‘सेलेब्रेटिङ अ डिकेड अफ् आर्ट’ : अमूर्ततादेखि कन्सेप्चुअल आर्टसम्म
सारांश
- सानेपास्थित म्युजिक आर्ट ग्यालरीमा दश कलाकारको सामूहिक कला प्रदर्शनी भयो, जसमा पुराना र नयाँ पुस्ताका कलाकारहरूको सहभागिता रह्यो।
- प्रदर्शनीमा विजय थापा, केके कर्माचार्य र मदन चित्रकारजस्ता वरिष्ठ कलाकारहरूका अमूर्त र यथार्थवादी कलाकृतिहरू प्रदर्शन गरिएका थिए।
- प्रदर्शनीमा मुकेश श्रेष्ठ, जीवन राजोपाध्याय, सरोज बज्राचार्य, रोशन भण्डारी, रूपक राई र जेनी डंगोललगायतका कलाकारका विभिन्न शैलीका कलाकृतिहरू राखिएका थिए।
सानेपास्थित ‘म्युजिक आर्ट ग्यालरी’मा भर्खरै (३१ साउनदेखि ३१ भदौसम्म) एउटा सामूहिक कला प्रदर्शनी भयो । ‘सेलेब्रेटिङ अ डिकेड अफ् आर्ट’ नाम दिइएको यस प्रदर्शनीको उद्घाटनमा खासै तामझाम देखिएन र खासै औपचारिक कार्यक्रम पनि केही भएन । सानो जमघटका बिच उद्घाटन भएको यस सामूहिक प्रदर्शनीमा दश कलाकारका कला प्रदर्शन गरिएको थियो । कलाकार थिए— विजय थापा, मदन चित्रकार, केके कर्माचार्य, जीवन राजोपाध्याय, सरोज बज्राचार्य, मुकेश श्रेष्ठ, कपिलमणि दीक्षित, रोशन भण्डारी, रूपक राई र जेनी डंगोल ।
यीमध्ये तीन कलाकार सन् सत्तरीको दशकमै उदाएका पुराना–पाका हुन् भने केही नयाँ पुस्ताका । पुस्ता फरक परेकाले पनि कलाहरू अलग–अलग स्वरूपमा देखिन्छन् ।
११ वर्ष लामो इतिहास बोकेको ‘म्युजिक आर्ट ग्यालरी’का सञ्चालक हुन्, सागर केसी । यो ग्यालरी झम्सिखेलबाट सानेपा सरेको डेढ वर्ष मात्र भयो । सानेपा आइसकेपछि पनि सात–आठवटा प्रदर्शनीहरू भइसकेका छन् ।
ठमेलको जस्तो रमझम अचेल सानेपातिर देखिन थालेको छ, अर्थात् यहाँ पर्यटक आकर्षित हुन थालेका छन् । यसैले गर्दा पनि साना–मझौला कलाका ग्यालरीहरू यहाँ खुल्न थालेका छन् । अधिकांश कला ग्यालरीहरू होटल–रेस्टुराँसँग गाँसिएर देखापरे पनि तिनले आफ्नो आकर्षण घटाएको भने देखिँदैन ।
काठमाडौँ उपत्यकाको दक्षिणको यस भूभागबाट उत्तरतिरका हिमाल पनि देखिन्छन् । यस ठाउँलाई अचेल अलि सफा–सुग्घर पारिएको छ । त्यसमाथि शान्त वातावरणका बिच साना–ठुला होटल तथा रेस्टुराँ प्रशस्तै भएकाले यो ठाउँ विदेशी पर्यटकका लागि हब बन्दै गएको छ ।
यस ग्यालरीमा गितार र पियानो पनि सिकाइने हुँदा कलासँग म्युजिक जोडिएको यसका सञ्चालक सागर सुनाउँछन् । सागर स्वयं भने कलाकार होइनन् । हिजोआज क्रियटिभ आर्टलाई अर्थसँग जोड्ने क्रम बढेको छ । हिजोको अवस्थामा समसामयिक कला अर्थ (पैसाको सन्दर्भमा) देखि धेरै टाढा थिए । पहिले कमिसन वर्क थुप्रै हुने भए पनि सिर्जनशील कला भने कमै देखिन्थ्यो ।
कलाकार र कला
यो कला प्रदर्शनीमा पाका कलाकार तीन कलाकार सहभागी थिए— विजय थापा (जन्म : वि.सं. २०००), केके कर्माचार्य (जन्म ः वि.सं. २००४) र मदन चित्रकार (जन्म : वि.सं. २००३) ।
नेपालमा सन् १९६२ देखि विजय थापाले एकल कला प्रदर्शनी गर्न थालेका हुन्, जसलाई समसामयिक वा आधुनिक कलाको सन्दर्भमा विशेष घटनाको रूपमा हेर्ने गरिन्छ । त्यति बेलादेखि नै आधुनिक कलाको शुभारम्भ भयो । खासमा त्यसै बेलादेखि नेपालमा एकल कला प्रदर्शनी गर्ने लहड चलेको हो । एउटै कलाकारका थुप्रै कला एकै ठाउँमा हेर्दाखेरि ती कलाको सही मूल्याङ्कन गर्ने वातावरण बनेको सबैजसोले महसुस गर्न थाले । त्यसपछिका दिनमा कलाकार भएपछि एकल कला प्रदर्शनी गर्नैपर्छ भन्नेजस्तो पनि भयो ।
यथार्थवादी कलाकार भएकाले विजय थापाका कलामा सिङ्गै मानव आकृति बेलाबखतमा देखापरिरहनु स्वाभाविकै हो । ‘डान्स’ र ‘नमस्ते’ नामक चित्रमा उनले यसरी नै मानव आकृतिलाई अमूर्तमा पस्कने जमर्को गरेको देखिन्छ ।
यसपालि सहभागी वरिष्ठ कलाकार विजय थापाले बनारसमा कलाको अध्ययन गरेका हुन् । नवलपरासीका उनले अध्ययनपछि काठमाडौँ बसेर कला कर्म र कला प्रदर्शनी गर्न थाले । सुरुवाती कालमा उनले आफ्नो कलामा मानव आकृतिलाई अमूर्त रूप दिन्थे । त्यसताका उनका चित्रमा प्रेमका कथा बढी मात्रामा देखिन्थ्यो । यसपालि पनि उनले आकारमूलक अमूर्ततासँग मिल्दाजुल्दा चित्र प्रदर्शनीमा राखेका थिए । उनका अहिलेका चित्र क्युबिक फर्ममा विकास भएको देखिन्छ ।
झन्डै ८२ वर्ष पुगिसकेका विजय थापा अहिले अझ स्फूर्तिका साथ सपाट रङ्गीय धरातलमा अमूर्त चित्र बनाउने गर्छन् । पातला रङले फराकिला खण्डहरू बोकेको देखिने उनका कलामा एक प्रकारको गति समेत अनुभव गर्न सकिन्छ । चहकिला रङहरूको लयात्मक संयोजन नै उनको खास पहिचान हो । उनका चित्र अमूर्त छन् तर मूर्तताको बोध गराउँछन्, यो नै उनको खास विशेषता हो । उनका कलामा हिमाल, पहाड र खोलानालाका आन्तरिक विम्बलाई छाम्न सकिन्छ । उनका यस्तै चित्र यसपटक ‘अमूर्त ल्यान्डस्केप’को नामबाट प्रदर्शन गरिए । आयामिक सपाटपनाको पृष्ठभूमिमा बिचोबिच भागमा बिछ्याइएका राता, सेता र हरिया लमतन्न बगेका रङहरूले प्रकृतिको प्रतिविम्बलाई स्थापित गर्न पुगेको देखिन्छ ।
उनले विशेषतः तीन प्रकारका कला बनाउँदै आएका छन्— पूर्णतः अमूर्त कला, आकारमूलक अमूर्त–भावनात्मक कला र प्रयोगात्मक अमूर्त कला । यसपालिको कला प्रदर्शनीमा यी तीन प्रकारका कलाहरूको प्रतिनिधित्व देखिन्थ्यो ।

यथार्थवादी कलाकार भएकाले उनका कलामा सिङ्गै मानव आकृति बेलाबखतमा देखापरिरहनु स्वाभाविकै हो । ‘डान्स’ र ‘नमस्ते’ नामक चित्रमा उनले यसरी नै मानव आकृतिलाई अमूर्तमा पस्कने जमर्को गरेको देखिन्छ । दुवै चित्र फरक एप्रोचमा देखापरे पनि मूलतः मानव नै केन्द्रविन्दुमा देखिनु भाव अभिव्यञ्जनाको गतिलो प्रत्याभूति पनि हो ।
उनले जीवनमा यथार्थवादी व्यक्तिचित्र पनि थुप्रै बनाएका छन् । यस प्रदर्शनीमा भने उनका व्यक्तिचित्र देखिएन । उनले अमूर्त कलामाथि सलाईका काँटी टाँस्ने प्रयोग धेरै अघिदेखि गर्थे । हिजोआज पनि उनी यो प्रयोग गर्छन् । ‘म्याचबक्स’को नामबाट यसपल्ट पनि उनको यो प्रयोग देखापरेको छ । सलाईका काँटीहरूलाई एउटा भाँती मिलाएर अमूर्त चित्रमाथि टाँस्नु अनि एउटा अर्को आकृतिलाई जन्म दिनु उनको थप विशेषता देखिँदै आएको छ ।
यस प्रदर्शनीमा भाग लिएका अर्का वरिष्ठ कलाकार केके कर्माचार्यले काठमाडौँकै जुद्धकला पाठशालामा कला अध्ययन गरेका हुन् । उनले सानैदेखि जीविकोपार्जनका लागि सङ्घर्ष गर्नुपर्यो । त्यसैले पनि उनी बाल्यकालदेखि व्यावसायिक कलामा सक्रिय भएर लागे । अहिले उनी लोभलाग्दा अमूर्त चित्र मात्र बनाउँदैनन्, दृष्टान्त चित्रदेखि मूर्तिहरू र विशेष गरेर ग्राफिक कलामा निपुण मानिन्छन् । हुलाक सेवा विभागमा लामो समय जागिर खाएका उनले चार सयभन्दा बढी हुलाक टिकट समेत डिजाइन गरे । अहिलेसम्म यति धेरै हुलाक टिकट डिजाइन अरु कसैले गरेका छैनन् ।
यसपालिको प्रदर्शनीमा उनका दुईवटा अमूर्त चित्र थिए । सपाटपना हुँदै गर्दा पनि आयामिक घनत्व यथेष्ट रूपमा उनको कलाले बोकेको देखिन्छ । २०२८ सालमै एकल कला प्रदर्शनी गरिसकेका कर्माचार्यका कलामा खाली स्पेसमाथि शान्त रूपमा लमतन्न भई अनेक अवयव बसेका देखिन्छन् । उड्दाउड्दै फाटेका रङ्गीन बादलहरूझैँ अवयव चुपचाप बसिदिँदा उनको कलाले अनौठो स्वाद दिन्छ ।
कर्माचार्य हिजोआज बढी मात्रामा अमूर्त कलामा व्यस्त देखिन्छन् । यसपल्ट पनि उनको ‘मोसन’ नामक अमूर्त कला नै प्रदर्शनमा थियो । खैरा, सेता, काला रङहरू खेलाएर यथेष्ट मात्रामा गतिलाई समात्दासमात्दै पनि उनले चित्रपटको पाश्र्वभागमा नैसर्गिक घडी नै बनाएका छन्, जुन मूलतः गतिको अर्को विम्ब पनि हो । घडी नितान्त यथार्थ रूपमा देखापरेको छ । अमूर्ततामा यसरी यथार्थ रूप देखिँदा अलग्गै मजा आउँदो रहेछ । क्यानभासमा तल–माथि यस्ता खाली स्पेस छुट्ट्याइसकेपछि बिचको भागमा मूल विषयलाई स्थापित गर्ने पुरानो चलन हो, यस्तो कलागत संरचना धेरैलाई मनपर्थ्यो । यो अङ्कन पद्धति कर्माचार्यले पनि अङ्गीकार गरेको देखिन्छ ।
अर्का वरिष्ठ कलाकार मदन चित्रकारले आकारमूलक सिंहहरूलाई प्यारोडीका रूपमा प्रस्तुत गरेका छन् । जसले गर्दा उनको कलामा नौलो संरचना देखिन्छ । उनी मूलतः राम्रा ग्राफिक डिजाइनर हुन् । सशक्त रेखाहरू खेलार्ई बस्न सक्ने मदनको यो नयाँ शैली पनि हो ।

यस्तै, यस कला प्रदर्शनीमा आकर्षक कामसहित सहभागी भएका दुई कलाकार हुन्— मुकेश श्रेष्ठ र जीवन राजोपाध्याय । जीवन प्रभाववादी जलरङ्गी दृश्यचित्र बनाउने उम्दा कलाकार हुन् । अहिले उनको कलामा अमूर्तता समेत देखापर्न थालेको छ । विशेष गरेर पारदर्शी पहेँलो र हल्का नीलो रङमाथि हल्का फिक्का हरियो, सेतो र गाढा कालो बसिदिँदा उनको कलाको गहिराइलाई स्पष्ट अनुभव गर्न सकिन्छ । रङमा बहाव, कोमलपना उनको अमूर्त कलाको विशेषता हुने गर्छ । जलरङ्गी दृश्यचित्रमा निर्धक्क फैलन पुग्ने रङको बहावलाई उनले यहाँ अमूर्ततामा पनि भित्र्याउन भ्याएका छन् ।
बनारसको बीएचयूको कला सङ्कायबाट गोल्ड मेडलका साथ स्नातकोत्तर गरी सन् २००८ मा नेपाल फर्केका मुकेश पछिल्लो समय अब्बल कलाका साथ देखिन्छन् । विशेष गरेर पौभा कलाका देवी–देवतालाई हाम्रै परम्परागत शैलीमा तर आधुनिक फर्ममा उतार्नु उनको निजी पहिचान हो । उनका यस्ता आकृति कतै दुरुस्त र मनमोहक रूपमा देखापर्छन् भने कतै यही आकृति भाँचिएर, खप्टिएर, बाङ्गिएर अलि अनौठो पाराले अमूर्तता हुँदै मूर्त रूपमा देखापर्छन् ।

यसरी आकृतिलाई बङ्ग्याउने शैली अपनाउनुमा उनी भारतका विश्वप्रसिद्ध कलाकारहरू तैयब मेहता अनि बेलायतका फ्रान्सिस बेकनसँग नजिकबाट प्रभावित देखिन्छन् । यसपल्ट यसैको अघिल्लो चरणको रूपमा उनका दुईवटा चित्र प्रदर्शनमा छन् । ती चित्र हुन्— कीर्तिमुख भैरव र ‘मजिपा लाखे विथ हिज बिलभ्ड लाछी’ । उनले दशवटा हात र चारवटा गोडासहित भैरवको परिकल्पना गरेका छन् । विभिन्न आयुध, अस्त्र र मुद्रासहितका हातलाई उनले अति नै सुन्दर किसिमले समायोजन गरेका छन् । परम्परासँग गाँसिन गएको यो उनको उत्तरआधुनिक कलागत प्रवृत्तिले स्वभावतः नेपाली कलाले नितान्त नौलो धार लिएको स्पष्ट बोध गराउँछ ।
मजिपा लाखेबारे गजबको लोकगाथा छ । लोककथा अनुसार, कुनै केटीसँग प्रेम भएपछि मजिपाले दानवबाट मान्छेको रूप धारण गरेका थिए । अनि आफ्नी प्रियतमालाई खोज्दै हिँडेका थिए । पहिला यी मजिपा जङ्गलमा बस्थे रे । पछि मान्छेका बस्तीमा आउन थालेपछि उनी मानिसकै संरक्षक भए । नेवारीमा यिनलाई ‘आजु’ भन्ने चलन पनि छ ।
यसपल्ट सरोज बज्राचार्यको घतलाग्दो चित्र प्रदर्शनमा देखियो । ‘रेड वर्ल्ड म्याप टु द मुन’ नामक उनको चित्रमा अन्तरिक्ष र मानवबिचको सम्बन्धलाई अनुभव गर्न सकिन्छ । उनी कला लेखक र क्युरेटर पनि हुन्, यस्तै कलाका विद्यार्थीलाई पढाउने समेत गर्छन् । अवचेतन मनमा कुराहरू खेलाउन, अनेक नैसर्गिक घटनालाई कल्पनामा बुन्न सदैव लागिपर्दा उनका चित्र एक अलग्गै प्रकारले देखिने गर्छन् । स्वैरकाल्पनिकतालाई गहन दर्शनका साथ प्रस्तुत गर्नु उनको खास कलागत विशेषता हो ।
अन्तरिक्ष यात्रीहरू अनेकानेक अवस्था र घटनामा सम्बन्धित भएर उनका क्यानभासमा देखिन्छन् । उनले तीन–चारवटा कलागत प्रोजेक्टहरू गरेका छन् । कलाको गहिरो बुझाइ भएकाले उनका कला पनि रहस्यमय ढंगका देखिन्छन् ।
यस कला प्रदर्शनीमा रोशन भण्डारीका कामहरू पनि अनौठो कल्पनामा बुनिएर प्रस्तुत भएका छन् । मूलतः उनका चित्रले अनेक स–साना घटनालाई उन्दै समग्रमा एउटा सिङ्गो कथा भन्छन् । यसपालि प्रदर्शनीमा राखिएको उनको चित्रको अग्रभागमा बडेमानको चराको रूप देखिन्छ भने पछाडिको भागमा मान्छेका अनेक दिनचर्याहरू देखिन्छन् ।
यस्तै यसपालिको प्रदर्शनीमा रूपक राईको अलि अचम्मको चित्र प्रदर्शन गरिएको थियो । उज्यालो र अँध्यारोबिचको अवस्था आभास गराउने पृष्ठभूमिमा उनले सानो आकारको नेपाली सय रुपैयाँको नोटलाई राखेका छन् । ‘कलर अफ मनी’ नामक यो उनको काम निश्चय पनि सुपर–रियालिस्टिक फर्ममा देखिन्छ । दुरुस्त हरियो सय रुपैयाँको नोटमा देखिने कलरदेखि हरेक अवयवलाई दुरुस्त उतारिएको छ ।
यस्तै जेनी डंगोलले महिलाका दिनचर्यालाई सुपर–रियालिस्टिक फर्ममा प्रस्तुत गरेकी छन् । ड्रइङको रूपमा देखापरेका यी काम अब्बल हुन् । यस्तै कपिलमणिले उग्र अभिव्यञ्जनालाई आफ्नो क्यानभासमा उतारेका छन् ।
(मल्ल कलाकार तथा कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण