ठेकेदारले विद्युतीकरणको काम अलपत्र पारेपछि प्राधिकरण घेराउ गर्न पुगे गाउँपालिका अध्यक्ष
सारांश
- सल्यानको दार्मा गाउँपालिकामा विद्युतीकरणमा ढिलाइ भएपछि स्थानीय र जनप्रतिनिधिले प्राधिकरण कार्यालय घेराउ गरे।
- ठेकेदारको लापरबाही र समन्वय अभावका कारण विद्युतीकरणको कामले गति लिन सकेको छैन, जसले गर्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन्।
- गाउँपालिका अध्यक्षको नेतृत्वमा प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाइयो र तत्काल काम सुरु गर्न माग गरियो।
सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा विद्युतीकरणमा ठेकेदारले चरम लापरबाही गरी ढिलासुस्ती गरेपछि गाउँपालिका अध्यक्ष निमबहादुर केसीकै अगुवाइमा जनप्रतिनिधि र स्थानीयबासीले जिल्ला सदरमुकाम खलंगामा रहेको नेपाल विद्युत् प्राधिकरणको कार्यालय घेराउ गरेका छन् ।
लामो समयदेखि पूर्ण विद्युतीकरण निर्माणको प्रतीक्षा गरिरहेका दार्माका समुदायले जनस्तरबाट सशक्त दबाब सिर्जना गरेका हुन् ।
बिहीबार बिहान दार्माबाट सदरमुकाम खलंगा पुगेका प्रदर्शनकारीहरूले ‘दार्माको पूर्ण विद्युतीकरणमा भएको ढिलासुस्तीबारे ध्यानाकर्षण गराउँछौँ’ लगायतका विभिन्न प्लेकार्ड बोकेर नारा–जुलुससहित प्राधिकरण कार्यालयमा प्रदर्शन गरे ।
प्रदर्शनपश्चात् अध्यक्ष केसीको नेतृत्वमा प्राधिकरण कार्यालय प्रमुखलाई विद्युतीकरण कार्यमा देखिएको समस्या र ढिलाइप्रति गम्भीर आपत्ति जनाउँदै सशक्त ध्यानाकर्षण पत्र बुझाइएको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालयबाट ठेक्का पाएको महाशक्ति क्रिस्टल जेभी नामक निर्माण कम्पनीले प्राविधिक कारण र प्रदेश कार्यालयसँगको समन्वय अभाव देखाउँदै काम रोकेका कारण दार्मासहित जिल्लाको विद्युतीकरण कार्यले गति लिन सकेको छैन । दार्माबाट सदरमुकाम खलंगा पुग्न एक दिन यात्रा गर्नुपर्ने भए पनि स्थानीयवासीले अँध्यारोबाट मुक्ति पाउन गाउँपालिका अध्यक्षको साथमा आन्दोलनमा उत्रिएका हुन् ।
गाउँपालिका अध्यक्ष केसीले विद्युतीकरणमा देखिएको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरे । ‘हामीले पटकपटक अनुरोध गर्यौँ, सूचना जारी गर्यौँ, जिल्लामा सरोकारवालाहरू राखेर बैठक गर्यौँ, तर काम अघि बढेको छैन,’ उनले भने, ‘स्थानीयवासीहरू लामो समयदेखि पूर्ण विद्युतीकरणको आशामा बस्न बाध्य छन् । हामीले आज दबाब दिएका छौँ, अब तत्काल आवश्यक सामग्री उपलब्ध गराएर युद्धस्तरमा काम सुरु गरिनुपर्छ, अन्यथा हामी थप कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ ।’
ध्यानाकर्षण पत्रपछि प्राधिकरण वितरण केन्द्र सल्यानका इन्जिनियर दिनेश पौडेलले विद्युतीकरण कार्यमा तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाले सम्पूर्ण सरोकारवालाहरूलाई तत्काल समन्वय गरी सल्यान जिल्लालाई उज्यालोमा जोड्ने कार्यलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालयबाट सल्यान जिल्लाको पूर्ण विद्युतीकरण कार्यका लागि ०८० असोज ५ गते महाशक्ति क्रिस्टल जेभी नामक निर्माण कम्पनीले ठेक्का पाएको थियो ।
उक्त कम्पनीले पहिलो चरणको लक्ष्यमा काम गर्न नसकेपछि २०८१ कार्तिक २९ गतेसम्म दोस्रो पटक म्याद थप गरिएको छ । तर, हालसम्म पनि कामले गति लिन नसक्दा दार्मावासी अँध्यारोमै बस्न बाध्य भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण