डाक्टर बाबुछोरा : विरासतले पेसा, संयोगले एकै कार्यालय
सारांश
- डा. झलकराज गौतमको चिकित्सा पेसामा छोरा डा. अभियान गौतमको प्रवेश रोचक छ।
- डा. झलक र डा. अभियान दुवै बाल स्वास्थ्य तथा खोप शाखाको प्रमुख भएका थिए।
- डा. अभियान गौतमले कोभिड-१९ महामारीको बेला खोप व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निभाए।
काठमाडौँ । ‘छोराछोरीले बुवाआमाको विरासत धान्नुपर्छ’ भन्ने नेपाली समाजको मान्यता नै हो । सीप, पेसा, व्यवसाय, कलालगायत क्षेत्रमा बुवाआमाको विरासत धानेका सन्तति थुप्रै पाइन्छन् । चिकित्सा पेसामा डा. झलकराज गौतमको पदचाप पछ्याउँदै उनका छोरा डा. अभियान गौतमको प्रवेश कम्ता रोचक छैन ।
एउटै पेसामा त आए नै, डा. झलक र डा. अभियानको संयोग यतिसम्म छ कि बुवाले नेतृत्व गरेको शाखामा पछि छोरा पनि प्रमुख भएर आए । यस्तो संयोग मिलेको हो- बाल स्वास्थ्य तथा खोप शाखा प्रमुखमा ।
२०१९ सालमा पर्वतको राम्जा देउरालीको सामान्य किसान परिवारमा झलक शर्मा गौतम जन्मिएका हुन् । १२ जनाको संयुक्त परिवारमा हजुरबुबाको जेठो नातिका रूपमा उनले संसार देखे । तर उनको जन्म सामान्य थिएन । सात महिना मात्रै पुग्दा नपुग्दै उनी जन्मिए अहिलेको मेडिकल भाषामा भन्ने हो भने प्रि–म्याच्योर । जन्मने बित्तिकै न रुनु, न कराउनु भएपछि उनकी आमालाई त उनी जीवित छैनन् कि भन्ने लागेको थियो । धेरै पटक जिउँदो छैन भन्दै पन्छाउन खोज्दा उनको बालविधुवा फुपूको अथक स्याहारसुसारले उनको जीवन बच्यो ।

यसरी शारीरिक रूपमा दुब्लो–पातलो र कमजोर भएर उनको बाल्यकाल सुरु भयो । तर शारीरिक कमजोरीले उनको पढ्ने उत्साहलाई रोक्न सकेन । घरछेउकै विद्यालयमा काका र छिमेकीहरूको पछि लागेर उनी पढ्न गए । कक्षा १, २ र ३ मा सधैँ प्रथम हुने उनी शिक्षकहरूका प्रिय बने । ‘होल फस्ट’ भनेर चिनिने कक्षा २ र ३ मा उनले विद्यालयभरिकै सबैभन्दा राम्रो अङ्क ल्याए । नयाँ शिक्षा नीति लागु भएपछि प्राथमिक विद्यालयमा पढ्न डेढ घण्टाको भीर र जङ्गलको बाटो हिँड्नुपर्ने भयो ।
कमजोर शरीर भए पनि काका र दाजुहरूको साथले उनले त्यो यात्रा पार गरे । यद्यपि टाढाको बाटोले गर्दा उनको पढाइ केही खस्कियो र कक्षा ५ देखि १० सम्म उनी सधैँभरि चौथो स्थानमा मात्रै रहे । एसएलसीमा भने उनी दोस्रो भए ।
एसएलसी पास गरेपछि बुवाआमाको इच्छा शिक्षक बनाउने थियो, झलकको मनमा भने डाक्टर बन्ने मोह थियो । गाउँमा अहेबलाई डाक्टर भनी हेडसरले समेत सम्मान दिएको देख्दा उनी प्रभावित भएका थिए । आईएससी पढ्न पोखरा गए, तर बिचमै छाडेर कसैको सल्लाहविना अहेब (सीएमए) पढ्न तानसेन पुगे । त्यहाँ पुगेपछि मात्रै उनले थाहा पाए, त्यो त एक वर्षको सामान्य तालिम मात्रै रहेछ डाक्टर बन्ने बाटो होइन रहेछ । एक महिनामै पढाइ छाडेर घर फर्किँदा आमाको आँसुले उनलाई फेरि तानसेनै पुर्यायो ।
उनले भने, ‘पहिलो पटक घर छाडेर पोखरा पढ्न जाँदा आमा रुनुभयो, दोस्रो पटक पढाइ छाडेर घर आउँदा रुनुभयो ।’
यसपटक उनले राम्रोसँग पढेर पास गरे ।
२०३९ सालमा पर्वतको नवस्थापित शंकर पोखरी हेल्थ पोस्टमा नियुक्त भए पनि पूर्वाधार अभाव र एक्लोपनका कारण उनले त्यो जागिरबाट सन्तुष्टि पाएनन् । कुस्मा हेल्थ पोस्टमा सरुवा भएपछि पनि पढाइप्रतिको तिर्सनाले उनलाई जागिर छाडेर काठमाडौँमा हेल्थ असिस्टेन्टको सर्टिफिकेट तह पढ्न आए । यही क्रममा उनी विद्यार्थी राजनीतिमा होमिए । उनी अखिलका काठमाडौँ जिल्ला अध्यक्ष र बागमती क्षेत्रको सचिवसम्म भए ।
२०४३ सालमा हेल्थ असिस्टेन्टमा लोकसेवा आयोगबाट स्थायीमा नाम निकालिसकेपछि पनि पार्टी र संगठनको आग्रहमा उनले त्यो जागिर पनि त्यागे । पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेर काठमाडौँको काँठ क्षेत्रमा सक्रिय भए । उनको यो दोस्रो पटकको जागिर त्याग्ने अनुभव थियो, जसले उनको जीवनलाई थप जटिल र रोचक बनायो ।
पञ्चायत ढलेर बहुदल आएपछि राजनीतिक नेतृत्वको दोहोरो चरित्र र भ्रमपूर्ण व्यवहार देखेर उनी राजनीतिबाट केही हदसम्म विचलित भए । २०४७ सालमा आएर बल्ल उनले पुनः अध्ययनलाई प्राथमिकता दिँदै चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जमा स्नातक तहमा भर्ना भएर डाक्टर बन्ने सपना पूरा गरे ।
विद्यार्थीकालमा नौ महिना जेल जीवन बिताएका र प्रहरीको यातनाका कारण एउटा कानको श्रवणशक्ति गुमाएका झलकले जेलमै बसेर पनि अध्ययनलाई निरन्तरता दिए । उनले त्यसबेला रसियामा एमडी पढ्न छात्रवृत्ति पाएका थिए, तर कम्युनिस्ट पार्टीको ‘सामाजिक साम्राज्यवादी’ देशमा जानुहुँदैन भन्ने मन्द विष उनको दिमागमा फैलिएको थियो । जसकारण उनले त्यो अवसर पनि त्यागेका थिए, जसलाई उनी जीवनको ठुलो भूल मान्छन् ।
२०५३ सालमा उनी डाक्टर बने र तेस्रो पटक जागिरमा फर्किए । यो द्वन्द्वकालको समय थियो, जब धेरै चिकित्सक द्वन्द्वग्रस्त क्षेत्रमा हत्तपत्त जान चाहँदैनथे । तर झलक आफू जहाँ भए पनि जनतासँग रहेर काम गर्दा अप्ठ्यारो पर्दैन भन्दै सल्यान, रुकुम, जाजरकोट, ओखलढुङ्गा, दोलखाका द्वन्द्व प्रभावित क्षेत्रमा कम गरे । द्वन्द्वकालमा उनी दोहोरो मारमा परेका थिए । राज्यले माओवादीसँग मिलेको आरोप लगाउँथ्यो भने माओवादीले राज्यको गुप्तचरी गरेको आशङ्का गर्थ्यो । यस समयमा दोलखाको तामाकोशीमा एम्बुस विस्फोटबाट उनी केही सेकेन्डको अन्तरले उनी बाँचेका थिए ।
यसैबिच उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तर पनि पूरा गरे । २०७२ सालतिर उनी स्वास्थ्य सेवा विभागमा सरुवा भई परिवार कल्याण महाशाखा र पछि बाल स्वास्थ्य तथा खोप शाखाको प्रमुख बने ।
उनको जागिरे जीवनको सबैभन्दा सन्तुष्टिको क्षण कोभिड–१९ महामारीका बेला आयो । बाल स्वास्थ्य तथा खोप शाखाको प्रमुखको हैसियतले खोप व्यवस्थापनमा उनको भूमिका महत्त्वपूर्ण रह्यो । जब पहिलोपटक खोप आयो २४ घण्टाभित्र तेह्रथुमदेखि दार्चुला, झापादेखि कञ्चनपुरसम्म खोप पुर्याएर व्यवस्थित ढङ्गले वितरण गराए । १८ घण्टासम्म काममा खट्ने, रिपोर्टिङ गर्ने र योजना बनाउने काममा उनी प्रत्यक्ष संलग्न रहे । कोभिडले नजिकैका आफन्त र साथी गुमाउँदा पनि उनले कामलाई प्राथमिकता दिए ।
द्वन्द्वकालमा गरिएका सेवा र कोभिड महामारीको व्यवस्थापन प्रशासनिक अनुभवका क्रममा प्रशासकहरूको दोहोरो चरित्र र अवसरवाद देखेका उनी प्राविधिकभन्दा प्रशासकहरूमा इमानदारिताको कमी महसुस गर्छन् ।
डा. झलक शर्मा गौतम सेवा सुरु गरेको १६ वर्षपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख बने ।

- सपनाका आधारशिला
डा. झलकका छोरा हुन् डा. अभियान गौतम । पर्वतमा बाल्यकाल बिताएका अभियानले काठमाडौँ आएपछि आमासँगै अर्निमा उच्च माध्यमिक विद्यालय हाल अर्निमा शैक्षिक प्रतिष्ठानमा अध्ययन गर्ने अवसर पाए । एसएलसीमा विशिष्ट श्रेणी हासिल गरेका उनी सानैदेखि रचनात्मक क्रियाकलापमा सक्रिय थिए । अभिनय, मिमिक्री र नाटकमा रुचि राख्ने अभियान स्थानीय युथ क्लबमार्फत सामाजिक सेवामा सरिक हुन्थे । केही न केही त गरौँ न भन्ने उनको सानो उमेरको यही भावना भविष्यमा ठुलो बन्यो ।
प्रसादी एकेडेमी ललितपुरबाट विज्ञान विषयमा (बायोलोजी) प्लस टु गरेपछि उनी एमबीबीएस अध्ययनमा जुटे । पढाइका साथै अतिरिक्त क्रियाकलापमा सक्रिय हुने अभियान विद्यार्थी कल्याण समितिको सहसचिव र पछि अध्यक्ष समेत बने । एमबीबीएसमा प्रथम श्रेणीमा उत्तीर्ण उनी आफूलाई औसत विद्यार्थी मान्छन्, तर उनको निरन्तर प्रयास र लक्ष्य प्राप्त गर्ने लगनशीलताले उनलाई कहिल्यै असफल हुन दिएन ।
एमबीबीएस सकिए लगत्तै आएको विनाशकारी भूकम्पले अभियानको जीवनमा नयाँ मोड ल्यायो । विश्व स्वास्थ्य सङ्गठनमा खोपसम्बन्धी रोगहरूको खोज र सर्भिलेन्सका लागि दोलखा खटिने अवसर पाए । त्यसपछि एमपीएच मास्टर्स इन पब्लिक हेल्थ अध्ययनका लागि बंगलादेश पुगे । कोरियाबाट आएको छात्रवृत्तिको अवसरलाई समेत छाडेर उनले जनस्वास्थ्यलाई आफ्नो मुख्य बाटो बनाए । यस निर्णयमा उनका बुवा डा. झलक शर्मा गौतमको छाप छ ।
बुवाको अध्ययनशील स्वभाव, विज्ञहरूसँग सल्लाह लिने र दुर्गम जिल्लाहरूमा द्वन्द्वकालमा समेत बसेर गरेको नि:स्वार्थ सेवाले समाजमा पारेको सकारात्मक प्रभावले अभियान प्रेरित भए ।
उनले बुझे, एकजना बिरामीको उपचार गर्नुभन्दा नीतिगत तहमा काम गरेर धेरै मानिसको स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । यो बुझाइले उनलाई क्लिनिकल मेडिसिनबाट जनस्वास्थ्यमा आफ्नो करिअर स्विच गर्न उत्प्रेरित गर्यो , यद्यपि उनका केही साथीले सुरुमा यस निर्णयलाई गलत भन्नुका साथै उडाएका पनि थिए । हाल तिनै साथी उनलाई ‘तैंले राम्रो गरिस्’ भन्छन् ।
- कोभिड–१९ महामारी र सरकारी सेवामा प्रवेश
एमपीएच सकेर पुनः विश्व स्वास्थ्य संगठन फर्किएपछि डा. अभियानले झण्डै चार वर्ष खोप क्षेत्रमै काम गरे । कोभिड–१९ महामारीको अवस्थामा उनी नेपाल सरकार र डब्ल्यूएचओबिच समन्वयमा काम गरे । जहाँ सरकारका तर्फबाट महामारी कालमा कोभिड–१९ खोप सम्बन्धी उनले आफ्ना बुवासँगै काम गर्ने दुर्लभ अवसर पाए । दिनरात नभनी खोप ल्याउन र अभियान सञ्चालन गर्न गरिएको अथक प्रयास उनी सम्झिँदै भन्छन्, ‘बिहान आठ बजे घरबाट हिँडेर राति दश बजे फर्किन्थ्यौँ, अनि बिहान चार बजे उठेर पढ्थ्यौँ ।’
स्कुले जीवनमा आमासँगै भए भने पढाइ सकेर बुवासँगै काम सुरु गर्न पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छन् । ‘सानोमा धेरै आमासँग मात्रै भएँ, बाबासँग ९–१० महिनामा मात्रै भेट हुन्थ्यो । काम गर्ने बेलामा बाबासँगै सहकार्य गरी सिक्दै सिकाउँदै अघि बढ्न पाए । आफूलाई भाग्यमानी ठान्छु ।‘
अभियानले अध्ययनका लागि विदेश जाने सोच नबनाएका होइनन् । आफू एक्लो सन्तान अनि परिवारको इच्छा यही केही गरोस् भन्ने भएकाले अध्ययनका लागि पाएको छात्रवृत्ति समेत उनले त्यागेका थिए । ‘हरेक वर्ष दसैँमा टीका लगाइदिँदा हजुरबुबा-हजुरआमाले हामीलाई छाडेर विदेश नगएस् भनेर आशीर्वाद दिनुहुन्थ्यो,’ उनी भन्छन् ।
२०७८ सालमा लोकसेवा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेका डा. अभियान सुरुमा सामाजिक स्वास्थ्य सुरक्षा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा काम गरे । त्यसपछि उनका बुवा अवकाश भएपछि गत दुई वर्षदेखि खोप शाखा प्रमुखको रूपमा कार्यरत डा. अभियानको नेतृत्वमा नेपालको खोप कार्यक्रमले थुप्रै ऐतिहासिक सफलता हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण