शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापाको सुझाव : ओभरड्राफ्ट लिएर पुनर्निर्माणमा लाग्दा उपयुक्त

मङ्गलबार, ०७ असोज २०८२, १३ : ४१
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले हालैको 'जेनजी' प्रदर्शनपछि सरकारले तत्काल आर्थिक पुनरुत्थानमा ध्यान दिनुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको 'अर्थतन्त्रको पुनरुत्थानको आगामी बाटो' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस आन्दोलनबाट भौतिक क्षतिका साथै आर्थिक प्रभाव अझ ठुलो रहेको उल्लेख गरेका हुन्।

थापाले भने, ‘जेनजी प्रदर्शनले ठुलो मात्रामा भौतिक क्षति भएको छ, यस्तो क्षति यसअघि कहिल्यै भएको थिएन। आर्थिक हिसाबमा क्षतिको तुलनामा यसको प्रभाव अझ गहिरो छ।’ उनले सरकारले वित्तीय स्थिति बिग्रिन नदिन केही प्याकेज घोषणा गरिसकेको भए पनि त्यसलाई निरन्तरता दिँदै आर्थिक पुनरुत्थानमा काम गर्नुपर्नेमा जोड दिए।

उनले राष्ट्र बैंकको ऐनमा भएको व्यवस्थाअनुसार ओभरड्राफ्ट (ओडी) लिएर पुनर्निर्माणमा लाग्दा उपयुक्त हुने सुझाव दिए। ओडीबाट पुनर्निर्माण गर्दा सार्वजनिक ऋण नबढ्ने र विदेशी मुद्रा सञ्चितिमा पनि असर नपर्ने उनको भनाइ छ। सरकारले क्षति भएका संरचनाहरू कसरी पुनर्निर्माण हुन्छन् र राज्यका संयन्त्रहरू कसरी परिचालन हुन्छन् भनी नागरिकलाई जानकारी गराएर मनोबल बढाउनुपर्नेमा पनि उनले जोड दिए।

थापाका अनुसार, निजी क्षेत्रमा करिब ८० अर्ब र सरकारी संयन्त्रसमेत जोड्दा कुल २४० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ, जुन देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४-५% हो। यसअघि बेरोजगारीका कारण आन्दोलन भएकोमा अब यही आन्दोलनले थप बेरोजगारी बढ्ने जोखिम देखापरेको उनले बताए। यसबाट नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा भ्रष्टाचारयुक्त मुलुकका रूपमा स्थापित हुने खतरा बढेको उनको भनाइ छ।

उनले निजी क्षेत्रको मनोबल कमजोर भएको र व्यापार-व्यवसाय पनि धरापमा परेकाले सरकारले यी विषयमा ध्यान दिनुपर्ने बताए। विदेशी लगानीकर्ताहरू पनि नेपालमा लगानी गर्ने कि नगर्ने भनेर सोच्न बाध्य भएको स्थिति सिर्जना भएकोले सबै पक्षलाई मध्यनजर गरी अघि बढ्नुपर्नेमा थापाले जोड दिए।

थापाले विश्व बैंकसँग सहकार्य गरी साना तथा मझौला उद्यम (एसएमई) र सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी भित्र्याउन सरकार अग्रसर हुनुपर्ने सुझाव दिए। साथै, पर्यटन क्षेत्रमा पनि यस्तै नीति अपनाउन सकेमा नेपालको अन्तर्राष्ट्रिय छवि सुधार हुने उनले बताए। उनले अन्तमा सरकार पुनर्निर्माण, आर्थिक सुधार र संस्थागत सबलीकरणका काममा अघि बढ्न आवश्यक रहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप