कर्णाली सरकारद्वारा खर्च कटौतीको तयारी, दुई अर्बभन्दा बढी घट्ने
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यापक कटौती गर्ने तयारी थालेको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन यो कदम चालिएको हो । अर्थसचिव यज्ञ पुरीका अनुसार यसका लागि आन्तरिक रूपमा तयारी भइरहेको छ । तिहारलगत्तै खर्च कटौतीसम्बन्धी प्रतिवेदन तयार भई पारित हुनेछ । सोहीअनुसार सरकारले आवश्यक तयारी गरिरहेको छ ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार मुख्यमन्त्री यामलाल कँडेलले दुई पटक सचिवहरूसँग बैठक बसी कुन–कुन शीर्षकमा खर्च कटौती गर्न सकिन्छ, त्यस सम्बन्धमा मन्त्रालयहरूलाई नै प्रस्ताव पेस गर्न निर्देशन दिइसकेका छन् । यद्यपि, अहिलेसम्म कर्मचारीतन्त्रले स्पष्ट खाका प्रस्तुत गर्न सकेको छैन ।
अर्थसचिव यज्ञ पुरीले आन्तरिक तयारी भइरहे पनि अर्थमन्त्री राजीवविक्रम शाह अस्वस्थ भएका कारण ढिलाइ भएको बताए । ‘हाम्रो तयारी छ, तर अर्थमन्त्रीज्यू अस्वस्थ भएकाले बैठक बस्न सकेको छैन,’ उनले रातोपाटीसँग भने, ‘अब तिहार लगत्तै हुन्छ ।’
उनका अनुसार अन्य प्रदेश (लुम्बिनी, कोशी, बागमती) मा घाटा बजेटका कारण असार १५ गते नै खाता बन्द हुने अवस्था आउन सक्ने अवस्था छ । कर्णालीमा त्यस्तो घाटा बजेट नभए पनि चालु खर्चमा करिब २ अर्ब रुपैयाँ कटौती गर्ने अनुमान गरिएको छ ।
यसलाई बाध्यताभन्दा पनि आवश्यकताका रूपमा लिइएको उनको भनाइ छ ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२/८३) का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको थियो । चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
अर्थ सचिव पुरीले भने, ‘२ अर्बभन्दा बढी नै घट्छ होला । अब अहिले नै पूर्ण भन्न सकिन्नँ । अन्तिम फाइल बनेपछि थाहा होला ।’
हाल पुँजीगतभन्दा चालु प्रकृतिका धेरै कार्यक्रमहरू काटिने सम्भावना छ र यसले बजेटको कार्यान्वयनमा समेत सहजता ल्याउने विश्वास गरिएको छ ।
आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीबाट प्रदेश सरकारलाई ठुलो आर्थिक क्षति पुगेको थियो । उक्त आन्दोलनका कारण प्रदेश सरकारको कुल ७ करोड ८१ लाख ५० हजार १५६ रुपैयाँ ३५ पैसाको आर्थिक क्षति पुगेको थियो ।
आन्दोलनबाट सबैभन्दा धेरै क्षति प्रदेशसभामा भएको थियो । आन्दोलनकारीहरूले सभाका सम्पूर्ण संरचनामा तोडफोड र आगजनी गरेका थिए । यस्तै प्रदेश लेखा नियन्त्रकको कार्यालय, मुख्यमन्त्री र कृषि मन्त्रीको सरकारी निवास लगायतका संरचनामा पनि क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
-
आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण