स्वास्थ्य मन्त्रालयको ‘रातो घर’सँगै एउटा इतिहास जल्यो
सारांश
- स्वास्थ्य मन्त्रालयको भवन जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीका कारण ध्वस्त भयो।
- आगजनीले स्वास्थ्य क्षेत्रको इतिहास, दस्ताबेज र स्वास्थ्यकर्मीहरूको पहिचानमा क्षति पुर्यायो।
- लेखकले भवनको वास्तुकला, ऐतिहासिक महत्त्व, र पुनर्निर्माणको आवश्यकता औंल्याए।
नेपालको केन्द्रीय प्रशासनिक मुटु सिंहदरबारको ठिक नजिकै रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीका कारण जलेर पूर्णतः खण्डहरमा परिणत भएको छ ।
यो केबल एउटा भवनको भौतिक विनाशमात्र होइन, नेपालको स्वास्थ्य क्षेत्रको जीवन्त इतिहास, संस्थागत स्मृति र हजारौँ स्वास्थ्यकर्मीहरूको साझा परिचयमाथिको क्रूर प्रहार हो ।
मन्त्रालयसँग सुरक्षित असंख्य दस्ताबेज दशकौँदेखि सङ्कलित नीतिगत निर्णयहरू, स्वास्थ्य विकासका योजनाहरू र दूरगामी दृष्टिकोणका प्रमाणहरू सदाका लागि खरानी भएका छन् । यस अग्निकाण्डले देशभरिका स्वास्थ्यकर्मीहरूको आत्मामा गहिरो घाउ लगाएको छ र संस्थागत स्मृतिको विनाशले भविष्यका पुस्ताका लागि एक अमूल्य खजाना गुमेको छ ।
यही ऐतिहासिक ‘रातो घर’ को छहारीमुनि मैले आफ्नो जीवनका चार दशक बिताएँ । आज पनि मलाई स्पष्ट सम्झना छ, २०३९ साल भदौ महिनामा मैले पहिलो पटक यस भवनभित्र प्रवेश गरेको थिएँ । त्यसबेलाको वातावरण सहज, पहुँचयोग्य र उत्साहजनक थियो । प्रवेश गरेकै दिन तत्कालीन स्वास्थ्यमन्त्रीलाई सहजै भेटेर मैले आफ्ना समस्या अवगत गराएको थिएँ र उहाँले तत्कालै त्यसको समाधान पनि दिनुभएको थियो ।
त्यस भव्य महलबाट प्राप्त सन्तुष्टि र खुसी लिएर म निस्किएको थिएँ । त्यसपछि त यो भवन मेरालागि केबल इँटा र सिमेन्टको संरचनामात्र रहेन, यो मेरो कर्मथलो, मेरो प्रेरणा र मेरो पहिचानको एक अभिन्न अङ्ग बन्यो । तर, आज त्यही भवन दिनदहाडै जेनजी युवा पुस्ताको आन्दोलनको आडमा घुसपैठिया विध्वंशकारीहरूको निसानामा परेर ध्वस्त भएको छ । यसले मेरोमात्र नभई हजारौँ स्वास्थ्यकर्मीहरूको मुटु छियाछिया पारेको छ ।
भवनको वास्तुकला र ऐतिहासिक गौरव
स्वास्थ्य मन्त्रालय रहेको यो भवन, जसलाई धेरैले मायाले ‘रातो घर’ भनेर चिन्थे– यसको वास्तुकला र ऐतिहासिक पृष्ठभूमि आफैँमा एउटा अध्ययनको विषय हो । भवनमा प्रवेश गर्नुअघि प्रवेशद्वारको बायाँतर्फको भित्तामा परिवार नियोजनको लोगोसहितको ताम्रपत्रमा शिलालेख कुँदिएको थियो, जसमा उक्त भवन विशेषतः परिवार नियोजन र मातृशिशु कल्याण आयोजनाको केन्द्रीय कार्यालयको प्रयोजनका लागि निर्माण गरिएको बुझ्न सकिन्थ्यो ।
यसको निर्माण सम्पन्न हुँदै गरेको तस्बिर २०३१ मंसिर ७ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो । यो भवन २०३२ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । तत्कालीन समयमा यस भवनको भुईं तलामा परिवार नियोजनसम्बन्धी अप्रेसन गर्ने र तालिम दिने महत्त्वपूर्ण कार्यहरू सञ्चालन हुन्थे । पछिमात्रै यस भव्य भवनमा स्वास्थ्य मन्त्रालय सरेको हो ।
निर्माणको पृष्ठभूमि र वास्तुकलाको उत्कृष्ट नमुना
नेपालमा बढ्दो जनसंख्या वृद्धि र त्यसको व्यवस्थापन साथै आमा र शिशुको स्वास्थ्य सुधारको आवश्यकतालाई मध्यनजर गर्दै वि.सं. २०१६ (ई. १९५९) मा परिवार नियोजन संघ स्थापना भएको थियो । वि.सं. २०२५ (ई. १९६८) मा संयुक्त राष्ट्र संघको मानवअधिकारसम्बन्धी तेहरानमा भएको सम्मेलनले परिवार नियोजनलाई आधारभूत मानवअधिकारका रूपमा स्वीकार गरेपछि नेपाल सरकार पनि यस नीतिबाट प्रभावित भयो । फलस्वरूप वि.सं. २०२५ सालमा नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण विकास समिति गठन आदेश–२०२५ पारित भयो र सोही वर्ष परिवार नियोजन तथा मातृशिशु योजनाको स्थापना भयो । यस योजनाले नेपालभर परिवार नियोजन र मातृशिशु कल्याण सेवा तथा शिक्षा उपलब्ध गराउने काम गर्न थाल्यो । यस परियोजनालाई अमेरिकी सहयोग नियोग, संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन र युनिसेफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका थिए ।
यही क्रममा अमेरिकी सहयोग नियोगको आर्थिक तथा प्राविधिक सहयोगमा हालको स्वास्थ्य मन्त्रालय रहेको भवन निर्माण गरिएको थियो ।
यो भवन निर्माणमा त्यतिबेला ४७ लाख रुपैयाँ खर्च भएको थियो । यस भवनका परिकल्पनाकार (डिजाइनर) आधुनिक वास्तुकलाका विश्वविख्यात अमेरिकी वास्तुकार लुईस इसाडोर खान हुन् । उनको डिजाइनले भवनलाई अद्वितीय बनाएको थियो, तर आश्चर्यको कुरा– स्वास्थ्य मन्त्रालयले आफ्नो भवनमा कहीँ पनि यो गौरवपूर्ण तथ्य सार्वजनिक गरेको थिएन ।
मन्त्रालयका पुराना दस्ताबेज, टिप्पणी, फाइलहरूले हाम्रो इतिहास, विकासको चरण र तत्कालीन अवस्थाको यथार्थपरक जानकारी दिन्थे । ती सबै आज अग्निकाण्डमा खरानी भए । अब ती तथ्य–प्रमाणहरू कहिल्यै भेटिने छैनन् ।
लुईस खानको यो संरचना ‘पिलर’ प्रणालीको सट्टा वाल प्रणालीबाट बनाइएको थियो, जसले भवनलाई मजबुत र विशिष्ट स्वरूप दिएको थियो । तीन तलासम्मको यो भवनका सबै कोठा एकनासका उज्याला र हावा खेल्ने खालका थिए । यसको डिजाइनमा प्राकृतिक प्रकाश र हावाको अधिकतम प्रयोग गरिएको थियो, जसले यसलाई वास्तुकलाको एक उत्कृष्ट उदाहरण बनाएको थियो ।
तर विडम्बना, मन्त्रालयका प्रशासकहरूको अदूरदर्शिता र हठका कारण स्थान अभाव देखाउँदै पछिल्लो समयमा चौथो तलामा यस भवनको वास्तुकला सम्बन्धी चासो राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरूलाई समेत अवमूल्यन हुने गरी निर्माण कार्य गरियो । यसका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि पर्यो । अदालतले दिएको निर्देशनलाई स्वास्थ्य मन्त्रालयले कहिल्यै पालना गरेन, जसले संस्थागत बेवास्ता र लापर्बाहीको एक दुःखद् उदाहरण प्रस्तुत गर्यो ।
मेरो आफ्नै गुनासो र अमूल्य दस्ताबेजको क्षति
अहिले जलेको स्वास्थ्य मन्त्रालयको भवनसँग मेरोमात्र होइन, मजस्तै हजारौँ स्वास्थ्यकर्मीहरूको भावना, आत्मा र परिचय जोडिएको थियो । त्यही आफ्नो परिचय र इतिहास जोडिएको स्वास्थ्य मन्त्रालयको इतिहासबारे जान्ने–बुझ्ने चाहना लिएर मैले भवनभित्र रहेको मन्त्रालयको पुस्तकालयमा बसेर दस्ताबेजहरू खोज्न र पढ्न पटक पटक प्रयास गरेको थिएँ । तर, त्यो पुस्तकालयको ढोका विभिन्न बहानामा कहिल्यै पनि खुलेन । पुस्तकालयभित्र बसेर कहिल्यै पढ्न पाइनँ । मन्त्रालयका पुराना दस्ताबेज, टिप्पणी, फाइलहरूले हाम्रो इतिहास, विकासको चरण र तत्कालीन अवस्थाको यथार्थपरक जानकारी दिन्थे । ती सबै आज अग्निकाण्डमा खरानी भए । अब ती तथ्य–प्रमाणहरू कहिल्यै भेटिने छैनन् । नेपालको स्वास्थ्य विकास सम्बन्धी अध्ययन गर्न चाहने अध्येता र इतिहासकारहरूका लागि यो एउटा सधैँभरिको पछुतो र अपूरणीय क्षति बनेको छ । पुस्तकालयका ती बन्द ताल्चाहरूले भविष्यका लागि कति अमूल्य ज्ञानलाई बन्दी बनाएका रहेछन् भन्ने कुरा आज ती सबै खरानीमा परिणत भएपछि मात्रै महसुस भएको छ ।
पुनर्निर्माणको सम्भावना र न्यायको माग
आमा र शिशुको कल्याण गर्ने पवित्र उद्देश्यले नेपाल सरकारले विदेशी सहयोग मागेर बनाएको संसारकै नमुना वास्तुकलाको भवनका रूपमा रहेको यो संरचनालाई केही कुण्ठाग्रस्त विध्वंशकारीहरूले आगो झोसे । त्यो आगोमा नमूना भवन र यसभित्र रहेको स्वास्थ्य मन्त्रालयमात्र जलेन, हामी नेपाली स्वास्थ्यकर्मीको पहिचान, चिनारी र स्मृति पनि सँगसँगै जल्यो । हाम्रो गरिमा र महिमालाई ‘जेनजी’ का नाममा घुसपैठ गर्ने विध्वंशकारीहरूले जलाए । यो केबल एउटा भवनको विनाश होइन, यो हाम्रो साझा सम्पत्ति, हाम्रो इतिहास र हाम्रो भविष्यमाथिको आक्रमण हो ।
जलाउने अपराधीहरूलाई इतिहासले कठघरामा उभ्याउने छ । हामी आशा र माग गर्दछौँ कि ती अपराधीहरू दण्डित होउन् र न्याय स्थापित होस् । यो भवनको पुनर्निर्माण केबल भौतिक संरचनाको पुनर्निर्माण मात्र नभई हाम्रो संस्थागत स्मृति, राष्ट्रिय गौरव र स्वास्थ्य क्षेत्रप्रतिको विश्वासको पुनर्स्थापना पनि होस् । यसको पुनर्निर्माण गर्दा लुईस इसाडोर खानको मौलिक डिजाइन र यसको ऐतिहासिक महत्त्वलाई सम्मान गर्दै गरियोस् । भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबैले सचेत भई राष्ट्रिय सम्पत्तिको रक्षामा जुट्नुपर्ने आजको आवश्यकता हो ।
(लेखक जनस्वास्थ्यविद् हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण