'परान' विषयवस्तुका कारण रोजेकी हुँ- अञ्जना
सारांश
- वरिष्ठ कलाकार नीर शाहको मुख्य भूमिका रहेको पारिवारिक फिल्म 'परान' कार्तिक १४ गते रिलिज हुने भएको छ।
- अभिनेत्री अञ्जना बराइलीले फिल्मको विषयवस्तुका कारण यसलाई स्वीकार गरेको र दर्शकले खोजीखोजी हेर्ने बताएकी छिन्।
- दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको यो फिल्ममा महेश त्रिपाठी, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । कार्तिक १४ गते रिलिज हुने पारिवारिक फिल्म ‘परान’को शीर्ष भूमिकामा वरिष्ठ कलाकार नीर शाह छन् । फिल्मले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा बोल्छ ।
मूल भूमिकामा नभए पनि पछिल्लो समय नेपाली फिल्मकी व्यस्त अभिनेत्री अञ्जना बराइलीले यो फिल्ममा अभिनय गर्न सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण स्वीकार गरेको बताइन् । योसँगै उनले यो फिल्म खोजीखोजी हेर्ने फिल्मको सूचिमा पर्ने बताउँछिन् ।
‘म यसमा जोडिनुको एउटै कारण यसको विषय हो। यो मैले खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ,’ उनले भनिन्, ‘जति काम भएको छ, त्यो राम्रो भएको छ र म यो फिल्म हलमा हेर्न एकदमै उत्साहित छु। डबिङको समयमा नै मैले यो फिल्म त दसैँमै लगाउनुपर्छ भनेकी थिएँ, जब कि प्रायः म यस्तो भन्दिन।’
फिल्म सबै उमेर समूहका दर्शकलाई मनपर्ने अञ्जनाको दाबी छ। उनका अनुसार यसले सबै उमेरका मानिसका कुरालाई समेटेको छ। फिल्ममा शीर्ष भूमिका नीर शाहको भए पनि त्यसपछि दर्शकले याद गर्ने भूमिका आफूले गरेको अञ्जनाको भनाइ छ।
उनले आफ्नो पात्रका बारेमा भनिन्, ‘फिल्ममा म अलिक मिजासिलो पात्रमा छु। यसभित्रका विभिन्न परिस्थितिले मलाई त्यसरी प्रस्तुत गर्छ। मेरो पात्र एकदमै यादगार हुने देख्छु। मैले निर्वाह गरेको ‘रूपा’ पात्रको स्वभाव नै सम्झिने खालको छ। नीर शाह नजरमा परिहाल्नुहुन्छ, त्यसपछि म पर्छु। पात्र बलियो भएकैले म यसरी प्रचारमा हिँडिरहेकी छु।’
रिलिज मिति नजिकिँदै आइरहेको भए पनि अञ्जना उति आत्तिएकी छैनन्। उनलाई फिल्मले दर्शकको मन जित्ने पूर्ण विश्वास छ। ‘परान’ दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन्।
व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले फिल्म निर्माण गरेको हो। फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, महेश त्रिपाठी र अञ्जना बराइलका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण