बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बहस

कांग्रेसमा नियमित कि विशेष महाधिवेशन ?

केन्द्रीय कार्यसमितिमा उठान गर्नुपर्ने विषय
बिहीबार, ३० असोज २०८२, ०९ : ३०
बिहीबार, ३० असोज २०८२

सारांश

  • नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उपसभापतिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
  • जेनजी आन्दोलनले पार्टीमा रूपान्तरण र नयाँ नेतृत्वको माग गरेको छ, जसले कांग्रेसलाई चुनौती दिएको छ।
  • कांग्रेसले युवा पुस्ताको आकर्षण बढाउन र पार्टीलाई सुदृढ बनाउनका लागि कदम चाल्नुपर्ने देखिन्छ।

जेनजी आन्दोलनले नेतृत्वले विश्राम लिनुपर्छ भन्ने भाष्य स्थापित भएको बेलामा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्ण बहादुर खडकालाई प्रदान गरेसँगै कांग्रेस समयको बहावसँगै चल्ने पार्टी हो भन्ने कुरा स्थापित भएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोध र सुशासनको माग गर्दै युवाहरूले भाद्र २३ जेनजी आन्दोलनको आव्हान गरे  र सोही आन्दोलनले सत्ता समेत ढल्यो । सत्ता ढलेसङै यसले दलहरूलाई रूपान्तरण र पुनर्गठनमा ठुलो दबाब सृजना गरेको छ । यो दबाबमा सबैभन्दा बढी लोकतान्त्रिक र पुरानो पार्टी भएको कारण नेपाली कांग्रेसमा अझ बढी परेको छ । जेनजी आन्दोलन पश्चात् नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक हिजोबाट सुरु भएको छ । हिजोको बैठकमा सभापतिको सम्बोधन र कार्यवाहक सभापतिको जिम्मेवारी प्रदानसँगै समापन भयो ।यो आलेखमा नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिमा उठान गर्नुपर्ने विषयमा केन्द्रित रहेर तयार गरिएको छ ।

  • नियमित कि विशेष महाधिवेशन

नेपाली कांग्रेसको विधानमा पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ भन्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पदावधि यही मङ्सिर २८ गते सकिँदै छ । हाल नेपाली कांग्रेसको विधानले ८ तहको संरचनाको व्यवस्था गरेको छ । सबै तहको पदावधि २८ मङ्सिर अगावै सकिँदै छ । 

नियमित महाधिवेशन गर्नुपर्ने समय सीमा दुई महिना मात्रै बाकी रहँदा विशेष महाधिवेशन बोलाउनु भनेको नयाँ पुस्ताका साथीहरूलाई पार्टी नेतृत्वमा आउनुबाट वञ्चित गर्नु हो ।

यही बिचमा नेपाली कांग्रेसका महामन्त्रीद्वयले सामाजिक सञ्जालमार्फत विशेष महाधिवेशनको आव्हान गरे पश्चात् जिल्ला जिल्लामा हस्ताक्षर अभियान अगाडी बढ्यो । विधानमा रहेको व्यवस्था “केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ” । 

नियमित महाधिवेशन गर्नुपर्ने समय सीमा दुई महिना मात्रै बाकी रहँदा विशेष महाधिवेशन बोलाउनु भनेको नयाँ पुस्ताका साथीहरूलाई पार्टी नेतृत्वमा आउनुबाट वञ्चित गर्नु हो । यसले वडा तहबाट केन्द्रसम्म छनौट हुने जेनजीको प्रतिनिधित्व समेत निषेध गर्नेछ । यदि विशेष महाधिवेशनको मुद्दा देखाएर नियमित महाधिवेशन तोकिएको समय सीमा भित्र नै गर्न सकियो भने यसलाई उपलब्धिको रूपमा नै लिनुपर्दछ ।

  • पार्टीको प्राथमिकता निर्वाचन हो वा महाधिवेशन

प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । पार्टी भित्रको आवाज र जेनजीको मुद्दा समेतलाई मध्येनजर गरेर नेपाली कांग्रेसले स्पष्ट रूपमा निर्वाचन र अधिवेशन दुवैलाई केन्द्रमा राखेर कार्य गर्नुपर्ने देखिन्छ । यसको लागि दुई महामन्त्री मध्ये एकलाई अधिवेशन र अर्कोलाई चुनावको तयारीको जिम्मेवारी दिएर अगाडी बढ्दा उपयुक्त हुन्छ ।  

जेनजी पुस्ताले नेतृत्वमा नयाँ अनुहार खोजिरहेको छ । उनीहरू पुरानो ‘आलोपालो’ प्रणालीलाई स्विकार्न तयार छैनन् । उनीहरू खोज्छन् — पारदर्शी, जवाफदेही र क्षमतावान् नेतृत्व ।
  • जेनजीले सिकाएको पाठबाट के सिक्ने ?

‘पोलिटिक्स इज अ डर्टी गेम, यसमा मलाई कुनै चासो छैन’ यो भाष्य अधिकांश नेपाली मिलेनियल्सहरूको थियो । तर जेनजी पुस्ताले ‘पोलिटिक्स इज डर्टी गेम’ को पुरानो ट्यागलाई चुनौती दिनुका साथै सामाजिक सञ्जालबाट राजनीतिक खबरदारी समेत गरिरहेको छ । प्रविधिसँगै हुर्किएको यो पुस्तालाई भाग्यमानी जेनेरेसन मानिन्छ । सामाजिक र राजनीतिक मुद्दाहरूबारे सचेत यो पुस्ता खुला विचार राख्नेमा अगाडि देखिन्छ । 

जेनजी पुस्ताले नेतृत्वमा नयाँ अनुहार खोजिरहेको छ । उनीहरू पुरानो ‘आलोपालो’ प्रणालीलाई स्विकार्न तयार छैनन् । उनीहरू खोज्छन् — पारदर्शी, जवाफदेही र क्षमतावान् नेतृत्व ।

जेनजीले टिकटक, इन्स्टाग्राम र रेडिट लाई राजनीतिक चेतनाको मञ्च बनाएका छन् । ह्यासट्यागहरू, लाइभ स्ट्रिमहरू र भाइरल भिडियोहरूले यो पुस्ता सहित युवाहरूलाई राजनीतिमा खबरदारी गर्न एकजुट बनाएका छन् । यो कुरालाई आत्मसात् गर्दै कांग्रेसले यो पुस्तालाई देशको समग्र राजनैतिक, आर्थिक र सामाजिक विकासको आयामसँग जोड्दै राजनीतिको मूल प्रवाहमा समेत समावेश गर्न ढिला गर्नु हुँदैन ।

  • कांग्रेस युवा र जेनजीलाई आकर्षणमा किन परेन ?

निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेसँगै देशभरका युवाहरू मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन् । नाम दर्ता गराउने र गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति देखिन्छ । त्यसैले युवा र जेनजीको विषयमा नेपाली कांग्रेसमा गहन रूपमा छलफल हुन जरुरी छ । 

चुनावलाई जेनजीले विशेष उत्साहका साथ स्वागत गरेका छन् । चुनावको वातावरण बनाउन पनि सरकारलाई अनुरोध गरिरहेका छन् ।

एकातिर राजनीतिभित्रको स्वतन्त्रतामा राजनीति दल र सत्ताको मोह कति उत्कर्षसम्म पुग्यो भन्ने कुरा प्रथम, दोस्रो विश्वयुद्ध र १९७० पछि जन्मेको नयाँ विश्व व्यवस्था र अहिलेको पूर्वी र पश्चिमी प्रजातन्त्र बिचको फरकले संसारलाई द्वन्द्वमा मात्र फसाएन। यसले राजनीति र बजारको अवसरमा समेत ठुलो खाडल पैदा गर्‍यो। अर्कोतर्फ प्रविधिमा एआईको प्रयोग र जीवन पद्धतिमै प्रविधिको स्वभावमा रमाउन पुगेको ९० दशक पछिको पुस्तालाई उन्नत मानिएका राजनीतिक प्रणालीले विश्वास गरेनन् र स्वीकार गर्न पनि सकेनन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा ४० वर्ष उमेर भन्दा कमको प्रतिनिधित्व शून्य रहनुले कांग्रेसले युवाको प्रतिनिधित्वलाई आवश्यक नै ठानेन भन्ने प्रस्ट हुन्छ । 

चुनावलाई जेनजीले विशेष उत्साहका साथ स्वागत गरेका छन् । चुनावको वातावरण बनाउन पनि सरकारलाई अनुरोध गरिरहेका छन् । अहिले १ करोड ८१ लाख मतदाता छन् । जेनजी समूहका युवा छुटेकाले मतदाता नामावलीमा नाम टिपाउन सरकारले अध्यादेश ल्याएसँगै जेनजीले मतदाता नामावली अद्यावधिक गर्ने कार्य भइरहेको छ । यो कार्यसँगै मतदाताको सङ्ख्या बढ्ने निश्चित प्रायः छ । जेनजी आन्दोलनले परिवर्तनको ढोका खोलेको छ र यस पटकको चुनामा पुरानो अनुहार मात्र होइन, सोच पनि फेर्नु पर्नेछ यसको लागी नेपाली कांग्रेसले चुनावमा कति मत आउँछ भन्नेमा होइन, विचार कति टिक्छ भन्नेमा केन्द्रित हुन आवश्यक छ । साथै जेनजीलाई कांग्रेको मुद्दा र एजेण्डाले आकर्षण गर्न सकेन भने निर्वाचनमा यसको असर प्रत्यक्ष पर्ने कुरामा दुई मत छैन । 

  • जेनजीको आकर्षण कांग्रेसमा कसरी बढाउने ?

नेपाली कांग्रेसमा जेनजीको आकर्षण बढाउनको लागि तत्कालै देहाय बमोजिमका कार्य गर्नुपर्ने देखिन्छ ।

(१) नेपाली कांग्रेसले स्थापनाकालदेखि नै आत्मसात् गर्दै आएको कानुनी राज्य, लोकतन्त्र र राष्ट्रिय एकतालाई केन्द्रमा राख्ने,

(२) भ्रष्टाचारमा शून्य सहनशीलता, जबाफदेहिता, सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर कार्य गर्ने मार्गचित्र तयार गर्ने,

(३) बी. पी. को भनाई “समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन” भन्ने कुरालाई आत्मसात् गर्दै पार्टीले जेनजी पुस्तालाई राजनैतिक, आर्थिक र सामाजिक रूपान्तरणको सारथि बनाउने,

(४) आफ्नो राजनीतिको उत्तरार्धमा रहेका पार्टी सभापतिले विगतको अभ्यासलाई समेत मनन गर्दै विधान बमोजिम कार्यवाहक सभापतिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेर अभिभावकीय भूमिकामा बस्दा पार्टी र वहाँको राजनैतिक विरासत समेत उँचो हुने कुरामा दुई मत छैन भन्ने कुरा वहाँका सल्लाहकार र सहयोगीले बुझ्ने,

(५) कार्यवाहक सभापतिले यही बैठकबाट महाधिवेशन तयारी र निर्वाचन तयारी समितिमा गठन गर्ने,

(६) नेपाली कांग्रेसको १४औँ महाधिवेशनको परिणामलाई हेर्ने हो भने ‘पुस्तान्तरण सहितको वैचारिक रूपान्तरण’ को मुद्दा वडा ईकाई बाट केन्द्रीय नेतृत्वसम्म स्थापित भएको कुरालाई मनन गर्दै भातृसङ्घमा जेनजीको प्रतिनिधित्व कम्तीमा पनि ५०% पुर्‍याउने साथै नेविसंघमा जेनजीको प्रतिनिधित्व कम्तीमा पनि ८०% पुर्‍याउने नीति तय गर्ने,

(७) संगठन विस्तार गर्ने दायित्व र जिम्मेवारीमा विधानले नै महामन्त्रीलाई उत्तरदायी बनाएको हुनाले एउटा महामन्त्रीले पार्टी संगठन र अर्को महामन्त्रीले पार्टीमा युवा सहभागिताको मुद्दालाई केन्द्रमा राखेर कार्य गर्ने,

(८) गुटरहित कांग्रेस निर्माणमा लाग्न सबैलाई प्रतिबद्ध बनाउने । 

  • कांग्रेसलाई आम नागरिकको पार्टी कसरी बनाउने

नेपाली कांग्रेसलाई आम नागरिकको पार्टीको बनाउनको लागि, (१) नागरिक सामु बाचा गरेका कार्य गर्न नसकेकोमा यसको नैतिक जिम्मेवारी लिने,

(२) युवा शक्तिकरणलाई पार्टीको मूल मुद्दा बनाउने,

(३) कांग्रेसले अवलम्बन गरेका समय सापेक्ष मुद्दा तथा एजेण्डा लिएर आम नागरिककोमा जाने,

(४) पार्टीको सबै तहको संरचनालाई चुस्त, दुरुस्त र नागरिकमैत्री बनाउने,

(५) यो देशको समग्र आर्थिक, राजनैतिक र सामाजिक रूपान्तरण कांग्रेसले मात्रै गर्न सक्छ र अरूले गर्न सक्दैनन् भन्ने भाष्यलाई चरितार्थ गर्नको लागि युवा तथा विज्ञ सहितको सहभागितामा पार्टीको थिङ्क ट्याङ्क गठन गर्ने ।

राजनीतिक दल र तिनका मुख्य नेतृत्वले विना सर्त स्वीकार गर्नुपर्ने तथ्य के हो भने हाम्रो नेतृत्व असफल भएको र हामीले वैकल्पिक नेतृत्व विकास गर्न नदिएर वा नसकेर राजनीतिमा युवा पुस्ताको घृणा र आक्रोश बढेको हो ।
  • लोकतन्त्रको पहरेदार

नेपाली कांग्रेस र लोकतन्त्र पर्यायवाची जस्तै हुन । स्वच्छ लोकतन्त्रको पहिलो सर्त राज्यको लोकतान्त्रीकरण गर्दै नागरिक सर्वोच्चतालाई प्रभावकारी ढङ्गमा कायम गराउनु नै हो । यसका लागि दलहरूबिच सहमतिको राजनीति आवश्यक छ । देशमा उत्पन्न विषम परिस्थितिलाई ठिक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्‍याउने कार्य सधैँ नेपाली कांग्रेसले गरिरहेकोले अहिलेको विषय परिस्थितिमा नेपाली कांग्रेसको भूमिका अत्यावश्यक देखिन्छ ।

  • निष्कर्ष

राजनीतिक दल र तिनका मुख्य नेतृत्वले विना सर्त स्वीकार गर्नुपर्ने तथ्य के हो भने हाम्रो नेतृत्व असफल भएको र हामीले वैकल्पिक नेतृत्व विकास गर्न नदिएर वा नसकेर राजनीतिमा युवा पुस्ताको घृणा र आक्रोश बढेको हो । यो कुरालाई मनन गर्दै क्रममा राजनीतिक पार्टीहरूले समेत पुरानो अवस्थालाई चिरेर महत्त्वपूर्ण सुधारात्मक परिवर्तन गर्ने सोचलाई आत्मसात् गर्दै पार्टीको हरेक तह र अवसरमा समेत युवाको प्रतिनिधित्व कम्तीमा पनि २५% पुर्‍याउन आवश्यक छ । कांग्रेसले आपसी एकता र नम्रतालाई केन्द्रमा राखेर कार्य गरेमा कांग्रेस नै यो देशको मूल राजनैतिक शक्ति हुनेमा दुई मत छैन । नेतामा नम्रता, कार्यकर्तामा अनुशासन र गुटरहित कांग्रेस बनाउन सकियो भने मात्र जेनजीको पाठ सच्चा मात्रमा कांग्रेसले अङ्गीकार गरेछ भन्ने भाष्य निर्माण हुनेछ । 

(काठमाडौँ विश्वविद्यालयबाट ज्ञान व्यवस्थापनमा विद्यावारिधि गरेका पौडेल ज्ञान व्यवस्थापन विज्ञ तथा नेपाली कांग्रेसका युवा नेता हुन । हाल उनी नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक रहेका छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. कृष्णप्रसाद पौडेल
डा. कृष्णप्रसाद पौडेल
लेखकबाट थप