शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : असोजमा झरीको पूर्वनुमानसँगै अलर्ट, रातिमा यात्रा नगर्न सुझाव

शुक्रबार, १७ असोज २०८२, २२ : ०६
शुक्रबार, १७ असोज २०८२

सारांश

  • मौसम विभागले भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
  • काठमाडौं प्रशासनले भारी वर्षाका कारण लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।
  • कुलमान घिसिङले उज्यालो नेपाल पार्टीसँग आफ्नो कुनै आबद्धता नरहेको प्रस्ट पारेका छन्।

आज मिति २०८२ साल असोज महिनाको १७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. असोजको झरी

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

महाशाखाले आज साँझको मौसमी बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

२. रातिमा यात्रा नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ । 

प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न तथा काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभवहरुलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

३. कुलमानको प्रष्टीकरण

उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा आफूलाई जोडेर प्रकाशन भएका सूचना तथा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

शुक्रबार आफ्नो फेसबुक पेज मार्फत उनले उक्त पार्टीसँग आफ्नो कुनै आबद्धता नरहेको पनि स्पष्ट परेका छन् ।

४. टीका लगाउने क्रम जारी

बडादसैँको दोस्रो दिन आज  काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी रह्यो । 

देशका विभिन्न भागमा अवस्थित सहरमा निजी सवारी साधनमा टीका थाप्न हिँडेका सबै वयका मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ भने सार्वजनिक यातायातका साधन पनि भरिभारउ छन् ।

५. एमाले बैठक

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ र २८ गते काठमाडौँमा बस्दैछ । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालय बैठक बोलाइएको छ ।

६. निषेधाज्ञा

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा दुई समुदायबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

७. आशिकाको जवाफ

सामाजिक अभियन्ता आशिका तामाङले आफूले सङ्कलन गरेको आर्थिक सहयोगको हिसाब माग्ने व्यक्तिहरूलाई कडा जवाफ दिएकी छन्। आफ्नो फेसबुक पोस्टमार्फत उनले आफूलाई सहयोग नगर्नेहरूले नै हिसाब माग्नु ‘छक्क लाग्दो’ भएको भन्दै आक्रोश पोखेकी छन्।

८. गण्डकी प्रदेश

साउन २६ गते गण्डकी प्रदेश मन्त्रिपरिषद्बाट विभिन्न कार्यालय खारेज गर्ने र मर्ज गर्ने निर्णय भयो । उक्त निर्णयले देशभर चर्चा पायो । आर्थिक मितव्ययिताका दृष्टिले प्रदेश सरकारको यो निर्णयलाई धेरैले स्वागत गरे ।

यद्यपि प्रदेश संरचनाप्रति आलोचना रोकिएको छैन । जेनजी प्रदर्शनमा गण्डकीले अन्य प्रदेशको तुलनामा धेरै क्षति व्यहोर्नुर्पयो । तथापि, गण्डकीले प्रशासनिक पुनर्संरचना गरेर पहिले नै राष्ट्रियस्तरको सन्देश प्रवाह गर्न भ्याएको छ ।

९. क्रिकेट

नेपाल क्रिकेट सङ्घ (क्यान)ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । 

संयुक्त अरब इमिरेट्समा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । त्यसैगरी टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए । क्यानले उनलाई कारबाहीस्वरुप वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन गरेको थियो ।

१०. दसैँ विशेष स्टोरी

दसैँको बिदामा पाठकलाई स्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यका साथ रातोपाटीले शुक्रबार विभिन्न स्टोरी छापेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप