बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै

सोमबार, २७ असोज २०८२, १० : १७
सोमबार, २७ असोज २०८२

सारांश

  • पूर्वसभामुख कृष्ण बहादुर महरालाई सुन तस्करीको आरोपमा प्रहरीले अदालतमा पेश गर्दैछ।
  • सीआईबीले महरालाई ललितपुरबाट पक्राउ गरेको थियो र सुन तस्करीमा अनुसन्धान गरिरहेको छ।
  • सुन तस्करी जाँचबुझ आयोगले महरालाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालत उपस्थित गराउन लागेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले बताए । 

महरालाई म्याद थप गर्न सरकारी वकिलमार्फत प्रहरीले सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ । एसएसपी श्रेष्ठले भने, ‘हामी कानुन बमोजिम अनुसन्धान अघि बढाउँछौँ ।’ 

सीआईबीले महरालाई २०८० चैत ५ मा पनि पक्राउ गरेको थियो । त्यसबेला बयान प्रक्रिया पूरा गरेर उनी हाजिर जमानीमा रिहा भएका थिए । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तन भएसँगै महरा १८ महिनापछि पुन पक्राउ परेका हुन् ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुन: मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरेर ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने सीआईबीको तयारी छ ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

महराले यसअघिको बयानमा चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्विकारेका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार बयानमा उनले भनेका थिए, ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन ।’

चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि कृष्ण बहादुर महरा र उनको पुत्र राहुलले छुटाउन भूमिका खेलेका हुन् । राहुल यसअघि पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप