ्कार, उन्माद र अराजकतालाई अँगाल्छ, तब बाह्य शक्तिले पराजित गर्नैपर्दैन, त्यो आफैँ भित्रबाट खोक्रो भएर ढल्छ । कांग्रेस–एमालेको संयुक्त सरकारको अवसान यसको प्रत्यक्ष उदाहरण हो । यसले भविष्यका हरेक आन्दोलन र पुस्ताका लागि एउटा कठोर प्रश्न छोडेको छ— के हामी यदुवंशीय कथाको प्रतिध्वनि मात्र बन्नेछौँ वा त्यसबाट पाठ सिकेर अझ सुदृढ र विवेकपूर्ण राष्ट्र निर्माणको दिशामा अघि बढ्नेछौँ ? 

यतिखेर नेपाल आमाले वर्षौंदेखि भोगिरहेको पीडाको समूल निवारण गर्दै नेपालको सान विश्वसामु उच्च बनाउने जिम्मेवारी नयाँ पुस्तालाई आएको छ । नवनियुक्त प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना र परिवर्तनका संवाहक युवा वर्गलाई हार्दिक बधाई । नाति पुस्ताको विश्वास पाएकी हजुरआमा नेतृत्वको अन्तरिम सरकारले आगामी ६ महिनाभित्र नयाँ निर्वाचन निष्पक्ष र निर्भयताका साथ सम्पन्न गरी सत्ता हस्तान्तरण गर्नेछ । जुन नयाँ निर्वाचित सरकार आम नेपालीको सरकार हुनेछ र नयाँ नेपालको निर्माण गर्नेछ भन्ने हाम्रो विश्वास छ । जेनजीलाई यदुवंशी बन्ने छुट छैन र बन्नेछैन । अस्तु । 

(लेखक वास्तुविज्ञानका सञ्चालक तथा दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् । सम्पर्क : ९८५१०२३७६९ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप