पार्टी एकताका लागि पाँच दलका केन्द्रीय नेताद्वारा संयुक्त अपिल
सारांश
- जसपा नेपाल र अन्य दलका नेताहरूले पार्टी एकताका लागि नेतृत्वलाई संयुक्त अपिल गरेका छन्।
- उनीहरूले समान विचार र मुद्दा भएका पार्टीहरूलाई एकताबद्ध बनाउन आग्रह गरेका छन्।
- अपिलमा संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादी विचारलाई आत्मसात् गर्ने कुरा उल्लेख छ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र त्यसबाट अलग्गिएर बनेका दलहरूका केन्द्रीय नेताहरूले पार्टी एकताका लागि पार्टी नेतृत्वलाई संयुक्त अपिल गरेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय नेताहरूले संयुक्त अपिल जारी गर्दै समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध बनाइ वैकल्पिक पार्टी निर्माणको दिशामा अगाडि बढ्न नेतृत्वसँग माग गरेको जसपाका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्ने समाजवादी विचारका हामी युवा प्रतिनिधि जेनजी आन्दोलनपश्चात् विकसित घटनाक्रमका सन्दर्भमा छलफल गर्ने क्रममा एउटा साझा निष्कर्षमा पुगेका छौँ । समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध बनाई वैकल्पिक पार्टी निर्माणको दिशामा अगाडि बढ्नु उपयुक्त हुने हाम्रो ठहर रहेको छ । विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै समाजवादी आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सम्बद्ध दलको नेतृत्वसँग हामी जोडदार माग गर्दछौँ’, अपिलमा भनिएको छ ।
त्यस्तै अपिलमार्फत मुलुकको आवश्यकता, आन्दोलनको मर्म, पार्टीका आम कार्यकर्ता र पार्टी सदस्यको भावनालाई नेतृत्वले गम्भीरताका साथ आत्मसात गर्ने अपेक्षा गरेको बताइएको छ ।
संयुक्त अपिलमा जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख पूर्ण बस्नेत र केन्द्रीय सदस्य खेमराज खड्का, लोसपा नेपालका केन्द्रीय सचिव रामेश्वर यादव र केन्द्रीय सदस्य सुजन यादव, जसपाका केन्द्रीय सदस्यहरू प्रेमनारायण थापा, अर्जुन लम्साल र ज्ञानु आचार्य, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यहरू दीपबहादुर तामाङ, गीता चौधरी र दोर्जे तामाङ र नेसपा (नयाँ शक्ति)का विष्णुप्रसाद पौडेल र प्रकाश भट्टराईले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण