मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

एसएलआर लुट्ने युवकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बुधबार, २९ असोज २०८२, २१ : ३०
बुधबार, २९ असोज २०८२

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरीको एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुट्ने युवकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय राजु परियारलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले उनलाई मंगलबार सुनाकोठीबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको थियो ।

परियारले एसएलआर बोकेर सिंहदरबार मुलगेटमा प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भेटिएको छ । उनीविरुद्ध प्रहरीले आपराधिक उपद्रव गर्न नहुने समेतको कसुरमा अनुसन्धान गरिरहेको छ ।

परियारको पृष्ठभूमि आपराधिक रहेको पाइएको छ । उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयबाट ८ वटा मुद्दा चलेको अपराध रेकर्ड सिस्टममा देखिएको छ । 

ज्यानमार्ने उद्योग, ठगी, अभद्र व्यवहार र बैंकिङ कसुर मुद्दामा प्रहरीले  उनलाई यसअघि पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट उनीविरुद्ध २०६४ मा ज्यानमार्ने उद्योग, प्रहरी परिसर ललितपुरबाट २०७० मा ज्यानमार्ने उद्योग, प्रहरी वृत नयाँ बानेश्वरबाट २०७० मा ठगी र २०७९ मा महाराजगञ्जबाट बैकिङ कसुर मुद्दा चलेको भेटिएको छ ।

२०८० साउनमा ललितपुर परिसरबाट ठगी र २०६५ मा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलेको भेटिएको छ । २०७५ मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट अभद्र व्यवहार र २०७१ मा स्वयम्भूबाट ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भएको भेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप