बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष दाहाल

सोमबार, १३ असोज २०८२, ०५ : ०७
सोमबार, १३ असोज २०८२

सारांश

  • राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकतासहित समृद्ध राष्ट्र निर्माणमा लाग्न आह्वान गरे।
  • उनले निर्वाचन समयमै सम्पन्न गर्न र जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए।
  • अध्यक्ष दाहालले दसैँलाई खुसियाली आदानप्रदान र सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारका रूपमा मनाउन आग्रह गरे।

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनतामा देखिएको निराशा, आवेग र अपेक्षालाई पूरा गर्न र राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लाग्न सबैलाइ आह्वान गरेका छन् । 

विजया दशमीको उपलक्षमा आज शुभकामना व्यक्त गर्दै उनले जेनजी प्रदर्शनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष दाहालले भनेका छन्, “फजुल खर्च, परम्परा र संस्कारका नाममा गरिने कुप्रथा र विकृतिबाट मुक्त भई पारिवारिक जमघट, खुसियाली आदानप्रदान र सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारका रूपमा हर्षोल्लासपूर्वक दसैँं मनाउन म सबैलाई आग्रह गर्दछु ।”

 बडादसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकता थप मजबुत बनाउने उहाँको विश्वास छ । सन्देशमा भनिएको छ, “हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कारको संरक्षण गर्ने तथा अन्धविश्वास र भड्किलो जीवन पद्धतिलाई समयानुकूल परिवर्तन गर्नु उत्तिकै जरुरी छ ।”
 
अध्यक्ष दाहालले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप