जेन–जी आन्दोलनका आयाम
सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध भदौ २३ र २४ गते जेन–जी (सन् १९९७ देखि २०१२ को बिचमा जन्मेको पुस्ता) को अगुवाइमा भीषण आन्दोलन भयो । यसले असाध्यै छोटो अवधिमा राजकीय सत्ताको सम्पूर्ण संयन्त्रलाई नराम्ररी हल्लाइदिएको छ ।
सङ्गठन, नेतृत्व, ठोस योजना र उद्देश्य किटान नगरी स्वतस्फूर्त रूपमा उठेको यो जनउभारले परम्परागत राजनीतिक विरासत र संस्कृतिलाई नै खलबल्याइदिएको छ; राजनीतिलाई पुस्तान्तरण हुने बिर्ताजस्तो ठान्ने भाष्यलाई भत्काइदिएको छ; सरकारी हठ र म जे गर्छु ठिक गर्छु भन्ने स्वघोषित घमण्डहरूलाई ठन्डा दिमागले पुनर्विचार वा समीक्षा गर्न बाध्य बनाइदिएको छ । अर्थात् यसले नेपाली राष्ट्रिय राजनीतिमा थुप्रै सकारात्मक तथा नकारात्मक सवाल खडा गरिदिएको छ, जसबारे यहाँ चर्चा गरिएको छ ।
- सुशासनको सवाल
जेन–जी आन्दोलनको सारभूत अन्तर्यमा सुशासन रहेको देखिन्छ । यसले समाजमा बढ्दै गरेको भ्रष्टाचार, बेथिति, विसङ्गति र अनियमिततालाई टड्कारो ढङ्गले उजागर गरेको छ । नेपाली राजकीय सत्ताको हरेक अङ्गमा भ्रष्टाचार, बेथिति र अपारदर्शिता मौलाएकोमा दुईमत छैन । यहाँ निर्दिष्ट पद्धति र प्रक्रियाबाट भन्दा पनि भनसुन, चाकरी, चाप्लुसी, पैसा लेनादेना र शक्ति वा पहुँच प्रदर्शन गरेर मात्र काम अघि बढाउन सकिन्छ । यो हाम्रो समाजको कटुसत्य र विडम्बना हो । वस्तुतः यस्तै भ्रष्ट, विकृत र विसङ्गत हर्कतहरूविरुद्ध लक्षित रोष र कटाक्ष नै जेन–जी आन्दोलनमा अभिव्यक्त भएको देखिन्छ । यसले सबैलाई गलत गर्नु भन्दाअघि दशपटक सोच्ने बनाएको छ, जुन आन्दोलनको सकारात्मक पक्ष हो ।
हाम्रो जेन–जी आन्दोलनमा निरपेक्ष रूपमा सुशासनको मात्र सवाल उठाइएको छ । यसको प्राविधिक समाधन मात्र खोजिएको छ । समाजमा व्याप्त विकृति र विसङ्गतिहरूको कारक पक्ष राजनीतिक प्रणाली हो भनेर जेन–जी लगायत आम नागरिकले बुझ्ने प्रयास गरेको देखिँदैन ।
सबै पार्टी, नेता र कार्यकर्ता भ्रष्ट भएको, बिग्रिएको, गलत काम गरिरहेको अनि सबै उस्तै भन्ने गोलमटोल भाष्य नेपाली समाजको पछिल्लो विशेषता हो । यही सबै उस्तै हुन् भन्ने अमूर्त भाष्यमा धेरैले आफ्नो रोटी पकाइरहेको देखिन्छ । उनीहरू वास्तविक समस्या पहिचान भयो भने आफ्नो निहीत स्वार्थको व्यापार समाप्त हुने भयका कारण त्यतातिर जान चाहँदैनन् । तब जसरी र जे गरेर पनि जित्नैपर्ने खर्चिलो र भड्किलो संसदीय चुनावविरुद्ध आवाज उठाउन पनि जरुरी ठान्दैनन् ।
पुँजीवादी निजी नाफा, स्वार्थको अतृप्त लोभ र मातमा हराउँदै गएको मानवता, कुडिँदै गएको भावना अनि निष्ठुरी वा स्वार्थी बन्दै गएको समाजबारे कसैले गहिरो अध्ययन गरेका छैनन् । मूलतः यही निजी स्वार्थी प्रणालीकै कारण समाज भ्रष्टाचार र विसङ्गतिहरूको फोहोरी आहालमा डुब्दै गएको साँचो हो तर प्रणालीबारे अनुसन्धान गर्न कोही तयार भएको देखिँदैन । प्रणाली मुख्य पक्ष हो भने सुशासन सहायक पक्ष हो । संस्कार–संस्कृति प्रधान हो भने व्यक्ति गौण पक्ष हो । यो सच्चाइलाई नेपाली राजनीतिले आत्मसात गरेको देखिँदैन ।
यसपालिको जेन–जी आन्दोलनमा नौजवान युवाको स्वतःस्फूर्त साहस, बलिदान, जोस, जाँगर र क्रियाशीलता उदाहरणीय थियो तर उनीहरूसँग विचार, सङ्गठन, योजना र नेतृत्व थिएन ।
- पुस्तान्तरणको सवाल
पुस्तान्तरण जेन–जी आन्दोलनको अर्को सवाल हो । उनीहरूको आन्दोलनको अन्तर्यमा अब नौजवान युवाले मुलुक चलाउनुपर्छ भन्ने रहेको छ । यो युवाप्रिय सस्तो र सजिलो भावनात्मक नारा हो । मर्दो अवस्थाको जीवन–सेल बोक्ने बुढा नेताले चढ्दो अवस्थाको जीवन–सेल बोक्ने जेन–जीका स्मार्ट माग सम्बोधन गर्न सक्दैनन् भन्ने उनीहरूको आधारभूत दृष्टिकोण हो ।
त्यसैले उनीहरूले बुढाहरूलाई बाइबाई र नौजवान युवालाई दिलैदेखिको स्वागत भनिरहेका छन् । यो असाध्यै गुलियो नारा हो, जहाँ सिद्धान्त र विचारलाई नजरअन्दाज गर्दै पुस्ताको मात्र वकालत गरिन्छ तर यस्तो रबैयाले चाहना राम्रो राख्दाराख्दै पनि चुच्चे ढुङ्गा उही टुङ्गो भन्ने उखान चरितार्थ हुँदैन भन्न सकिन्न । सामान्यतया यसमा राजनीतिक सिद्धान्त, विचार र दृष्टिकोण कुन सही र गलत भन्ने हुँदैन ।
पुस्तान्तरणको कुरा धेरै गरिन्छ, अलिअलि रूपान्तरणको पनि तर प्रणाली फेरबदलको कुरा गरिँदैन । अझ यो पुस्तान्तरण र रूपान्तरणलाई समेत दिशानिर्देश गर्ने निर्दिष्ट प्रणाली हुन्छ भनेर वकालत गरिँदैन । प्रणाली प्रधान हुन्छ भने पुस्तान्तरण सहायक हुन्छ भनेर बुभ्mने प्रयास पनि गर्दैनन् । अर्थात् गलत प्रणाली छ भने पुस्तान्तरण गरे पनि समस्याको वास्तविक समाधान हुँदैन भन्ने न्यूनतम सचेतना जेन–जी आन्दोलनमा अभिव्यक्त भएको पाइँदैन । यसकारण जेन–जीहरू प्रणालीको सार्वभौमिक सत्यबारे स्पष्ट हुन जरुरी देखिन्छ ।
- विचार, सङ्गठन र नेतृत्वको सवाल
हाम्रो समाजलाई दिशानिर्देश गर्नका लागि निश्चित विचार अपरिहार्य हुन्छ । यो भावनाको तरङ्गमा बहकिएर र विरक्तिएर मात्र सम्भव हुँदैन । यसका लागि निश्चित विचारबाट निर्देशित सङ्गठन अनिवार्य हुन्छ, जुन एक्लाएक्लैको प्रयत्न र पहलबाट गर्न सकिँदैन । निश्चित विचार र सङ्गठनलाई अघि बढाउन ठोस योजना वा कार्यक्रम चाहिन्छ ।
विचार, सङ्गठन र योजनालाई राम्रोसँग परिचालन गर्न एक गतिशील नेतृत्व जरुरी हुन्छ । जब विचार, सङ्गठन, योजना र नेतृत्व विन्यास सही र वस्तुवादी हुन्छ, तब निर्दिष्ट लक्ष्य र योजनामा पुग्न सहज हुन्छ । यस्ता मूलभूत पक्षलाई नजरअन्दाज गरियो भने आन्दोलन चरम अराजकतामा फस्नुको साथै नियन्त्रण बाहिर जाने गर्छ । साथै अकल्पनीय जनधनको क्षति हुन पुग्छ । दुःखद पक्ष पछिल्लो जेन–जी आन्दोलनमा यही भयो । यता सफल भए पनि त्यसको व्यवस्थापन र बैठान गर्न कठिन भइरहेको छ । अर्थात् यो अलमल र अकर्मण्यतामा फसिरहेको छ, जसको फाइदा अरुले लिने खतरा रहन्छ ।
यसपालिको जेन–जी आन्दोलनमा नौजवान युवाको स्वतःस्फूर्त साहस, बलिदान, जोस, जाँगर र क्रियाशीलता उदाहरणीय थियो तर उनीहरूसँग विचार, सङ्गठन, योजना र नेतृत्व थिएन । त्यति मात्र होइन, उनीहरूले आन्दोलनलाई यो उचाइमा पुर्याइएला र जिम्मेवारीहरू लिनुपर्ला भन्ने सोचेको देखिँदैन । परिणामतः आन्दोलन चौतर्फी अराजकता लुटपाट र आगजनीमा परिणत भयो । साँझपख यो कसैको नियन्त्रमा थिएन, जसले गर्दा अकल्पनीय र अपूरणीय क्षति बेहोर्नुपर्यो ।
अर्कोतिर शीघ्र र अनपेक्षित सफलता प्राप्त गरे पनि उनीहरू अलमलमा परे, जुन वेला क्षणक्षणको संवेदनशील महत्त्व हुने गर्छ । किनभने उनीहरूसँग विचार, सङ्गठन, योजना र नेतृत्व केही पनि थिएन । लक्ष्य उद्देश्य पनि किटान गरिएको थिएन । औसत विरोध प्रदर्शन गरेर सरकारलाई दबाब सिर्जना गर्ने भन्ने थियो, जसले गर्दा आन्दोलन सफल भएर पनि असफलताको अक्करमा अल्झिरहेको प्रतीत हुन्छ ।
- गैरदलीय सवाल
पुराना दलप्रति चरम वितृष्णा बढेसँगै केही स्वतन्त्र व्यक्ति र नयाँ दलप्रति झुकाव बढिरहेको दोबाटोमा जेन–जी आन्दोलन भएको छ । यसले पुरानोसँगै नयाँ दललाई पनि चुनौती थपिदिएको छ । यो आन्दोलनले झनै निरपेक्ष रूपमा निर्दलीयताको कुरा गरिरहेको छ । दलको अनुहारै हेर्न हुँदैन, अनि पानी बाराबारको भाष्य बनाइएको छ । यस्तो हुनुमा मूलतः सत्ता पक्षीय हठ, स्वयं राजनीतिक दल र उनीहरूको औसत राजनीतिक क्रियाकलाप जिम्मेवार देखिन्छ । योसँगै आजको उपभोगवादी संस्कृति, सूचना प्रविधिको पहुँच र भूमण्डलीकृत विश्व व्यवस्थाजन्य रणनीतिक स्वार्थ पनि उत्तिकै जिम्मेवार छ ।
जेन–जी लगायतले दलहरू पाखा लाएपछि आफ्से आफ समस्याको समाधान हुन्छ भनेर बनिबनाउ चाहना राख्नु वैचारिक र राजनीतिक सुझबुझ तथा सचेतनाको कमीबाहेक अरु केही होइन । उनीहरूले प्रणालीमा त्रुटि भएर दलहरूमा अनि नेताहरूमा समस्या आएको भन्ने सत्य र सार्वभौम तथ्य बुझेका छैनन् । प्रणालीले दल, नेता वा मतमाता मात्र होइन, सिङ्गो समाज वा मतदातालाई पनि भ्रष्टीकरण गर्छ । यसरी विगत लामो समयदेखि पुरानो दल र नेतालाई भ्रष्टीकृत गर्ने प्रणालीले भोलि जेन–जी, स्वतन्त्र लगायत नयाँ दल र नेतालाई पनि भ्रष्ट, विकृत र विसङ्गत बनाउनेछ भन्ने राजनीतिक चेत उनीहरूमा देखिँदैन । यो उनीहरूको राजनीतिक वैचारिक दरिद्रता हो ।
दलको नामै लिन नचाहने स्वतन्त्र वा जेन–जीहरू स्वयं पनि भविष्यमा हुने चुनावमा कुनै न कुनै दलमार्पmत नै भाग लिने निश्चित छ । तब दलको औचित्य छैन कसरी भन्न मिल्छ ? बरु पुरानै ढर्रा, रूप, रङ र चरित्रको नभएर आमूल रूपान्तरण भएको नयाँ रूप, रङ र सांस्कृतिक विशेषतासहितको नयाँ दल वा नेताहरूको अपेक्षा गर्नु वस्तुवादी हुन्छ ।
- घुसपैठ
जेन–जी आन्दोलनमा दर्जनौँ होनाहार नेपाल आमाका छोराछोरीले उच्च सहादत प्राप्त गरेका छन् । यो एकातिर दुःखद छ भने अर्कोतिर पे्ररणादायी पनि । किनभने परिवर्तन भोजभतेर खाएर अनि जग्गे–रत्यौली वा वनभोजमा रमाएर परिवर्तन हुँदैन । यसका लागि सङ्घर्ष र बलिदानको कोटा चुक्ता गर्नैपर्छ । यो विश्व मानव समाजको इतिहाससिद्ध तथ्य हो ।
अघिल्लो दिन अन्धाधुन्ध ताकीताकी गोली बर्साउनु अनि भोलिपल्ट आगजनी र लुटपाटहरूमा रमिते बनेर बस्नु आफैँमा नियोजित थियो कि क्या हो भनेर शङ्का गर्ने ठाउँ देखिन्छ । जघन्य अपराध सहितका हजारौँ कैदी भाग्नु असाध्यै गम्भीर कुरा हो । सैनिक मुख्यालयमा भएका तमाम गतिविधि र राष्ट्रपतिलाई दिइएको दबाब पनि अस्वाभाविक छ । यस्ता हर्कतबाट जेन–जीको कभरमा देशी–विदेशी शक्तिकेन्द्रहरूको रणनीतिक स्वार्थमा आन्दोलन गिजोलिएको अनुमान गर्न सकिन्छ । यद्यपि यथार्थ के हो भोलि अवश्य नै थाहा होला । यो सत्य प्रमाणित भयो भने त्यो सुशासनभन्दा पनि महँगो हुने खतरा छ, जसको मूल्य हामी सबै नेपालीले चुक्ता गर्नुपर्नेछ ।
- निष्कर्ष
जेन–जी आन्दोलन एक उथलपुथलकारी ऐतिहासिक आन्दोलन हो । यसले धेरै सकात्मक र नकारात्मक सवाल जन्माएको छ । सुशासन, पुस्तान्तरण, रूपान्तरण, साङ्गठनिक नेतृत्व, गैरदलीय भाष्य, वैदेशिक हस्तक्षेप र घुसपैठजस्ता टड्कारा सवाल उठाएको छ । यद्यपि यसले विद्यमान राजनीतिक प्रणालीमा रहेको समस्या र खराबीलाई भने नजरअन्दाज गरेको देखिन्छ ।
यही प्रणालीमा भोलि जेन–जी लगायत स्वतन्त्र पनि उस्तै भ्रष्ट र प्रदूषित हुन सक्ने सार्वभौम सच्चाइमा उनीहरू बेखबर छन् । वस्तुतः सबै उस्तै हुन् भन्ने भाष्य नै गलत नियत र स्वार्थबाट फालिएको कार्ड हो । सबै उस्तै राम्रो र सबै उस्तै नराम्रो विज्ञानले पनि स्वीकार गर्दैन । यसले नेपाली राष्ट्रिय राजनीतिमा दिग्भ्रम मात्र सिर्जना गरिरहेको छ ।
आउनुहोस्, सुशासनको कुरा गरिरहँदा त्यसलाई पनि दिशानिर्देश गर्ने प्रणाली नै परिवर्तन गर्ने हिम्मत गरौँ, तब मात्रै भ्रष्टाचार र बेथितिको अन्त्य हुनेछ । यही प्रणालीभित्र सुशासन र सबै उस्तै हुन् भन्ने नारा लगाउँदा कुनै अमूक स्वतन्त्र र नयाँ पात्रहरूलाई आवधिक चुनाव जित्ने क्याप्सुल त बन्ला तर समस्या समाधन हुँदैन । हाम्रो लक्ष्य व्यक्ति चाख्ने होइन प्रणाली नै परिवर्तन गरेर समस्याको दीर्घकालीन समाधन खोज्ने हो । यसमा सबैले गम्भीर समीक्षा गर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण