दसैँमा पिङ : स्थानीयस्तरबाट हुँदैछ रौनकता फर्काउने प्रयास
सारांश
- दसैँमा पिङको महत्व घट्दै गएकोमा स्थानीय तह, युवा क्लब र समुदायले यसलाई जोगाउन थालेका छन्।
- आधुनिकता र युवा पलायनले गर्दा हराउँदै गएको लिङ्गे र रोटे पिङ संस्कृतिलाई फर्काउने प्रयास भइरहेको छ।
- विभिन्न स्थानीय तहहरूले पिङ निर्माणका लागि बजेट विनियोजन गर्दै समुदायलाई परिचालन गरिरहेका छन्।
काठमाडौँ ।कुनै समय यस्तो थियो, पिङबिनाको दसैँ परिकल्पना नै हुँदैनथ्यो । घटस्थापनाको दिनसम्म गाउँघरमा सबैतिर पिङ हालिन्थ्यो । सहरमा पनि त्यस्तै हुन्थ्यो । तर समयसँगै पिङको रौनकता हराउँदै गएको महसुस हुन्छ । अहिले पिङ खेल्न जानुपर्यो भने केही किलोमिटरकै दुरी तय गर्नुपर्ने बाध्यता छ ।
आधुनिकता, बढ्दो सहरीकरणको प्रभाव, युवाहरूको विदेश पलायन र सामाजिक सञ्जालको व्यापक प्रयोगका कारण लिङ्गे पिङ र रोटे पिङको परम्परा ओझेलमा पर्दै गएको देखिन्छ ।
पछिल्लो समय पिङ संस्कृति जोगाउन देशभरका विभिन्न स्थानीय तह, युवा क्लबहरू र स्थानीय समुदाय सक्रिय भइरहेका छन् । यो सकारात्मक कुरा हो । यसले दसैँको मौलिक उल्लासलाई फर्काउन आशा पलाएको छ ।
_3hNb8HWHQZ.jpg)
- चाडपर्वको अभिन्न अङ्ग पिङ
पिङको विगतको महत्त्व सम्झँदा काभ्रेको मन्डनदेउपुर नगरपालिकाका ७७ वर्षीय हरिनारायण पराजुली भावुक हुन्छन्। ‘पहिले-पहिले गाउँमा पिङ हाल्न महिनौँ अगाडिदेखि नै बाबियो काटिन्थ्यो। घाँस काट्न जाँदा सबैले बाबियो पनि दुई मुठा जति काट्ने गरिन्थ्यो। अनि घरको धुरीमा वा गोठको धुरीमा लगेर सुकाइन्थ्यो,’ उनी सुनाउँछन् ।
‘जमरा राख्ने दिन गाउँभरिका युवा मिलेर लट्ठा बनाउने गरिन्थ्यो ।कोही बाबियो भिजाउने, कोही लट्ठा बटार्ने, कोही बाबियो घुमाउँदै बेर्ने। त्यो दिन गाउँका सबै मान्छे भेला हुन्थे,’ उनी अगाडि भन्छन्, ‘बलिया युवाहरू लिङ्गा लिन जङ्गल छिर्थे। रोटेपिङ बनाउन एक हुल पुरुषहरू जङ्गल गएर काठ ल्याउँथे। सबैले त्यो दिन दही, चिउरा खाने गरिन्थ्यो। पिङ हालिसकेपछि पूजा गरेर मात्रै चढ्ने गरिन्थ्यो। टीकाको दिन सबैले भुईँ छोड्ने भन्ने चलन थियो।’
तर अहिले न बाबियो काटिन्छ न युवा गाउँमै छन्। अलिअलि भएका पनि मोबाइल हेरेर मात्रै बस्छन्।

हरिनारायण पराजुलीको यो भोगाइ धेरै नेपाली गाउँहरूको यथार्थ हो। दसैँमा पिङ नहुँदा एउटा ठुलो खालीपन महसुस हुन्थ्यो। पिङ खेल्नु मनोरञ्जन मात्र थिएन, यो त वर्षभरिको थकान मेट्दै, धर्ती छोडेको अनुभवका साथ मनमा आनन्द भर्ने सामूहिक एकता र शारीरिक स्फूर्ति झल्काउने एउटा सांस्कृतिक पर्व नै थियो।
लमजुङको सुन्दरबजारका ८० वर्षीय नन्दबहादुर लुङ्गेली पनि त्यस क्षणको साक्षी हुन् । ‘हाम्रो पालामा दसैँ आउनु महिना दिन अगाडिदेखि नै गाउँघरमा रौनक छाउँथ्यो। बाबियो खोज्ने, लिङ्गा काट्न जङ्गल जाने काममा युवाहरूबिच एक किसिमको प्रतिस्पर्धा नै चल्थ्यो,’ उनी भन्छन्, ‘पिङको लट्ठा बटार्ने दिन त गाउँले भेला भएर भोज जस्तै हुन्थ्यो। घरका बुढापाकाहरूले लट्ठा कसरी बलियो बनाउने भनेर सिकाउँथे, हामी युवाहरू घण्टौँ लगाएर बटार्ने काम गर्थ्यौँ ।‘
पिङ हालिसकेपछि त्यहाँ गाउँका सबै बच्चादेखि बुढासम्म खेल्न जम्मा हुन्थे। विशेष गरी टीकाको दिन त ‘भुईँ छोड्नै पर्छ’ भन्ने मान्यता थियो। ‘एक पटक मात्र भए पनि पिङमा चढेर जमिन छोड्दा वर्षभरि दुःख, कष्टबाट मुक्ति पाइन्छ भन्ने विश्वास थियो,’ गुरुङ सुनाउँछन् । उनले पिङ मच्चाउँदा आउने ‘चाचाहुई, सररर’ आवाज वल्लोगाउँ, पल्लो गाउँसम्म सुनिन्थ्यो ।
_xe29sF7gh5.jpg)
- किन ओझेलमा पर्दै थियो पिङ संस्कृति?
युवापुस्ताको घट्दो रुचि, सामाजिक सञ्जालको बढ्दो प्रयोग, अनलाइन गेम र अन्य मनोरञ्जनका साधनहरूले युवापुस्तालाई परम्परागत खेलबाट टाढा बनाएको देखिन्छ। गाउँघरमा युवाहरूको विदेश पलायनका कारण पिङ बनाउने जनशक्तिको कमी भयो। पहिले जहाँ दर्जनौँ युवाहरू मिलेर पिङ बनाउँथे, अहिले त्यो सङ्ख्या पाउन मुस्किल छ।
बाबियो काट्ने, लट्ठा बटार्ने, लिङ्गा खोज्ने जस्ता काममा लाग्ने शारीरिक श्रमबाट अहिलेको पुस्ता टाढा रहन चाहनु र व्यस्त जीवनशैलीका कारण परम्परागत गतिविधिहरूका लागि समय निकाल्न नसक्नु पनि पिङ संस्कृति हराउँदै जानुको प्रमुख कारण हो।
_8aTcUaP5Wc.jpg)
- पिङ संस्कृति फर्काउने प्रयास
पछिल्लो समय देशभरका विभिन्न स्थानीय तह र स्थानीय युवाहरू सक्रिय रूपमा परम्परागत दसैँको पिङ संस्कृतिलाई जोगाउन लागिपरेका छन्। लिङ्गे पिङ र रोटे पिङलाई दसैँको अभिन्न अङ्गका रूपमा स्थापित गर्न स्थानीय स्तरबाट नै पहल भइरहेको छ।
विभिन्न स्थानीय तहहरूले दसैँ अगाडि नै पिङ निर्माणका लागि बजेट विनियोजन गर्ने, उपयुक्त ठाउँ छनोट गर्ने र स्थानीय बासिन्दालाई परिचालन गर्ने कार्य गरिरहेका छन्।
_zs6LSPrnZA.jpg)
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ ले १९ वटा टोल विकास संस्था, विभिन्न धार्मिक संघसंस्था तथा मठमन्दिरहरूलाई पत्र लेख्दै लिङ्गे पिङ उठाउन अनुरोध गरेको छ। वडा कार्यालयले ‘हाम्रो धर्म, संस्कृति, परम्परा अनि रीतिरिवाजहरू हाम्रा अमूल्य सम्पदा र सम्पत्ति हुन्। यसलाई जोगाउनु, संरक्षण संवर्द्धन गर्नु हाम्रो सबैको जिम्मेवारी हो’ भन्दै दसैँलाई उल्लासमय बनाउन पिङ उठाउन आह्वान गरेको छ।
मकवानपुरकै थाहा नगरपालिकामा स्थानीयहरूले नै लिङ्गे पिङ हालेका छन्। मोरङमा विराटनगरको राजवंशी टोलमा विराट राजवंशी समुदायका युवाहरूले थापेको पिङले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैलाई एकै ठाउँमा ल्याएको छ। स्थानीय अग्रज प्रदीपकुमार विश्वास भन्छन्, ‘बच्चादेखि बुढासम्म सबै रमाएर पिङ खेल्दैछन्।यो युवाहरूको संस्कृति बचाउने प्रशंसनीय कदम हो।’

यस्तै चितवनको राप्ती नगरपालिका–४ मा श्रीलक्ष्मी नारायण युवा समाजले पनि पिङ हालेको छ । सङ्खुवासभाको खाँदबारी युथ क्लबले टुँडिखेलमा निर्माण गरेको लिङ्गे पिङ खेल्न आह्वान नै गरेको छ।पर्साको ठोरीमा पनि ‘पिङ हालिँदै आउनु है ठोरी २ चोक बजारमा’ भन्दै स्थानीय युवाहरूले लिङ्गे पिङ हालेर आह्वान गरेका छन्।गुल्मीको भार्से गाउँमा त स्थानीयको अगुवाइमा रोटे पिङ नै हालिएको छ।
सामुदायिक सहकार्य पनि पिङ संरक्षणको महत्त्वपूर्ण पाटो बनेको छ । गाउँका अग्रजहरूले युवाहरूलाई पिङ बनाउने तरिका सिकाउँछन् भने सबै मिलेर पिङ हाल्नका लागि श्रमदान गरिरहेका छन्। कतिपय गाउँपालिका र नगरपालिकाले स्थानीय युवा क्लब, नगर प्रहरी मार्फत नै पिङहरू निर्माण समेत गरेका छन्।
दसैँको पिङ संस्कृति नेपाली समाजको एउटा महत्त्वपूर्ण पहिचान हो, जसले सामाजिक, सांस्कृतिक र मानवीय मूल्यलाई प्रतिबिम्बित गर्छ । आधुनिकताको वेगमा ओझेलमा पर्दै गएको दसैँको पिङ संस्कृतिलाई स्थानीय तह, युवा र समुदायको यो सामूहिक प्रयासले जीवन्त राख्न मद्दत गर्ने विश्वास लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण