बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

तिहारको रङ : सप्तरङ्गीको सौन्दर्य

सोमबार, ०३ कात्तिक २०८२, १० : ४७
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • तिहार पर्व रङ्गीन सौन्दर्य, सम्बन्ध, र सांस्कृतिक महत्त्वको उत्सव हो, जहाँ प्रकृति र आध्यात्मिकताको मिश्रण हुन्छ।
  • सप्तरङ्गी टीका, फूल र देउसीभैलो जस्ता परम्पराले भावनात्मक सम्बन्ध र समुदायलाई एकताबद्ध गर्छन्।
  • तिहारले जीवनको उत्सव मनाउन, आत्म-सम्मान गर्न, र आशा एवं कृतज्ञताको भावना जगाउन सिकाउँछ।

तिहारको रङ सप्तरङ्गीको सौन्दर्यमा खुलेको हुन्छ । यो भौतिक सजावटमा सीमित छैन । यो प्रकृति, सम्बन्ध र सांस्कृतिक एवम् आध्यात्मिकता मिश्रित विविध रङहरूको सङ्गम हो । यी रङहरूले भन्छन् हाम्रो जीवनको आधारशिला पनि यस्तै सामान्य वस्तुहरूबाट बनेको छ, जसलाई सुन्दरता दिन हामी आफैँले मेहनत गर्नुपर्छ । 

तिहारको सबैभन्दा महत्त्वपूर्ण भावनात्मक रङ सप्तरङ्गी टीकामा निहित छ । दिदीबहिनीले दाजुभाइको निधारमा लगाइदिने यो टीका केवल सात रङको मिश्रण होइन, यो त दीर्घायु, आरोग्य र सफलताको गहिरो कामनाले भरिएको प्रेमको प्रतीज्ञापत्र जस्तै हो । यो रङले रगतको सम्बन्धभन्दा माथि उठेर भावनात्मक सुरक्षा र स्नेहको एउटा अदृश्य घेरा निर्माण गरिदिन्छ । यसका साथै सयपत्री, गोदावरी र मखमली फूलहरूको रङले सम्बन्धको अमरता र पवित्रताको सन्देश दिन्छ ।

तिहारमा उत्सवको उमङ्ग हुन्छ र त्यहाँ चेतनाको सङ्गीत गुन्जिन्छ । जुन तिहारको धड्कन हो । काग, कुकुर, गाई, गोवर्धन र अन्तमा दाजुभाइ, दिदीबहिनीको पूजा गर्ने यो क्रमले सम्पूर्ण सृष्टिप्रति आभार प्रकट गर्ने हाम्रो महान् संस्कृतिलाई प्रतिबिम्बित गर्छ । यो उमङ्ग हाटबजारको भीड वा नयाँ लुगा, नयाँ पैसामा मात्र सीमित छैन, यो त प्राणी–जगतप्रति गरिने सम्मानमा पनि अभिव्यक्त छ ।

छरछिमेकी, आफन्तका घर आँगनमा पुगेर भट्याइने देउसी–भैलोको लय नेपाली जनजीवनको परम्परागत धुन हो । यस उत्सवको यो उमङ्गमय सामूहिक अभिव्यक्ति पनि हो । यो मनोरञ्जन होइन, यो त समुदायलाई एकसाथ जोड्ने, खुसी बाँड्ने र सांस्कृतिक विरासतलाई पुस्तान्तरण गर्ने एउटा मीठो प्रयाससमेत हो । लोकलय, लोकभाका र लोकजीवनका मीठा गीत र नाचमा हाम्रो जीवनको सम्पूर्ण ऊर्जा सङ्गृहीत भएको हुन्छ ।

तिहारको सबैभन्दा महत्त्वपूर्ण पाटो ‘जीवनको उल्लास’ हो । यो उल्लास बाहिरी होइन, भित्री आनन्दको अनुभूति हो । ‘म्ह: पूजा’ अर्थात् आत्म–पूजाले यो सन्देश दिन्छ कि संसारको सबैभन्दा ठुलो ‘मन्दिर’ र ‘ईश्वर’ हामी आफैँ हौँ । जब हामी आफैँलाई सम्मान गर्छौँ, आफ्नो अस्तित्व स्वीकार गर्छौँ, तब मात्र बाहिरी संसारमा खुसी बाँड्न सक्छौँ ।

तिहारको यो उल्लासले हामीलाई स्वतः जीवन एक उत्सव हो, यसलाई हरेक पल पूर्णताका साथ बाँच्नुपर्छ भन्ने शाश्वत सत्य सिकाउँछ । यो पर्वले हामीलाई अन्धकारबाट प्रकाशतिर, निराशाबाट आशातिर, विखण्डनबाट प्रेम र एकतातिर डोर्‍याएर लैजान्छ ।

यसैगरी तिहार पर्व रङ, उमङ्ग र उल्लासको यौटा त्रिवेणी संगम हो । यसको रङमा कला छ, उमङ्गमा संस्कृति छ र उल्लासमा जीवनको सार ! तिहारले हरेक वर्ष हामीलाई जीवनमा जतिसुकै उतार–चढाव आए पनि संयम रहन सिकाउँछ । आशाको दियो कायम राख्न र प्रकृतिप्रति कृतज्ञ बन्न प्रेरित गर्छ । त्यसैले, तिहार आफैँमा एउटा सुन्दर दर्शन हो, जसले सम्पूर्ण जगत्लाई एकै मालामा उन्न सिकाउँछ । र, त्यसलाई गलामा लगाएर सजाउन र जीवनलाई उत्सव, समर्पण र प्रेममा बिताउन लगाउँछ ।

अतः अँध्यारो हटाएर उज्यालो फैलाउने पर्व हो तिहार । तिहारको रङ भन्नु नै सप्तरङ्गीको अनुपम सौन्दर्यको गाथा हो । यसमा एकातिर सप्तरङ्गीको रङ हुन्छ अर्कोतिर भैलिनी, देउसी र झिलिमिली बत्तीको चहकिलो उज्यालोमा सुन्दरताको स्वरूप प्रस्तुत हुन्छ ।

रातिको अन्धकारबाट झरेको दियोको ज्योतिर्मय उज्यालोमा जब आँगन टहटह जून लागेझैँ हुन्छ, हृदय पनि उज्यालिन्छ । यो उज्यालो घिउतेल र बातीको मात्रै हुँदैन, यो उज्यालो मनको, सम्बन्धको र प्रेमको पनि हुन्छ । त्यसैले तिहारलाई रङको, प्रकाशको र आत्मीयताको पर्व भनिन्छ ।

घरका ढोकामा फूलहरूको माला झुन्ड्याइन्छ । ढोका अगाडि सप्तरङ्गी र सयपत्रीसहित कलात्मक मण्डप बनाइन्छ । रङको आकृति निर्माण र सजावटमा रङहरू सौन्दर्यको प्रतीक हुन् । ती मनका आकाङ्क्षा हुन् । जीवनमा सधैँ उज्यालो रहोस्, सधैँ सुन्दरता कायम बसोस् भन्ने कामनाका विम्ब हुन् । घर सधैँ धनधान्य, सुख–शान्तिले सम्पन्न भइरहोस् भन्ने मंगल कामना साथै माइती र चेली सुमधुर सम्बन्ध सदा जीवित रहिरहोस् भन्ने सदीक्षा पनि यसमा पोखिएको हुन्छ ।

तिहारका दिनहरूमा आकाश पनि सप्तरङ्गी मुस्कानमा हाँस्छ । धरती पनि गोदावरी, सयपत्री, मखमली, बाबरी अनेक फूल र तिनका सुगन्धमा मगमगाइरहेको हुन्छ ।

भैलोको मादलमा, देउसीको स्वरमा, दीपमाला र चिटिक्क पारिएका बाटोदोबाटो, घरआँगन, पूजा कोठाहरूमा सांस्कृतिक उत्सवको रङले सौन्दर्यको वर्षा गराइरहेको हुन्छ । तिहारमा जताततै सप्तरङ्गी सौन्दर्य झल्किनु र प्रकृति नै सफा भएर देखिनु यस पर्वको विशेषता पनि हो ।

तिहारका पाँच दिन रङ्गरोगन, दीपज्योतिले रात पनि दिन जस्तै उदाएको हुन्छ । घर–घर उज्यालो बलेका, आकाशमा पटाकाको उज्यालो, सडकमा मान्छेका अनुहारहरूमा चहकिलो मुस्कान । यति बेला मान्छे आफ्नो पीडा बिर्सन्छ, ऋण, रुग्णता, अभाव सबैलाई बिर्सिन्छ । हृदयमा आशा बल्छ– ‘भोलि अवश्य अझ राम्रो हुनेछ ।’

वास्तवमा तिहारको सौन्दर्यलाई आँखाले हेर्ने होइन, आत्माले महसुस गर्न सक्नुपर्छ । उज्यालोले अँध्यारो हटाए जस्तै सप्तरङ्गीको सौन्दर्यले उत्सवको मौसम निम्त्याइदिनुपर्छ । मनको उदासी पनि हटाइदिनुपर्छ । सप्तरङ्गीले घर आँगन मात्रै सजिसजाउ गरिएको हुँदैन हाम्रो जीवन पनि सजाइरहेको हुनुपर्छ । 

शायद यही भएर तिहार सधैँ नयाँ लाग्छ– हरेक वर्ष फर्किन्छ, तर हरेकचोटि फरक अर्थ बोकेर आउँछ । दिदी र बहिनीको मीठो–मीठो कोसेली बोकेर आउँछ । दाजु र भाइको आशीर्वाद र दक्षिणा थापेर जान्छ । मिलनको सेलरोटी पकाउँछ । मेवामिष्ठान्नको स्वाद चखाउँछ । भेटभलाकुसारी र दुःख बाँड्ने, सुख साट्ने अवसर बनेर आउँछ ।

वास्तवमा तिहार कसैको लागि सम्झनाको दीप, कसैको लागि प्रेमको उज्यालो, कसैको लागि पुनर्मिलनको प्रतीक । त्यसैले तिहारमा रङमात्र होइन, मन पनि रङ्गिन्छ । सौन्दर्यको कोपिला फक्रिन्छ, फुल्छ र त्यसले समग्र वातावरणलाई शारदीय यामको सुखद सन्देश बाँड्दै सप्तरङ्गी सौन्दर्यको शुभेच्छा व्यक्त गर्छ ।

घरका कान्ला, बारी र गमलामा मुस्कानभरि खुसी छचल्काउँदै फूल फुल्छ । आत्मामा सुगन्ध पस्छ । त्यो सुगन्ध मानवताको, स्नेहको, र एकताको सुगन्ध हो ।

त्यसैले तिहार यौटा सुन्दर पर्व हो । जीवनको एक कविताजस्तै यो पर्वमा प्रत्येक व्यक्ति कलात्मक  रङमा रङ्गिएको हुन्छ । हरेक पङ्क्ति रङले लेखिएको हुन्छ । हरेक बोली रङको सौन्दर्यमा बोलिएको हुन्छ । र, प्रत्येक उज्यालोपन एक–एक शब्दझैँ बलिरहेको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप