अस्मिता विष्टका तीन कविता
१) रच्नु छ फेरि एउटा इतिहास
यही धर्तीमा
यही देशको माटोमा
क्रान्तिमा उदिप्त मुहारहरू देखिन्थे
जो सोच्ने गर्थे
मानिस मानिसजस्तै भएर बाँच्न पाउनुपर्छ
सङ्घर्षमा ज्योतिर्गमय मुहारहरू
भर्थे उडान ध्वंस र निर्माणको
सजाएर सपना मानव उन्मुक्तिको
गरेर निर्माण समानान्तर आकाशको
गराउँथे वर्षा विचारहरूको
खडेरीमा ओइलाइगएको शासकको सोचमा
टाँग्थे गगनमा उन्मुक्तिका ताराहरू
झलमल पार्दै अँध्यारा गाउँबस्तीहरू ।
सङ्ग्राममा तेजिला मुहारहरू
जडताको चट्टानमा हानिरहन्थे निरन्तर
परिवर्तनको छिनो र हथौडा
बनाउँथे मूर्ति स्वतन्त्रताको र स्थापित गर्थे
निरङ्कुश शासकको प्राङ्गणमा
बालिरहन्थे प्रत्येक गल्लीहरूमा
अनवरत चेतनाको मसाल
ब्यँुताउँथे भर्भराउँदो भुङ्ग्रो
खरानी बनिसकेको अँगेनाबाट
सल्काउँदै जान्थे
क्रान्तिको पुल्ठो हातहातमा ।
गएपछि ती मुहारहरू
सुकिगयो क्रान्तिको बीज
अकर्मण्यताको खडेरीमा
हुर्कनै नपाई कठाङ्ग्रिए विप्लवी बिरुवा
स्वार्थको तुसारोमा
ती मुहारहरूको अनुपस्थितिमा
यो बेग्लिएको घडीमा
उब्जिँदै छन् प्रश्नहरू
मानिस भएर बाँच्न चाहनेहरूका मनभरि
केले निल्दै छ हिजोआज सचेत टाउकाहरूलाई ?
किन धिमा भएको छ क्रान्तिको ज्वाला ?
कुन दूषित हावाले खियाउँदै छ स्वतन्त्रताको चट्टानी विश्वास ?
केले छेक्दै छ चेतनाको संवाहक ?
कसले बोकिल्यायो विध्वंसको बादल ?
कसले बनायो मानिसको हृदयलाई मरुभूमि ?
कसले छर्यो विवेक फल्ने मस्तिष्कमा विनाशको बिउ ?
कसले पार्दै छ प्वाल अग्रजले स्थापित गरेको मूल्यमा ?
र बनाउँदै छ तिनलाई खोटा सिक्का ?
सिकाउँदै छन् प्रश्नले कि
सिकाउनु छ अब
मानिस बन्न बिर्सिसकेकालाई मानिस बन्न
लखेट्नु छ
अन्धकारको खेती गर्न पल्केकाहरूलाई
जोगाउनु छ
ब्ल्याकहोलमा गीतहरू
जगाउनु
जगाउनु छ उज्यालोको बाली
मुक्त गर्नु छ जन्जिरबाट
बन्धनमै रमाउन थालेकाहरूलाई
तोड्नु छ
उन्मुक्तिको घनले बेथितिको पर्खाल
मिल्काउनु छ
काटेर चेतनाको कैँचीले विसङ्गतिको क्यान्सर
सल्काउनु छ
इन्कलाबको आगो
रच्नु छ फेरि एउटा विप्लवी इतिहास ।
००
२) बदमास झरी
सुन्दा सुन्दा
धरतीको उत्पीडनको कथा
हुँदा हुँदा
उसको उच्छवासको साक्षी
जब छाडे अडिन
बादल बनी
जमिराखेका आँसु
आँखामा आकाशका
झरे ती झरी बनेर ।
बदलाको उत्तेजनामा/रिसको आवेगमा
खस्यो झरी
घरको धुरी र बलेसीबाट
हिँड्यो झरी
लिएर बतासलाई साथमा
मात्तिँदै वायुपङ्खी घोडाझैँ हिनहिनाउँदै
बर्साइरह्यो
गाउँ बस्तीका छातीमा आफ्नो लय
पछार्दै अबोध किसानका झुप्रा
सोत्तर पार्दै खेत खलियान ।
पिउँदै हिँड्यो अलच्छिना झरी
किसानको रगत र पसिना
निल्दै हिँड्यो सिङ्गै पहाड
असत्ती झरी
मृत्युको ताण्डव मच्चाएर
बुर्बुर्ती खसाल्दै तिनमा टाँसिएका जीवन
जसरी खस्छन् मृत देहबाट जुम्रा ।
निभाएर निमुखाकै घरको दियो
बगाएर गरिबकै जीवनबाट खुसी
हिँड्यो पापी झरी
दिएर आफ्नो निर्दयिताको सबुत
छोड्दै छोड्दै
मानिसको जीवनमा
लासझैँ अत्यासलाग्दो चिसोपन
कुल्चिँदै कुल्चिँदै
बदलाको उन्मादमा
फक्रिनै नपाएको जीवन
निर्मम साहुको आदेशपालक गुन्डाझैँ
हुल बाँधेर आयो निर्मम झरी
हेर्दाहेर्दै सोत्तर पारेर गयो
निर्दोष सपनाहरू ।
००
३) आमाहरू निरीह हुँदैनन्
स–साना बालिकाहरू
जब ती आमा बन्नेछन्
खस्रा हुनेछैनन् तिनका हत्केला
रातदिनको भात–भान्छा गर्दा गर्दा
पटपटी फुटेका हुनेछैनन् तिनका कुर्कुच्चा
हुर्कंदै गरेका यिनले
समाए दह्रो गरी कलम र लेखे प्रस्ट बुझिने अक्षरमा
‘निलो प्लास्टिक कोटेड’ गाता लगाएको नोटबुकमा
न्युटनको ल र ‘साइन–कस’को फर्मुला
बाबाले मह घोलेर ल्याइदिएको दुध पिउँदै
कण्ठ पारे डार्बिनको ‘स्ट्रगल अफ एक्जिस्टेन्स थ्यौरी’
र एडम स्मिथको अर्थशास्त्रको सिद्धान्त
हिँउदको चिसो लामो रातमा
लिएर न्यानो आमाको काखको स्पर्श
पढे यिनले इतिहास र दर्शनका ठेली
थाहा पाए
अरुले लेखिदिँदैनन्
आफैँले लेख्ने हो आफ्नो भाग्य–भविता
रच्ने हो आफैँ आफ्नो इतिहास
थाहा पाए
अज्ञानताको खेतमा नै फस्टाउँछ दमनको बाली ।
आफैँ आमा बनेपछि यिनीहरू
आफ्नै कर्मको नङ पालिस लगाइएको
नरम र खिरिला औँलाहरूले
थिचिरहन्छन् कम्प्युटरको किबोर्ड
कन्डक्ट गर्छन् ठुल्ठुला मिटिङ
फोनबाटै बिजनेस डिल गर्छन्
‘द भेजिटेरियन’को महिला मुद्दाबारे बहस गर्छन्
युट्युबको मोस्ट ट्रेन्डिङ भिडियोको चर्चा गर्छन्
बाली ट्रिप र एबीसी ट्रेकिङको प्लान गर्छन्
आफ्ना छोराछोरीसँग इयरफोन सेयर गर्दै
स्वप्न सुमनको गीत सुन्छन्–
‘कसरी पोखुँ तिमीलाई
मेरा मनमा लुकेका कुरा छन्
जति टाढा हुन खोज्छु उति माया बढ्दै जान्छ झन्
खै त तिमीले बुझेको तिमीले नै मुटु चोरेको ?
अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको ।’
चाहन्छन् यी आमाहरू
आफ्नै हातले कविता लेख्न
आमाहरू निरीह मात्र हुँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण