जेनजी आन्दोलनको नाममा ‘क्राउडफन्डिङ’ बाट उठाइँदै करोडौँ रकम
सारांश
- जेनजी आन्दोलनका पीडितहरूलाई सहयोग गर्न विश्वभरबाट 'क्राउडफन्डिङ' सुरु भएको छ।
- 'गो फन्ड मी' जस्ता प्लेटफर्महरूमा लाखौं डलर, पाउन्ड र युरोमा चन्दा सङ्कलन भइरहेको छ।
- सयौं कोषहरू खडा भए पनि पीडितहरूले वास्तविक सहयोग पाउनेमा शङ्का व्यक्त गरिएको छ।
काठमाडौँ । नेपालमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले विश्व नै तरङ्गित बनेको छ । यही ’जेनजी’ आन्दोलन र त्यसबाट प्रभावित व्यक्ति, सहिदका परिवार, घाइते तथा अन्य पीडितहरूलाई सहयोग पुर्याउने भन्दै विश्वभरबाट नेपाली समुदाय, विदेशी नागरिक तथा सङ्घ संस्थाले ‘क्राउडफन्डिङ’ गर्न थालेका छन् ।
‘क्राउडफन्डिङ’ प्लेटफर्म ‘गो फन्ड मी’मा मात्र जेनजी आन्दोलनले पारेको विभिन्न असरहरूको लागि सहयोग भन्दै लाखौँ अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र युरोमा चन्दा उठिरहेको देखिन्छ । यसरी चन्दा लिने काम पछिल्लो सात दिनको मात्रै हेर्ने हो भने अझै तीव्र गतिमा अघि बढिरहेको छ ।
‘गो फन्ड मी’ मा सयौँ चन्दा सङ्कलनका लागि कोषहरू सिर्जना गरिएका छन्, जसमध्ये यहाँ हामीले प्रतिनिधि उदाहरण प्रस्तुत समेत गरेका छौँ । चन्दा उठाउने अभियानहरूले आन्दोलनका सहिद परिवारलाई आर्थिक सहायता, घाइतेहरूको उपचार खर्च, आन्दोलनका क्रममा क्षति पुगेका घरहरूको पुनर्निर्माण, बिमा नभएका पीडितहरूलाई सहयोग, स्वयंसेवकहरूको लागि खर्च र भ्रष्टाचारविरुद्धको अभियानका भन्दै अनेकौँ शीर्षकमा कोषहरू बनाएर सङ्कलन भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म रशिका चम्लागाईले अमेरिकाको चार्लोट, नर्थ क्यारोलिनाबाट ‘स्ट्यान्ड विथ नेपाल: हेल्प फ्यामिलिज अफ मार्टियर्स’ शीर्षकमा २५ हजार ९४८ अमेरिकी डलर अर्थात् (करिब ३४ लाख रुपैयाँ) भन्दा बढी सङ्कलन गरेकी छिन् ।
बेलायतको ‘नेप्लिज बिजनेस डाइरेक्टरी’ ‘अर्जेन्ट अपिल: सपोर्ट द भिक्टिम्स अफ नेपाल्स जेनजीप्रोटेस्ट्स’ नामक अभियान मार्फत १४ हजार ८६२ पाउन्ड स्टर्लिङ (करिब २५ लाख रुपैयाँ) जुटाइसकेको छ ।
प्रबिन शर्माले अमेरिकाको क्विन्सीबाट ‘हेल्प रिबिल्ड माइ मदर्स होम भ्यान्डालाइज्ड इन नेपाल प्रोटेस्ट्स’ शीर्षकमा आफ्नी आमाको आन्दोलनले क्षति पुगेको घर पुनर्निर्माणका लागि ९,७०८ अमेरिकी डलर (करिब १२ लाख ९० हजार रुपैयाँ) सङ्कलन गरिसकेका छन् ।
ब्रायन ह्वाइटले अमेरिकाको लङ्गभ्यूबाट ‘हेल्प फर द अनइन्स्योर्ड इन नेपाल हू क्यानट रिबिल्ड अलोन’ शीर्षकमा ६,८१६ अमेरिकी डलर (करिब ९ लाख रुपैयाँ) सङ्कलन गरिसकेका छन् ।
विजय सापकोटाले बेल्जियमको लुभेनबाट ‘नेपाल्स जेनजीमुभमेन्टः मेडिकल एन्ड इमर्जेन्सी सपोर्ट’ नामक अभियानबाट ३,८०१ युरो (करिब ५ लाख ४० हजार रुपैयाँ) जुटाएका छन्।
यी चन्दा सङ्कलन अभियानहरू संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत र युरोपका विभिन्न सहरहरूबाट सञ्चालित छन् । अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड स्टर्लिङ र युरो जस्ता विभिन्न मुद्राहरूमा सहयोग जुटिरहेको छ, जसले नेपाली डायस्पोरा र अन्तर्राष्ट्रिय समुदायको व्यापक सहभागितालाई देखाए पनि नेपालमै आउँछ की आउँदैन भन्ने प्रश्न उठिरहेको छ ।
- के हो ‘गो फन्ड मी’ ?
‘गो फन्ड मी’ एक विश्वव्यापी रूपमा मान्यता प्राप्त क्राउडफन्डिङ प्लेटफर्म हो, जसले चन्दा सङ्कलनलाई सुरक्षित र पारदर्शी बनाउने प्रयास गरेको हुन्छ । यद्यपि, पैसाको अन्तिम सदुपयोग यो फन्ड बनाउनेको आयोजकको इमानदारी र नैतिकतामा धेरै हदसम्म निर्भर गर्दछ ।
‘गो फन्ड’ ले प्रत्येक अभियानको लागि एउटा सार्वजनिक पृष्ठ उपलब्ध गराउँछ । यसमा अभियानको विवरण, चन्दा सङ्कलनको लक्ष्य, उठेको रकम, दाताहरूको सूची (नाम सार्वजनिक गर्न चाहेमा) र आयोजकले पोस्ट गरेका अपडेटहरू देख्न सकिन्छ । यसले गर्दा दाताहरूले अभियानको प्रगति सहजै निगरानी गर्न सक्छन् ।
रकम झिक्नुअघि ‘गो फन्ड’ ले आयोजकको पहिचान अनिवार्य रूपमा प्रमाणित गर्छ । यसमा आयोजकको सरकारी परिचयपत्र, ठेगाना र बैंक खाताको विवरण जाँच गरिन्छ । यसले कुनै अज्ञात वा नक्कली व्यक्तिले पैसा झिक्न नसकोस् भन्ने सुनिश्चित गर्छ । गो फन्डले दाता र आयोजक दुवैलाई सुरक्षा प्रदान गर्ने दाबी गर्छ ।
यदि कुनै कारणवश दाताले आफूले दान गरेको रकमको दुरुपयोग भएको ठान्छन् वा पैसा आयोजकले पाउँदैन भने, ‘गो फन्ड’ ले आफ्नो ग्यारेन्टी कार्यक्रम अन्तर्गत दातालाई उनको पैसा फिर्ता गर्ने व्यवस्था गरेको छ । गो फन्डमा रिपोर्ट गर्ने सुविधा समेत रहेको छ ।
यदि कसैले कुनै चन्दा अभियानमाथि शङ्का गर्छ वा पैसाको दुरुपयोग भइरहेको देख्छ भने, ’गो फन्ड’ लाई सिधै रिपोर्ट गर्ने सुविधा उपलब्ध छ। ‘गो फन्ड’ को सुरक्षा टोलीले यस्ता रिपोर्टहरूको छानबिन गर्छ ।
आयोजकले आफ्नो बैंक खाता ‘गो फन्ड’ सँग लिङ्क गर्नुपर्छ। रकम झिक्नुअघि ’गो फन्ड’ ले आयोजकको पहिचान र बैंक खाताको विवरण प्रमाणीकरण गर्छ । प्रमाणीकरण सफलतापूर्वक पूरा भएपछि, ‘गो फन्ड’ ले उठेको रकम (प्रशोधन शुल्क कटाएर) आयोजकको बैंक खातामा पठाउँछ ।
- पीडितले पाउनेमा आशङ्का
सयौँ फन्डहरू खडा हुँदा नेपालमा भएका वास्तविक पीडितहरूले पाउनेमा भने धेरैले आशङ्का गरेका छन् । यसअघि, गोरखा भूकम्पका बेला भएको क्राउडफन्डिङको व्यापक दुरुपयोग भएको उदाहरण ताजै छ ।
यद्यपी यो पैसा सिधै पीडितलाई आउन सक्ने भएकोले सरकारी अधिकारीहरू अहिले बोल्न मान्दैनन् । ‘यो विषय सहयोग भावनाले चन्दा दिने र लिनेको हो । यो सरकारसँग अनुमति लिएर वा नेपालमा खडा भएको कोष पनि होइन, वास्तविक पीडितले पाए राम्रो हो । अब यो त चन्दा दिनेले फन्ड बनाउनेलाई खबरदारी गर्ने कुरा हो । फेरि त्यो प्लेटफर्म(गो फन्ड मी) लगायतले पनि भेरिफिकेसन गर्लान् । हामीले के बोल्ने र ?,’ गृह मन्त्रालयका एक उच्च अधिकारी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण