शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खाद्यले खसीबोका बिक्री नगर्ने, अनलाइनमार्फत बुकिङ रकम उपभोक्तालाई फिर्ता गरिँदै

शुक्रबार, १० असोज २०८२, १४ : ५७
शुक्रबार, १० असोज २०८२

सारांश

  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जेनजी आन्दोलनका कारण यस वर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ।
  • सडक अवरोध र असुरक्षित पशु आपूर्तिको कारण खरिद बिक्री कार्य नगर्ने निर्णय कृषि मन्त्रालयको सचिवस्तरीय बैठकले गरेको हो।
  • अनलाइनमार्फत बुकिङ गरेका उपभोक्ताको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ, र कम्पनीले सुपथ बजार छठसम्म सञ्चालन गर्नेछ।

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो । 

कम्पनीले आन्दोलन अगाडि करिब दुई हजार खसी–बोका र च्याङ्ग्रा खरिद बिक्रीका लागि प्रक्रिया सुरु गरेको भए पनि केही दिन देखापरेको अन्योलको परिस्थितिले यातायात तथा आपूर्ति व्यवस्थापन सहज नभएपछि खरिद बिक्री कार्य नगर्ने निर्णय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सचिवस्तरीय बैठकबाट गरिएको कम्पनीका बागमती प्रदेश प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिए ।

खसी–बोका खरिद गर्न चाहने केही उपभोक्ताले अनलाइनमार्फत गरेको बुकिङ रद्द भएकाले उनीहरूको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ । कम्पनीले दसैँमा खसी बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षण, खरिद तथा ढुवानी लागत मूल्याङ्कन गरी सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको थियो । 

बजारको एकाधिकार अन्त गर्न कम्पनीले निर्धारण गर्ने मूल्यले बजारमा मूल्य नियन्त्रणमा सकारात्मक प्रभाव पारेको थियो । यसले पूर्ण प्रतिस्पर्धात्मक बजार विकासमा सहयोग पुर्‍याएको थियो ।

दसैँमा काठमाडौँ उपत्यकामा मात्रै करिब ५० हजार खसी बोकाको अतिरिक्त माग हुने गरेको जनाइएको छ । कम्पनीले दसैँमा सञ्चालन गरेको सुपथ बजार छठसम्म सञ्चालन गरिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप