माओवादीका ६ प्रदेश अध्यक्षलाई प्रश्न : नेतृत्व हस्तान्तरण कि रूपान्तरण ?
सारांश
- माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
- पार्टीभित्र नेतृत्व हस्तान्तरणको विषयमा बहस भइरहेको छ, तर अध्यक्ष प्रचण्डले विधि बनाएर नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
- विभिन्न प्रदेशका अध्यक्षहरूले नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरण दुवै आवश्यक रहेको बताएका छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको असोज ९ र १० गते सम्पन्न केन्द्रीय समिति बैठकले मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गर्यो ।
भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि बसेको बैठकले मौजुदा केन्द्रीय समिति बैठक भङ्ग गरी महाधिवेशन जाने निर्णय गरेको थियो । बैठकमा पार्टीभित्र नेतृत्व हस्तान्तरण गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चर्को दबाब दिएका थिए ।
बैठकमा प्रचण्डले नै विधि बनाएर नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएकाले पार्टीभित्रको अन्तरसंघर्ष तत्कालका लागि हल भएको देखिन्छ । त्यतिबेला प्रचण्डले पार्टीको काम गर्न अध्यक्ष नै हुनुपर्छ भन्ने जरुरत नभएको र फरक भूमिकामा रहेर पनि सक्रिय हुन सक्ने बताएका थिए ।
पार्टीमा अहिले नेतृत्व हस्तान्तरण कि रूपान्तरण आवश्यक हो भन्ने विषयमा माओवादी ६ प्रदेश अध्यक्षसँग रातोपाटीले प्रश्न गरेको छ । माओवादीको मधेस प्रदेशमा भने विवादका कारण कमिटी नै छैन ।
कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङले नेतृत्व हस्तान्तरण र रूपान्तरण दुवै आवश्यक भएको बताए । पहिले पार्टी रूपान्तरणसहित विधि र प्रक्रियामार्फत नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिए ।
‘नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरण दुवै हुनुपर्छ । नेतृत्व हस्तान्तरणका लागि सबैभन्दा पहिले विधि, पद्धति र मोडालिटी बनाउनुपर्छ । त्यो काम महाधिवेशनले गर्छ । सँगसँगै पार्टी रूपान्तरण सहितको पुनर्गठन आवश्यक छ । यथास्थितिमा पुरानै तौरतरिकाबाट पार्टी अगाडि बढ्न सक्दैन’, उनले भने ।
यसैगरी बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले अध्यक्ष प्रचण्डले नै विधि बनाएर नेतृत्व हस्तान्तरण गर्छु भनिसकेपछि आफ्नो मत त्यसमै रहेको स्पष्ट पारे । नेतृत्व हस्तान्तरणबारे बहस हुँदै गर्दा पहिला विधि र प्रक्रिया कस्तो हुने भन्नेमा महाधिवेशनमा बहस आवश्यक रहेको बताए ।
‘अध्यक्ष प्रचण्डले विधि बनाएर नेतृत्व हस्तान्तरण गर्छु भनेर भनिसक्नु भएको छ । विधि, प्रक्रियाको विषयमा महाधिवेशनमा बहस हुन्छ । पहिला त विधि बन्नुपर्छ । विधि कस्तो बनाउने हो ? महाधिवेशनले अध्यक्ष मोडलमै जाने भन्छ कि महासचिव मोडल राख्छ त्यसबारे बहस हुन बाँकी छ’, उनले भने । उनले नेतृत्वको विषयमा विश्वका विभिन्न मोडालिटीबारे अध्ययन भइरहेकाले अहिले नै यही भन्न नमिल्ने तर्क गरे ।
‘माओवादीमा युद्धकालदेखि अहिलेसम्म लामो समय नेतृत्व हस्तान्तरण नभएको पृष्ठभूमि छ । कसरी नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा पहिले विधि बन्नुपर्यो अहिलेकै स्थितिमा जो गएपनि काम गर्न सकिँदैन । नेतृत्वको विषयमा नेपालकै अभ्यास, चिनियाँ सहित विश्वका अन्य मोडेलबारे पनि अध्ययन गरिरहेका छौँ’, उनले भने ।
गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले रूपान्तरणसहित नेतृत्व हस्तान्तरण अहिलेको आवश्यकता भएको तर्क गरिन् ।
गुरुङले भनिन्, ‘रूपान्तरण सहितको नेतृत्व हस्तान्तरण अहिलेको आवश्यकता हो । महाधिवेशनले नेतृत्व हस्तान्तरण गर्छ कि रूपान्तरण गर्छ त्यसमा भर पर्छ । महाधिवेशनले आवश्यक ठानेमा नेतृत्व हस्तान्तरण पनि हुन्छ । अहिलेकै नेतृत्व आवश्यक ठानेमा राख्छ ।’
यस्तै लुम्बिनीका सुदर्शन बरालले नेतृत्व हस्तान्तरण अध्यक्ष प्रचण्डले नै गर्छु भनिसकेकाले आफ्नो फरक धारणा नभएको जिकिर गरे ।
‘अध्यक्षले केन्द्रीय समिति बैठकमै नेतृत्व हस्तान्तरण गर्छु भन्नुभएको छ । उहाँले पार्टी अध्यक्ष नै बन्नुपर्छ भन्ने छैन, फरक भूमिकामा रहेर काम गर्छु भन्नु भएकाले नेतृत्व हस्तान्तरण हुने हामीले बुझेका छौँ । यसमै प्रचण्डको राम्रो हुन्छ । उहाँ अब पार्टीको विचार, नीति, सिद्धान्त बनाउने भूमिकामा लाग्नु हुन्छ भन्ने हाम्रो विश्वास छ’, उनले भने ।
कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले नेतृत्व रूपान्तरणसहित नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिइन् ।
‘पहिलो कुरा नेतृत्व रूपान्तरण हुनुपर्छ । नेतृत्व हस्तान्तरण विधि, विधान र प्रक्रियाबाट हुने कुरा हुन् । पार्टी रूपान्तरण भइसकेपछि दुई कार्यकाल राख्ने कि के गर्ने भन्नेमा विधि र विधानमा व्यवस्था गर्न सकिन्छ ’, उनले भनिन्, ‘प्रचण्डको ठाउँमा पार्टीका अन्य नेतालाई अध्यक्ष भइस् भनेर हस्तान्तरण सम्भव छैन । हामीले अहिलेसम्म तल्ला समितिलाई मात्र हेरेर विधान बनायौँ । केन्द्रमा बनाउन सकेका छैनौँ । पार्टीभित्र पहिलेदेखि नै नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणको बहस भएका छन् । विशेष महाधिवेशनले एउटा विधि बनाएपछि यी समस्या हल हुन्छ ।’
यसैगरी सुदूरपश्चिमका अध्यक्ष हरिराम चौधरीले अहिले नेतृत्वमा प्रचण्डको विकल्प नभएको जिकिर गरे । उनले पार्टी रूपान्तरणसँगै नेतृत्व हस्तान्तरणको बहस हुँदै जाने स्पष्ट पारे ।
‘पार्टीभित्र समग्र युवा तथा अन्य नेताहरूको तुलनामा सक्रिय नेतृत्व अहिले प्रचण्डबाहेक अन्य देखेको छैन । समयअनुसार रूपान्तरण हुनुपर्छ । प्रचण्ड आफै रूपान्तरण भइरहनुभएको छ । उहाँले जेनजीको भावना, समग्र देशका युवाहरूको भावना समेट्न सक्ने खुबी मैले उहाँमै देखेको छु । नेतृत्व हस्तान्तरणको विषयमा प्रचण्डको विकल्प देखेको छैन’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण