बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मालपोत र नापी कार्यालय कैलालीको सेवा अझै एक हप्ता सुरु नहुने

बिहीबार, ०२ असोज २०८२, १७ : ०७
बिहीबार, ०२ असोज २०८२

सारांश

  • कैलालीको धनगढीस्थित मालपोत र नापी कार्यालयमा आगजनी र तोडफोडका कारण सेवा सञ्चालनमा ढिलाइ हुने भएको छ।
  • कार्यालय मर्मत र कम्प्युटर फेर्ने काम भइरहेको छ, जसले गर्दा सेवा सञ्चालनमा एक हप्ता लाग्न सक्छ।
  • नापी कार्यालयले आंशिक सेवा सुरु गरेको छ भने मालपोतको सेवा सुरु भएपछि सबै सेवा सुचारु हुनेछ।

धनगढी । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण क्षति पुगेका कैलालीको धनगढीस्थित मालपोत कार्यालय र नापी कार्यालयका सम्पूर्ण सेवा पुनः सञ्चालनमा आउन अझै करिब एक हप्ता लाग्ने भएको छ। अहिले दुवै कार्यालयमा मर्मत तथा पुनः स्थापना कार्य तीव्र गतिमा भइरहेको छ।

प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालका अनुसार मालपोत कार्यालयको कोठा नम्बर १२ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

 त्यसको मर्मत कार्य हाल जारी छ। कार्यालयको पेन्टिङको काम सम्पन्न भइसकेको र अब कोठाको मर्मत तथा वायरिङ कार्य बाँकी रहेको छ।

`वायरिङ पूर्ण रूपमा जलेका कारण तत्काल सेवा दिन कठिन भएको छ। विद्युत् नहुँदासम्म सेवा दिन सकिँदैन, त्यसैले सबै काम सम्पन्न हुन अझै करिब एक हप्ता लाग्न सक्छ,' उनले भने । 

दुई तले भवनमा भएको आगलागीले सम्पूर्ण विद्युत् लाइन नष्ट भएको छ। कार्यालयमा रहेका कम्प्युटरहरू पनि जलेर क्षतिग्रस्त भएका छन्। नयाँ कम्प्युटर प्राप्त भएपछि सेवा सञ्चालन थप सहज हुने दौल्यालले बताए।

यस्तै नापी कार्यालय धनगढीले भने आंशिक सेवा सुरु गरिसकेको छ। प्रमुख नापी अधिकृत जनकराज भट्टका अनुसार, कार्यालयको एक कोठामा आगजनी र कम्प्युटर तोडफोड भएपछि सेवा सञ्चालनमा कठिनाइ भएको हो। अहिले नक्सा उतार र फिल्ड बुक उतारका कार्यहरू मात्र सञ्चालनमा छन्।

`मालपोत कार्यालयको सेवा पूर्ण रूपमा सुरु भएसँगै नापी कार्यालयका सबै सेवा पनि सुचारु हुनेछन्,' भट्टले भने। उनका अनुसार सबै कम्प्युटर र उपकरणमा क्षति पुगेको छ। मालपोतको सेवा सञ्चालनमा आएपछि  सेवा पनि सहजै सञ्चालन हुनेछ।

नापी तथा मालपोत कार्यालय दुवैमा भएको तोडफोड र आगजनीले प्रशासनिक कामकाजमा ठुलो असर पारेको छ। सेवा पुनःसञ्चालनका लागि आवश्यक भौतिक संरचना र प्रविधिगत उपकरणको मर्मत तथा प्रतिस्थापनको काम भइरहेको  जनाइएकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप