शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आन्दोलनको असर

विश्वकै उत्कृष्टमध्येको आर्किटेक्ट थियो स्वास्थ्य मन्त्रालयको ६० वर्ष पुरानो भवन

बुधबार, ०१ असोज २०८२, ०७ : ३६
बुधबार, ०१ असोज २०८२

सारांश

  • स्वास्थ्य मन्त्रालयको ६० वर्ष पुरानो भवन भदौ २४ गतेको आन्दोलनमा आगजनीबाट ध्वस्त भएको छ।
  • विश्व प्रसिद्ध आर्किटेक्ट कार्ल लुईको डिजाइनमा बनेको भवनमा पिल्लर थिएन र यसको अध्ययनका लागि विदेशबाट विद्यार्थी आउँथे।
  • भवन २०७२ सालको भूकम्पमा सुरक्षित रहेको र पछि छतमा थप तल्ला बनाउँदा विवाद भएको थियो।

काठमाडौँ । विश्वको उत्कृष्ट आर्किटेक्ट डिजाइनमध्ये मानिएको स्वास्थ्य मन्त्रालयको ६० वर्ष पुरानो भवन अब सद्दे छैन । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आएको अराजक समूहले यो भवनमा पनि आगजनी गरेर खण्डहर बनायो । 

स्वास्थ्य मन्त्रालय रहेको यो भवनको डिजाइन विश्वकै प्रसिद्ध आर्किटेक्ट कार्ल लुईले गरेका हुन् । यो भवनमा एउटा पनि देखिने पिल्लर थिएन । 

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्,  ‘यस भवनमा कुनै देखिने पिलरहरू थिएनन् । रणनीतिक रूपमा राखिएका भित्ता र एकअर्कामा जोडिएका कोठा प्रणालीमा यो भवन बनाइएको थियो ।‘ यो भवनको अध्ययन-अवलोकनका लागि विदेशबाट समेत इन्जिनियरिङका विद्यार्थीहरु आउने गर्थे । 

लुईले एसिया महादेशभरमा जम्मा तीनवटा यस्तो डिजाइन गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जस्तै भवन श्रीलङ्का र पाकिस्तानमा बनेका थिए । 

२०७२ सालको भूकम्पमा पनि स्वास्थ्य मन्त्रालयको भवनमा कुनै क्षति पुगेको थिएन । 

3

यद्यपि पछिल्ला वर्षमा यो भवन विवादरहित रहेन । स्वास्थ्य मन्त्रालयले छतमा जस्तापाता थपेर एक अतिरिक्त तला बनाउने निर्णय गर्दा नेपाली आर्किटेक्टहरुले विरोध गरेका थिए । छतमा जस्तापाता थपेर एक अतिरिक्त तला बनाउने कार्य रोक्न काठमाडौँ महानगरपालिकाले निर्देशन दिएको थियो । सर्वोच्च अदालतले मूल डिजाइनमा क्षति पुग्ने भन्दै अतिरिक्त तल्ला भत्काउन आदेश दिएको थियो । 

यस भवनको स्वरूप बिगारिएको भनेर पछिल्लो समय विद्यार्थी समेत आउन छाडेको डा. मरासिनी बताउँछन् । वि.सं. २०२३ सालमा यूएसआईडीको सहयोगमा यो भवन बनेको थियो । यो भवनमा सुरुमा नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको परियोजना कार्यालयको रूपमा सेवा गरेको थियो । परिवार नियोजन तथा मातृशिशु कल्याण परियोजनाका लागि बनेको भवनको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले आफ्नो ३१ औँ जन्मोत्सवको अवसरमा गरेका थिए ।

4

वि.सं. २०५० सालसम्म यो भवनको एक तलाबाट मातृशिशु कल्याण योजना चलेको थियो । वि.सं. २०४० देखि टेकुमा रहेको स्वास्थ्य मन्त्रालय रामशाहपथस्थित यो भवनमा सारिएको थियो । एक तला स्वास्थ्य मन्त्रालय थियो, जहाँ सचिवसहित मन्त्रीसहित २४ जना कर्मचारी थिए । एक परिवार नियोजन तथा मातृशिशु कल्याण योजना परियोजनाको कार्यालय राखिएको थियो । 

यही भदौ २४ गते जेनजीले प्रदर्शनका क्रममा आगजनी गर्दा स्वास्थ्य मन्त्रालयको उक्त भवन पूर्णरुपमा जलेर ध्वस्त भएपनि पिल्लर नरहेको रातो रङको भवन, आगो ज्वालाले कालो भएर खण्डहर भएर ठडिएको छ ।

2

‘यूएसएडसँग पुरानो नक्सा होला, सम्बन्धित अधिकारीले सम्पर्क गरेर पुनः पहिलेकै जस्तै भवन बनाउन सम्बन्धित निकाय लाग्नुपर्छ,’ डा. मरासिनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप