सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मर्दीका होटललाई २५ बेडको स्वीकृति, बढी बेड भएका कोठामा ताला

मङ्गलबार, ०७ असोज २०८२, २० : १९
मङ्गलबार, ०७ असोज २०८२

पोखरा । सार्वजनिक र वन क्षेत्रमा होटल बनाइएको भन्दै लामो समयदेखि विवादमा रहेको मर्दी हिमाल क्षेत्रका होटललाई अधिकतम २५ बेडको स्वीकृति दिइएको छ । 

माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीय होटल व्यवसायीको त्रिपक्षीय सहमति गरेर २५ बेडभन्दा बढी कुनै पनि होटलले नचलाउने निर्णय गरेका हुन् । 

मंगलबार संयुक्त टोलीले नै तोकिएको भन्दा बढी बेडलाई शिल गरिदिएको छ । ‘जथाभावी होटल खुले । वन क्षेत्रमा र पर्यावरणमा असर पर्‍यो । 

नबनाउनु भन्दा सकिएन,’ एक्यापमा निर्देशक डा. रविन कडरियाले भने, ‘अझै बिग्रेला भन्ने चिन्ताले हामीले निश्चित कोटा तोकिदिएका हौँ । यसको मुख्य उद्देश्य पर्यटन व्यवस्थापन गर्ने हो ।’ भदौ २३ गते बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको थियो ।

‘जहाँ पायो त्यहीँ होटल बनाउन नपाउने गरी व्यवसायीलाई अनुशासित बनाइएको छ । मेन्युमा एकरूपता ल्याउन खोजिएको छ । वातावरणको पनि संरक्षण गर्ने र पर्यटकको सुरक्षा गर्ने ध्यान हाम्रो हो,’ उनले अघि थपे, ‘पहिला त एउटै कोठामा ३० जनासम्म पर्यटक सुताउने गरेका थिए । एक्यापको मात्रै होइन, सबै मिलेर साझा धारणा बनाइएको हो ।’ 

नयाँ निर्णयसँगै तोकिएको भन्दा बढी बेड भएका कोटामा ताला लगाइएको पर्यटन उपसमिति अध्यक्ष राजकुमार तामाङले बताए । यो रुटमा हाल चिया पसल सहित ७० वटा होटल सञ्चालनमा छन् । भ्यू प्वाइन्टमा रहेको १० वटा टी–शप अब एउटै चलाउने गरी एक्यापले सहमति दिएको छ ।

‘कुनै कुनैमा अलि बढी बेड थियो । सबैलाई घटाएर २५ वटामा कायम गरिएको छ,’ उनले भने, ‘अब तत्काल यो बढाउन पनि पाइँदैन । नयाँ होटल खोल्न पनि पाइँदैन ।’ मंगलबार बसेको स्थानीय बैठकबाट पनि यसमा सहमति जनाउने निर्णय गरेका छन् । होटलमा अधिकतम २५ बेड मात्रै राख्ने निर्णयमा उनीहरुले सहमति जनाएका छन् । २५ भन्दा बढीका बेड सङ्ख्यालाई तत्कालका लागि शिल गरी राख्ने र कम बेडसंख्या भएका होटलमा थप नगर्ने निर्णय भएको छ । दुई तल्ला भएका होटल पनि एक तल्ला मात्रै प्रयोग गर्ने गरी सहमति गरिएको छ । यो निर्णयमा सहमति नजनाउने व्यवसायीले दिग्दर्शन स्वीकृत भएर कार्यान्वयन गर्ने क्रममा पनि व्यवसाय दर्ता नगर्ने तथा त्यस सम्बन्धी सिफारिस पनि नगर्ने निर्णय उनीहरुले गरेका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले लामो समयदेखि स्थानीय युवाहरूको माग अनुसार निर्णय गरेर कार्यान्वयनमा लगिएको बताइन् । 

‘सरकारी जग्गामा होटल बनेका छन् । पर्यटक आएपछि बनाउनै पनि पर्‍यो । तर सधैँ अवैध हो भनेर उनीहरूलाई गाली गरेको गर्‍यै भयो,’ उनी भन्छिन्, ‘यो निर्णयले केही राहत दिएको छ । युवाहरूले आफ्नो लगानी सुरक्षाको महसुस गरेका छन् ।’ मर्दी रुटमा होटल व्यवसाय गर्ने अधिकांश युवाहरू छन् । सुरुमा पुर्खाहरूले गोठ चलाएको ठाउँलाई अहिले होटल बनाएर पर्यटकलाई आश्रय दिन थालेका हुन् ।

‘यो ठाउँ सरकारी हो । तर भोगचलन त स्थानीयले नै गरेका हुन् नि । हिजो पशु वस्तुको गोठ थियो । अहिले होटल चलाएका छन् । फरक त्यत्ति हो,’ वडा नम्बर ९ का अध्यक्ष हरिबहादुर क्षेत्री भन्छन्, ‘युवालाई देशमा रोजगारी दिनुपर्छ भन्ने सरकारले होटल बन्द गरेर विदेश जाऊ भन्न मिल्दैन । उनीहरूलाई थप लगानीको वातावरण बनाउनुपर्छ ।’ होटल सञ्चालनपछि पर्यटकहरूलाई पनि सुविधा भएको छ । अहिले प्रत्येक क्याम्पमा ३ सय जनाको क्षमता छ । मर्दी हिमाल विश्वकै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । तर एक्याप मातहत पर्ने भएकोले सहज रूपमा व्यवसाय गर्न मिल्दैन ।

माछापुच्छ्रे गाउँपालिकाले यही पदमार्गमा पर्यटकको प्रवेश शुल्क लिन थालेको थियो । तर चौतर्फी आलोचना र विरोधका कारण उक्त निर्णयबाट पछि हटेको छ । 

व्यवसायीहरूले आफूहरू कर तिर्न तयार रहेको तर व्यवसाय दर्ता हुनुपर्ने माग धेरै पहिलेदेखि उठाउँदै आएका छन् । एक्यापको नियमावली संशोधनको चरणमा रहेकोले अहिले रोयल्टी वा कर लिने अवस्था नभएको एक्याप प्रमुख कडरियाले बताए ।

‘हामी दिग्दर्शन बनाउने चरणमा छौँ । यो तयार भइसकेपछि कसरी लिने भन्न मिल्छ,’ उनले भने, ‘तत्काल कर लिने कुरा भएको छैन । कर लिने विधि पनि बनिसकेको छैन ।’ मर्दी ट्रेक माछापुच्छ्रे हिमाल नजिकबाट नियाल्ने मुख्य गन्तव्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप