बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

उपत्यकामा सुरक्षा सुदृढीकरण गर्न प्रहरीले बनायो ८ वटा सेक्टर

आइतबार, २९ भदौ २०८२, १५ : ४८
आइतबार, २९ भदौ २०८२

सारांश

  • जेनजी प्रदर्शनको क्रममा आगजनी र तोडफोड भएपछि काठमाडौं उपत्यकाका प्रहरी युनिटहरू ध्वस्त भएका छन्।
  • प्रहरी प्रधान कार्यालयले सुरक्षा सुदृढीकरणका लागि उपत्यकालाई ८ सेक्टरमा विभाजन गरी एसपीहरूको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाएको छ।
  • पाल्पामा कार्यरत एसपी पवन भट्टराईलाई काठमाडौं झिकाइ अपरेशन समन्वयको जिम्मेवारी दिइएको छ।

काठमाडौँ । जेनजी प्रदर्शनसँगै उच्छृङ्खल समूहले आगजनी र तोडफोड गरेपछि काठमाडौँ उपत्यकाका अधिकांश प्रहरी युनिटहरू ध्वस्त भएका छन् । प्रहरी कर्मचारीहरू अझै काममा फर्किने अवस्था बनेको छैन ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा सुरक्षा सुदृढीकरण गर्न भनेर प्रहरी प्रधान कार्यालयले सेक्टर बनाएर सुरक्षा सुदृढीकरणको प्रयास गरिरहेको छ । काठमाडौँ उपत्यकालाई ८ वटा सेक्टरमा विभाजन गरेर त्यहाँ छुट्टाछुट्टै कमाण्डर पठाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको अपरेशन समन्वय गर्न भनेर पाल्पामा कार्यरत एसपी पवन भट्टराईलाई काठमाडौँ झिकाइएको छ । 

यसअघि लामो समय काठमाडौँको अपरेशन प्रमुख भएर काम गरेका भट्टराई प्रदर्शन र हुलदङ्गा नियन्त्रणमा अनुभवी मानिन्छन् । उनी वैशाखमा पाल्पा गएका थिए ।

काठमाडौँ उपत्यकामा प्रत्येक सेक्टरको नेतृत्व एसपीहरूले गरेका छन् । एसपीहरू दिपक श्रेष्ठ, पवन भट्टराई, कवित कटुवाल, रामेश्वर पौडेल, रुगम कुँवर, डिबी मल्ल, केशव भट्टराई र बालनसिंह राणालाई उपत्यकाको सुरक्षा सुदृढीकरणमा समन्वय गर्ने गरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

ती अधिकृत भन्छन्, ‘ध्वस्त भएका प्रहरी युनिटहरूको मर्मत समन्वय  तथा सुरक्षा सुदृढीकरण गर्न अनुभवी एसपीहरूलाई परिचालन गरिएको हो ।’

एसपी दिपक श्रेष्ठलाई कालीमाटी, कीर्तिपुर र थानकोट क्षेत्रको जिम्मेवारी दिइएको छ । एसपीद्वय कवित कटुवाललाई सातदोबाटो क्षेत्र र रामेश्वर पौडेललाई दरबारमार्ग, सोह्रखुट्टे तथा जनसेवा क्षेत्रमा जिम्मेवारी दिइएको छ ।  

रुगम कुँवरलाई बानेश्वर र सिंहदरबारमा खटाइएको छ । डिबी मल्ललाई बालाजु र स्वयम्भु तथा केशव भट्टराईलाई गौशाला र बौद्धमा खटाइएको छ । बालनरसिंह राणालाई महाराजगञ्ज र मालिगाउँमा खटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप