शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजीको कसरत

सरकारले खोज्यो जेनजी मन्त्री, तर भीडमा कतै भेटेन

मन्त्री बन्न ८० भन्दा बढी सीभी प्रधानमन्त्री कार्यालयमा !
आइतबार, २६ असोज २०८२, २१ : १६
आइतबार, २६ असोज २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार जेनजी समुदायलाई सरकारमा सहभागी गराउन तयार छ, तर कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागेको छैन।
  • जेनजी आन्दोलनका विभिन्न समूहहरूबीच मन्त्री पदका लागि आन्तरिक विवाद देखिएको छ, र उनीहरूले आ-आफ्ना उम्मेदवारहरू अघि सारेका छन्।
  • सहिद परिवारले सरकारमा आफ्नो प्रतिनिधित्व खोज्दै श्रम, खानेपानी र युवा तथा खेलकुद मन्त्रालयमा सहभागिताको माग गरेका छन्।

काठमाडौँ । यतिबेला सुशीला कार्की नेतृत्वको सरकार जेनजीहरूलाई पनि सरकारमा सहभागी गराउने तयारीमा छ । जेनजी आन्दोलनकै जगमा बनेकाे सरकार उनीहरूलाई नै छाडेर जान पनि चाहँदैन, तर प्रधानमन्त्री कार्कीले कसलाई मन्त्री बनाउने भन्ने आधिकारिक रूपमा जेनजी अगुवाहरूसँग नाम भने मागेकी छैनन् । 

यद्यपि अनौपचारिक रूपमा जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको तर्फबाट एक जना र जेनजी पुस्ताबाट एक जना सरकारमा सहभागी गराउने उनले बताएकी थिइन् । र उनको यस भनाइपछि जेनजीका विभिन्न समूहहरूले आ-आफ्नै ढंगले तयारी गर्न थालेका छन् । 

सम्भवतः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय जेनजी पुस्तालाई मन्त्री दिने प्रधानमन्त्री कार्कीको तयारी छ । तर जेनजीहरूले नाम टुंग्याउन सकेका छैनन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार जेनजीहरू धेरै हुँदा सबैको चित्त बुझाउन नसक्ने अवस्था छ । ‘अहिले जो पनि जेनजी भन्दै आउँछन्, सरकारलाई सफल बनाउने भन्दा पनि आफ्ना मागहरू धेरै राख्ने भए, जेनजीलाई मन्त्री बनाउन सरकार पोजेटिभ छ, तर मान्छे यकिन भएको छैन,’ प्रधानमन्त्री निकट स्रोतले रातोपाटीसँग भन्यो । 

जेनजी अगुवाहरू नै अन्योलमा

आन्दोलनपछि जेनजीका विभिन्न समूहहरू अस्तित्वमा देखिएका छन् । सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’को समूह, रक्षा बम, युजन राजभण्डारी लगायतको प्रधानसेनापतिसँग कुरा गर्ने टोली, आन्दोलन आह्वान गरेर भाइरल भएका मिराज ढुंगानासहितको टोली, प्रवेश दाहालसहित केही समूह चर्चामा छन् । 

त्यस्तै आकृति घिमिरे, मोनिकालगायत अभियन्ता सदस्यहरू भएको जेनजी टोली पनि यतिबेला निकै सक्रिय बनेको छ । अर्थात् देशभरका ३९ जिल्लाका प्रतिनिधित्व भएको १२ वटा विभिन्न समूहको ‘जेनजी मुभमेन्ट अलायन्स’ अहिले मुख्य हुन् । 

तर यी सबै जेनजी समूह मिल्दा पनि सरकारमा कसलाई सहभागी गराउने भन्ने टुंगो लाग्न सकेको छैन । जेनजी समूहहरूबिच नै फरक–फरक धारणा आउनुले यतिबेला समस्या देखिएको छ । 

यद्यपि जेनजीको एउटा टिमले भने मन्त्रीको नाम टुंग्याएको दाबी गरेको छ । रक्षा बम, युजन राजभण्डारी, धीरज जोशी, प्रदीप ज्ञवाली लगायतले सरकारले सहभागिता खोजे एक जना प्रतिनिधि पठाउने कुरामा सहमत भइसकेको जनाएका छन् । उक्त टिमले रक्षा बमलाई अगाडि सारेको छ । 

rakshya

‘हामी आवश्यक परे सरकारमा जाने कुरा भएको हो, यसका लागि रक्षाजीको नाम कन्फर्म गरेका छौँ,’ उक्त टोलीका एक सदस्यले रातोपाटीसँग भने, ‘तर सरकारसमक्ष हामीलाई सहभागी गराऊ भन्दै गएका छैनौं ।’ 
सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ले भने आफ्नो समूहबाट सरकारमा सहभागी नहुने जनाइसकेको छ । ‘सरकारलाई काम गर्न दिऊँ भन्ने छ, हामीले सुरुमै भनेका छौं हाम्रो समूहबाट मन्त्री बन्ने खेल हुँदैन,’ रातोपाटीसँगको कुराकानीमा उनले भनेका थिए,‘ पीएमलाई के ठीक लाग्छ, काम गर्न को राख्दा ठीक हुन्छ, टिम मिल्छ, उसैलाई दिने हो, यसमा हामीले धेरै खेल्ने कुरा भएन ।’ 

तर यता जेनजी आन्दोलनपछि चर्चामा आएका मिराज ढुंगानाले भने सरकारले जेनजीको प्रतिनिधित्व हुने गरी थप्न लागिएको नाम मन्त्रीका नामप्रति असन्तुष्टि जनाएका छन् । चर्चा गरिएका व्यक्तिहरूमध्ये को जेनजी हो र कुन जेनजीले सिफारिस गरेको हो ? भन्दै उनले प्रश्न उठाएका हुन् । ‘सडकको आगो मन्त्रिपरिषद्मा जानुपर्छ’ आइतबार साँझ उनले फेसबुक लाइमा भने । ढुंगानाले सडकको आन्दोलनमा सहभागी नभएका मान्छेका नाम मन्त्रीका लागि आइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

‘पदको लागि रगत माथि राजनीति नगरौं’

अर्का अभियन्ता तनुजा पाण्डेले आन्दोलन पदका लागि नभएको भन्दै ‘रगतमाथि राजनीति बन्द गर्न’ आह्वान गरिन् । ‘साथीहरू, मन्त्री को बन्ने, वार्तामा को जाने ? यी विषयहरूमा अल्झिएर हाम्रो आन्दोलनको मूल मुद्दा कमजोर पार्ने गल्ती नगरौँ । यो आन्दोलन पदका लागि होइन; न्याय, सुशासन र जवाफदेहिताका लागि हो,’ पाण्डेले भनेकी छन् । 

उनले पनि फेसबुकबाटै ‘हाम्रा साथीहरूलाई गोली हान्नेहरूलाई न कारबाही भयो, न त न्याय प्राप्त भयो । चोरी–लुटपाट र आगजनी गर्नेहरू यो सरकारले केही गर्दैन भनेर ढुक्क छन् । आन्दोलनमा मारिएका साथीहरूको सपना, आवाज, र बलिदानलाई बिर्सने अधिकार कसैलाई छैन । हत्याराहरूलाई कारबाही गरी सहित जेन–जी साथीहरूको न्याय सरकारको प्राथमिकता बन्नु पर्छ’ लेखेकी छन् । 

जेनजी मुभमेन्ट अलायन्सले भने अहिलेसम्म यो विषयमा हालसम्म कसैलाई पनि सिफारिस गरेको छैन । यद्यपि मन्त्रिपरिषद्मा विभिन्न समुदाय, भूगोलबाट प्रतिनिधित्व हुनुपर्ने बताउँदै आएको छ । यो मुभमेन्टले बाहिर चर्चा भएको जेनजी पुस्ताको मन्त्रीको लागि टासी ल्हाजोमलाई भने समर्थन गरेको छ । ‘हामीले सिफारिस कसैको नाम गरेका छैनौं । तर हिमाली क्षेत्रबाट पनि प्रतिनिधित्व हुनेगरी उहाँको नाममा समर्थन गरेका हौं,’ अलायन्सका एक सदस्यले भने ।

प्रवेश दाहाललगायत केही जेनजी युवाहरू भने अहिलेको सरकारमाथि बेला–बेलामा वैधानिकतामा प्रश्न उठाउँदै आएका छन् । ‘अहिलेको माग भनेको प्रत्यक्ष कार्यकारी प्रमुख हो । बाँकी मन्त्रिपरिषद्को कुरामा छलफल हुँदै जाने विषय हो,’ उनले भनेका छन् । 

559940251_122100679131058882_289141875848289276_n

प्रधानमन्त्री कार्यालयका अनुसार अहिले जेनजीको तर्फबाट मन्त्री बन्नका लागि व्यक्तिगत रूपमा र विभिन्न समूहले गरी ८० भन्दा बढी युवाहरूले बायोडाटा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । 

‘मन्त्री बन्नका लागि जेनजीहरूले योग्यताहरू सहित प्रधानमन्त्री कार्यालयमा गएको छ । हामीले बुझे अनुसार ८० जना युवाको सीभी आइसकेको छ । तर प्रधानमन्त्रीज्यूले हेरिसक्नुभएको छैन,’ स्रोतले भन्यो । सक्षम युवा खोज्ने क्रममै हुनुहुन्छ, तर अहिले बाहिर आएको नामको विषयमा भने जानकारी छैन । नाम पठाउने एक अभियन्ता भन्छन्, ‘सरकारलाई सहयोग गर्ने लक्ष्य हो । थुप्रै टिमसँग छलफल गरेर नै मैले नाम पठाएको छु । तर बाहिर अरुकै नाम चर्चा भइरहेको छ, यो विषयमा अहिले यति नै भनूँ,’ ती अभियन्ताले भने ।

सहिद परिवारको मागः तीन मन्त्रालय

जेनजी आन्दोलनका सहिद परिवार संघर्ष समितिले सरकारमा आफ्नो उपस्थिति खोज्दै आएका छन् । क्याबिनेटबाट खबरदारी गर्न भए पनि आफूहरूको उपस्थिति भएको बताउँदै आएका छन् । उनीहरूले केही दिनअघि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरूलाई वास्ता नगरेको गुनासो गरेका छन् ।

सहित श्रीयम चौलागाईंका बुबा गणेशले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नभएको बताएका छन् । सहिद परिवार कमल सुवेदीले पटक–पटक सहिद परिवारलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने भए पनि त्यसो नभएको बताएका छन् ।

जेनजी सहिद परिवार संघर्ष समितिले सरकारसमक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि सहिद विजय चौधरीका दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा सहिद इस्वत अधिकारीका आफन्त भोज विक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयका लागि सहिद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । 

मागप्रति सरकार गम्भीर नभए आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप