शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेन–जी आन्दोलनले ल्याएको उथलपुथल

बुधबार, २२ असोज २०८२, १६ : ५०
बुधबार, २२ असोज २०८२

अप्रत्याशित रूपमा भएको ‘जेन–जी’को आँधीमय आन्दोलनले शक्तिशाली मानिएका र परम्परागत भोट बैङ्क भएका पुराना राजनीतिक पार्टीहरूको आधार मजैले हल्लाइदिएको छ । उसो त पछिल्लो समय दक्षिण एसियाली क्षेत्र नै राजनीतिक रूपमा आन्दोलनमय बनेको छ । अफगानिस्तानको तालिबानी विद्रोह, श्रीलङ्काको राजापाक्षे परिवारवाद विरुद्धको विद्रोह र बङ्गलादेशको युवा विद्यार्थीको विद्रोह हुँदै नेपालमा आइपुग्दा जेन–जी आन्दोलन हुन पुग्यो । पाकिस्तानमा पनि राजनीतिक उतारचढाव भइरहेकै छ । 

अफगानिस्तान, श्रीलङ्का, बङ्गलादेश र पछिल्लो नेपालमा भएको विद्रोहले सत्तालाई घुँडा टेकाइछाडेको छ । नेपालमा जेन–जी (सन् १९९७ देखि २०१२ को बिचमा जन्मेको पुस्ता) लाई राजनीति नबुझेको, आन्दोलन नभोगेको, राष्ट्रप्रेम कम भएको, बढी अवसरको खोजी गर्ने, बढी महत्त्वाकाङ्क्षी, संस्कार संस्कृति भुल्दै गएको जस्ता थुप्रै आरोप लगाउने गरिन्थ्यो । यो विद्रोहले धेरै कुराको जवाफ दिएको छ भने धेरै कुराको नै जवाफ खोजेको छ । यो विद्रोहले हरेक समयको आफ्नो चेत हुन्छ भन्ने कुरा प्रमाणित गरिदिएको छ ।

जेन–जी आन्दोलनको खास वातावरण बनाउने वर्तमान राज्यसत्ता नै हो । संसदीय प्रणाली अनुसार बनेका आजसम्मका कुनै पनि सरकार र सरकारी संयन्त्रले जनताको बदलिँदो परिस्थितिको आकाङ्क्षालाई सम्बोधन गर्न नसक्नु नै विद्रोहको खास कारण हो । कुनै पनि घटनाले उपयुक्त मौकाको प्रतीक्षा गरेको हुन्छ । नेपालमा पनि सडकले आफ्नो ताकत देखाउने उपयुक्त मौका कुरेर बसेको थियो । किसान आन्दोलन, शिक्षक आन्दोलन हुँदै जेन–जी आन्दोलनसम्म आउँदा सडकले आफ्नो ताकत देखाइछाड्यो ।

आजको परिस्थितिका निर्माताहरू मूल रूपमा शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड नेतृत्वमा रहेका पार्टी र सरकार हुन् । दशकौँदेखिको राजनीतिक सिन्डिकेट, पार्टी सत्ता र राज्य सत्ताको दुरुपयोग, राजनीतिक र संवैधानिक निकायदेखि विश्वविद्यालयमा गरेका भागबन्डा, सुरक्षा निकाय र कर्मचारीतन्त्रमा गरिएको राजनीतीकरण, ठुलाठुला अक्षम्य काण्डहरूलाई प्रभावित गर्न खोजिएका प्रयास लगायत थुप्रै कारणले आन्दोलन हुने परिस्थिति निर्माण भएको थियो तर आगो झोस्ने काम भने वर्तमान ओली नेतृत्वको सरकारले गर्न पुग्यो ।

हरेक आन्दोलनको आफ्नो वैचारिक गन्तव्य र नेतृत्व हुन्छ, तर यो आन्दोलनको कुनै नेतृत्व पनि थिएन र गन्तव्य पनि थिएन । यसका सामान्य माग थिए । सरकारले २६ वटा सामाजिक सञ्जालमाथि गरेको प्रतिबन्ध फुकुवा गर्नुपर्ने प्रमुख मुद्दा थियो भने ‘नेपोकिड्स’ र भ्रष्टाचारविरोधी शान्तिपूर्ण प्रदर्शन गर्ने भन्ने मात्र थियो । जसका लागि ‘डिस्कर्ड’को प्रयोग गरेर स्वतःस्फूर्त छलफल चलाइएको थियो । भदौ २३ गते युवाहरू सडकमा निस्के, निषेधित क्षेत्रहरू तोडिए, राज्यको चर्को दमन भयो र १९ जना युवा सडकमै ढालिए । दोस्रो दिनसम्म आउँदा प्रदर्शन उग्र हुन पुग्यो । राज्यको खर्बौं क्षति भयो । नेपालका प्रतिष्ठित व्यापारी, उद्योगपतिहरूको खर्बौंको निजी सम्पत्ति ध्वस्त पारिए । ६ दर्जनभन्दा बढी नागरिक सहिद बने ।

जेन–जी आन्दोलनपछि एउटा वैकल्पिक राजनीतिक शक्तिको उदयको सुनिश्चितता भएको छ । धेरै राजनीतिक वितृष्णाको जगमा उठेको आन्दोलनले पुराना पार्टी र आम जनताको मथिङ्गल हल्लाइदिएको छ ।

अन्त्यमा आन्दोलन उठान गर्दाको माग प्राप्त भयो । त्यसमा माग बाहिरका ठुला प्राप्ति पनि भए । जस्तै : संसद् विघटन, ओली सरकारको बहिर्गमन र अन्तरिम सरकारको गठन ।

आन्दोलन उत्कर्षमा पुग्दै गर्दा सरकार र पुराना राजनीतिक दलहरू यति दबाबमा परिसकेका थिए कि जेन–जीको नेतृत्वमा परिपक्वता पुगेको भए थुप्रै अग्रगामी र रूपान्तरणका आम सहमति बन्न सक्थे । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, निर्वाचन प्रणालीको सुधार, आजसम्मका उच्चपदस्थ राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति छानबिन, स्रोत नखुलेका सम्पत्तिको राष्ट्रियकरण, राजनीतिक भागबन्डाको अन्त्यजस्ता थुप्रै गुणात्मक परिणाम प्राप्त गर्नबाट आन्दोलन चुक्यो । आन्दोलनकारीलाई झुक्याइयो । यी सहमति गरेर जेन–जीकै नेतृत्वमा वा उनीहरूले अगाडि सारेका व्यक्तिको नेतृत्वमा आन्दोलनकारी (जेन–जी), नागरिक अगुवा र अहिलेका संसद्भन्दा बाहिर रहेका शक्तिहरूबिचको अन्तरिम सरकार बन्नुपर्थ्यो, तर त्यो हुन सकेन । सारमा भन्दा तत्काललाई हेर्दा आन्दोलनबाट क्षति बढी र उपलब्धि कम प्राप्त भएको छ ।

पहिलो दिनको आन्दोलन सामान्यतः जेन–जीकै स्वतःस्फूर्त थियो तर दोस्रो दिनमा आउँदा आन्दोलनलाई आफ्ना अनुकूलतामा प्रयोग गर्न सकिन्छ कि भनेर थुप्रै शक्ति लागे । पश्चगमनकारी शक्तिहरूले समेत राजा फर्काउन सकिन्छ कि भनेर प्रयत्न गरे । आन्दोलनको जस लिने र सहानुभूति लिनेमा होडबाजी नै चल्न पुग्यो । सरकारविरुद्ध हुनेहरूले, व्यवस्थाका विरुद्ध हुनेहरूले, सरकार भित्रका पनि गैरसत्तापक्ष भएकाहरूले आन्दोलनलाई समर्थन गरेको पाइन्थ्यो । प्रधानमन्त्री ओलीले नै आफ्ना प्रहरीको गोली लागेर प्रदर्शनकारी मारिएको होइन भनेका छन् । यसले पनि आन्दोलनमा केही रहस्यमय घटना भयो कि भन्ने देखिन्छ । आन्दोलनमा केही बाह्य प्रभाव पनि परेको देखिन्छ ।

एक पवित्र भावनाले नयाँ पुस्ताका युवाले स्वतःस्फूर्त गरेको आन्दोलन थियो यो । राष्ट्रपति र नेपाली सेनासँगको वार्तासम्म आउँदा, अन्तरिम सरकार निर्माणसम्म आइपुग्दा जेन–जी आन्दोलनको अख्तियारी ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाको हातमा पुगेको जस्तो देखियो । जसलाई स्वतन्त्र तिब्बत आन्दोलनसँग सम्बन्धित विद्यार्थी सङ्गठन र केही पश्चिमाले आर्थिक लगानी गर्ने गरेको भनिएको छ । यो संस्थाका नेतृत्वकर्ता नै अघिल्लो दिनसम्म आफूहरू आन्दोलनको आयोजक नभएको बरु स्वयंसेवक बनेर पानी वितरण गरेको भन्दै थिए ।

यो आन्दोलनमा केही रहस्यमय परिदृश्य देखिए । छानीछानी केही राजनीतिक पार्टीका कार्यालय र नेताको घरमा आक्रमण गर्नु, व्यापारी र उद्योगपतिमाथि निशाना केन्द्रित गर्नु, देशका सर्वोच्च निकायहरू (सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन आदि) कार्यालयमाथि आक्रमण हुनु । जुन कुरा दुई विरोधी मुलुकहरू पूर्ण रूपमा युद्धमा रहेको बेला मात्र सम्भव हुन्छ ।

त्यस्तै राजावादी दुर्गा प्रसाईंको सेनासँग वार्तामा बस्ने हैसियत निर्माण गर्नु, सेनाले गैरसरकारी संस्था ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङलाई वार्तामा राख्नु, बालेनले आन्दोलनको समयमा आन्दोलनकारीलाई सेनासँग वार्ता गर्नु भन्नु तर पछिल्लो विकसित घटनाक्रमका बारेमा मुख नखोल्नु, आन्दोलनमा केही मुकुण्डोधारीहरू रहेको सीसीटीभी फुटेजमा देखिनु, प्रजातन्त्र प्राप्तिपछिको इतिहासमा दलाई लामाले पहिलोपटक अन्तरिम सरकारलाई बधाई दिनुजस्ता केही अनौठा परिदृश्य यो अवधिमा देखिएका छन् । समयक्रमसँगै अरू रहस्यहरूको पनि उद्घाटन हुँदै जाला ।

जेन–जी आन्दोलनले कसैलाई सताएको छ भने सबैभन्दा बढी पुराना र ठुला भनिएका राजनीतिक पार्टी र नेतालाई सताएको छ । उनीहरूको सङ्घर्षको इतिहास, राजनीतिक संस्कार, प्रवृत्ति, साङ्गठनिक शक्ति र संरचनालाई हल्लाइदिएको छ । अघिल्लो दिनसम्म सरकारमा रहेकाहरूलाई, प्रमुख राजनीतिक दल र शीर्ष भनिएका नेताहरूलाई सत्ताविहीन मात्र होइन निवासविहीन बनाइदिएका छन् र सडकमा पछारिदिएका छन् । आज उनीहरू रक्षात्मक अवस्थामा पुगेका छन् ।

युवा आन्दोलनले थला पारिदिएकाहरू कोही तङ्ग्रिँदै छन्, कोही बिउँझिँदै छन् । जेन–जी आन्दोलनले राजनीतिक पार्टीहरूमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको बहसलाई जबर्जस्त अगाडि ल्याइदिएको छ । सत्तामा प्रभाव जमाएको एउटा पुरानो पुस्ताको दुःखद राजनीतिक बिदाइ हुने सम्भावना पनि बलियो बनेर गएको छ ।

राज्य र नेतृत्वलाई दुई दिन पनि सुरक्षा दिन सुरक्षा निकायले सकेन । आन्दोलनको पूर्वानुमान र तयारीमा सुरक्षा निकाय चुकेको देखियो । सरकारका सबै सुरक्षा संयन्त्र सूचना र अनुसन्धानमा चुक्नाले नै राज्यले यत्रो जनधनको क्षति बेहोर्नुपर्‍यो । आजसम्मको राजनीतिक आन्दोलन र सङ्घर्षमा नभएको क्षति यो आन्दोलनमा भएको छ । सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जोगाउन नसक्नु भनेको राज्यको सुरक्षा संयन्त्र पूर्ण रूपमा असफल हुनु हो । अन्त्यसम्म आउँदा नेपाली सेनाले शङ्कासहित जनताको विश्वास जितेको छ भने अरू सुरक्षा निकायले जनताको विश्वास जित्नुपर्ने देखिन्छ ।

विश्व इतिहासमा सायदै सीमित घण्टामा एउटा असङ्गठित शक्तिसँग, विनाहातहतियार सडकमा उत्रिएको जनतासँग सत्ताले घुँडा टेकेको पहिलो नै यही घटना हो । सरकारसँग आक्रोशित नयाँ पुस्ताका युवा जो राजनीतिक खेलभन्दा बाहिर थिए, उनीहरूले नै एउटा अहङ्कारी शासकलाई सडकबाटै सत्ताच्युत गरिदिए । आफू नभए देशै डुब्छ भन्नेहरूलाई जोकर साबित गरिदिए । जोखना हेरेर प्रधानमन्त्री बन्ने पालो कुरेकाहरूलाई जिल्याइदिए । 

देशैभरि आगो सल्के जसरी आन्दोलन सल्केपछि बहालवाला मन्त्रीमण्डल र शीर्षस्थ नेताहरू नै सुरक्षाका निम्ति भन्दै सेनाको ब्यारेकमा कैद हुन पुगे । १० दिने रसियन बोल्सेभिक क्रान्तिले विश्व इतिहास बनाएजस्तै नेपालमा पनि ३२ घण्टामा जेन–जी आन्दोलनले एउटा इतिहास बनाएको छ । जसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि राम्रै स्थान दिएको पाइयो ।

जेन–जी आन्दोलनपछि एउटा वैकल्पिक राजनीतिक शक्तिको उदयको सुनिश्चितता भएको छ । धेरै राजनीतिक वितृष्णाको जगमा उठेको आन्दोलनले पुराना पार्टी र आम जनताको मथिङ्गल हल्लाइदिएको छ । यो असङ्गठित आन्दोलनलाई कुनै न कुनै प्रकारको साङ्गठनिक स्वरूप दिन पनि नयाँ राजनीतिक शक्तिको निर्माण हुनुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ । बलियो जनमत भएको दाबी गर्ने र नयाँ भनिने राजनीतिक दलहरूले एकपटक बलियो चुनौतीको सामना गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।

  • अब कता जाने ?

जेन–जी आन्दोलनले एउटा अवसर हाम्रासामु ल्याइदिएको छ । संसद् विघटन र गैरदलीय अन्तरिम सरकार बनेसँगै केही संवैधानिक, कानुनी रिक्तता र राजनीतिक सङ्क्रमणकाल देखिएको छ, यो समयमा जुन स्वाभाविक पनि हुन्छ तर आन्दोलनको म्यान्डेट अग्रगामी नै देखिएको छ । 

शासकीय स्वरूप, निर्वाचन प्रणाली, सामाजिक रूपान्तरणको मुद्दाको उठान र राजनीतिक कुसंस्कारमाथिको हमलालाई सकारात्मक नै मान्नुपर्छ । अब चाहेर पनि देश पछाडि फर्कन सक्ने अवस्था छैन । तसर्थ अब राजनीतिक पार्टीहरू सच्चिएर निर्वाचनमा गएर प्रतिस्पर्धा गर्नुको विकल्प छैन । विचार र मुद्दा मिल्नेहरूको तीव्र एकता र नमिल्नेहरू ध्रुवीकरण भएर निर्वाचनमा स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सके नै वर्तमान सङ्क्रमणकालको अन्त्य छिटो हुनेछ र देश नयाँ कोर्समा अगाडि जानेछ ।

जेन–जी आन्दोलनको बलशाली पक्ष भनेको परम्परागत राजनीतिक शक्तिहरूमाथि नयाँ पुस्ताको हस्तक्षेप हो । नौजवानले सङ्घर्ष र बलिदानका लागि आफूलाई तयार गर्नु र देशको जिम्मा लिन तयार भएको सङ्केत गर्नुलाई नेपाली राजनीतिका लागि सुखद कुरा मान्नुपर्छ ।

(गुरुङ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काजी गुरुङ
काजी गुरुङ
लेखकबाट थप