बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बँदेल आतङ्क

ताप्लेजुङका किसान बँदेलबाट पीडित

सोमबार, ३० भदौ २०८२, ०५ : ४९
सोमबार, ३० भदौ २०८२

सारांश

  • ताप्लेजुङको कालिखोला क्षेत्रका किसानहरू बँदेललगायतका वन्यजन्तुले बाली नष्ट गर्न थालेपछि अन्नबाली जोगाउन रातदिन खटिएका छन्।
  • बँदेलको आक्रमणबाट किसानहरूले मकै, आलु, सिमी, पिँडालु र अन्य तरकारीमा क्षति बेहोर्नुपरेको छ, जसका कारण केही किसानले बसाइँ सरेका छन् भने केहीले खेतीपाती नै छाडेका छन्।
  • वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिकामा बँदेल नपर्ने भएकाले किसानले राहत पाउने सम्भावना कम रहेको छ, तर गाउँपालिकाले निवेदन आए सहुलियत दिने आश्वासन दिएको छ।

ताप्लेजुङ । सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहनत सङ्कटमा परेको छ ।

स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुको  जोखिमबाट पीडित हुने गरेका छन् । “पहिले भालुले दुःख दिने गर्थ्यो, अहिले बँदेलको आक्रमण बढेको छ”, उनले बताए । उनका अनुसार हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा सखाप हुने गरेको छ ।

मकै पाक्ने समयमा किसान रातभर बारीमा डेरा जमाउन बाध्य छन् । “एउटा माउ र दुई बच्चासहित तीन वटा बँदेल हरेक रात आउँछन् । मकै पूरै पाक्न नपाउँदै खाइदिन्छन्, हामीले के खानु ?” उनले गुनासो पोखे । बँदेलले मकैमात्र नभई आलु, सिमी, पिँडालु र अन्य तरकारीमा समेत क्षति पुर्‍याउने गरेको छ ।

निरन्तर क्षतिका कारण केही किसान बसाइँ सरेका छन् भने केहीले बारी बाँझो छाडेर अन्य पेसा रोजेका छन् । तर अहिलेसम्म वन्यजन्तु नियन्त्रण वा क्षति न्यूनीकरणका लागि स्थानीय तह वा सरोकारवाला निकायबाट कुनै ठोस पहल भएको छैन । 

सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष विष्णुकुमारी (बन्दना) कडरियाले हालसम्म बाली क्षतिको औपचारिक निवेदन गाउँपालिकामा नआएको बताउँदै निवेदन आए कार्यपालिकाले निर्णय गरी केही सहुलियत दिने आश्वासन दिइन् । डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानका अनुसार २०८० सालको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका’मा १६ प्रजातिका जनावरबाट क्षति भए राहत दिने व्यवस्था छ । तर बँदेल त्यसमध्ये नपर्ने भएकाले किसानले राहत पाउने आधार नरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप