लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र
सारांश
- धरान उपमहानगरपालिका-५ मा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ, जसका कारण स्थानीयले सास्ती भोग्दै आएका छन्।
- २०७८ मा सम्पन्न हुनुपर्ने पुल निर्माण हालसम्म ५० प्रतिशत मात्रै पूरा भएको छ, र ठेकेदारले काम नगर्दा स्थानीय चिन्तित छन्।
- पुल नहुँदा विद्यार्थी र स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ, र बाढीले गर्दा जोखिम बढेको छ।
सुनसरी। धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल निर्माण सुरु भएको सात वर्ष भयो । सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म पुल निर्माण पूरा भएको छैन । पुल नबन्दा स्थानीयवासीले सास्ती भोग्नु परिरहेको छ ।
पुल निर्माणका लागि विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबिच रु एक करोड २१ लाख ८६ हजार आठ सय १३ को लागतमा सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०७८ साउन ७ गतेभित्र पुलको निर्माण पूरा हुनुपर्ने थियो ।
यद्यपि पुल निर्माण अहिले ५० प्रतिशत मात्रै पूरा भएको धरान उपमहानगरपालिका–५ का अध्यक्ष मनप्रसाद लिम्बूले बताए । उनका अनुसार दुवैतर्फका पिलरहरू उठाइए अहिले सबै झाडीले ढाकिसकेको छ । अरू संरचनात्मक काम अलपत्र अवस्थामा छन् ।
पुल नबन्दा धरान उपमहानगरपालिका–५ र ४ का साथै धरान बजारसँगको आवतजावतमा समस्या भएको छ । बर्खामा खोलामा आउने बाढीले गाउँलेहरू ज्यानको जोखिम मोलेर खोला पार गर्न बाध्य छन् । “बिरामी परे अस्पताल पुर्याउन कठिन हुन्छ, बाँसको अस्थायी पुल बनाउने प्रयास गरे पनि बाढीले भत्काइदिन्छ”, अध्यक्ष लिम्बूले भने ।
स्थानीय नरबहादुर मगरका अनुसार खोला तरेर विद्यालय जानुपर्ने बालबालिका बर्खामा झन् समस्यामा पर्छन् । बाढीको बेला बालबालिका खोलाको किनारमा घण्टौसम्म बस्नुपर्छ । “गाउँमा उत्पादन भएको कृषि उपज धरान लैजानका लागि पनि समस्या छ, पुल निर्माण भए सहज हुन्थ्यो भन्ने अपेक्षा छ”, उनले भने ।
धरान–५ मा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ । कक्षा ६ देखि माथिल्लो कक्षा पढ्न खोलापारिको धरान बजार पुग्नुपर्छ । मनटार, सुमनटार, मुक्तिलाल, निशान डाँडा र तल्लो निशान डाँडाका विद्यार्थीहरू दैनिक जोखिम मोलेर विद्यालय जान बाध्य छन् ।
पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले काम नगरेको गुनासो स्थानीयको छ । गत चैत १२ गते ठेकेदारलाई बोलाएर “जेठ मसान्तसम्म काम सक्ने गरी सहमति गरायौँ, तर अहिले त सम्पर्कमै छैन”, अध्यक्ष लिम्बूले भने ।
पुल निर्माणका विषयमा गत चैतमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गरेका थिए । मन्त्री राईका अनुसार काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया सुरु गरिएको थियो । तर ठेकेदार कम्पनीले अदालतबाट स्टे–अर्डर लिएपछि काम अघि बढ्न नसकेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण