बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँग कलाकारहरूकाे भेटवार्ता, दिए यस्ताे सुझाव

बुधबार, ०५ कात्तिक २०८२, १९ : ०५
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरे, र उनलाई प्रोपागाण्डाको सामना गर्न सुझाव दिए।
  • भेटमा कलाकारहरूले सरकारलाई भ्रष्टाचारविरुद्धको कारबाही र निर्वाचनमा ध्यान दिन आग्रह गरे।
  • कलाकारहरूले सरकारलाई दुष्प्रचारबारे सचेत रहन र सकारात्मकता कायम राख्न आग्रह गरे।

काठमाडौँ । कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बुधबार समकालीन नेपाली सिनेमाका ९ जना कलाकारहरूले प्रधानमन्त्री कार्की बालुवाटारमा भेटवार्ता गरेका हुन् । 

भेटवार्तामा कलाकारहरूले अफवाह र प्रोपोगान्डाबाट नडराई आफ्नो सङ्कल्पअनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ्न समेत कलाकारहरूले सुझाव दिए । कलाकार ऋचा शर्माले सरकारसँग केही माग्न आएको नभई देश बस्न लायक हुनुपर्ने बताइन् । उनले  यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढ्नुपर्नेमा जोड दिँदै आफूहरू साथमा रहेको बताइन् । 

निष्कलङ्क छवि र मुलुकको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास कायम गरिसकेर घरमा आराम गरिरहेको अवस्थामा यो कठिन परिस्थिति सम्हाल्न आएकामा प्रधानमन्त्री कार्कीप्रति उनले कृतज्ञता पनि प्रकट गरिन् । 

‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न आमा आउनुभएको छ,’ अभिनेतृ शर्माले भनिन्,‘हामीलाई ढुक्क भएको छ । यहाँको सरल, सादगीपूर्ण र स्पष्ट वक्ता शैलीका कारण पनि भरोसा जागेको छ । अब मुलुक ठिक दिशामा अघि बढ्नेछ । यहाँहरू अविचलित रही अघि बढ्नुहोस्, हामी साथमा हामी छौँ।’

यो परिवर्तन नरुचाएका तत्त्वहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको र त्यसका लागि सामाजिक सञ्जालमा दुष्प्रचार भइहरेकोमा पनि कलाकारहरूले चिन्ता व्यक्त गरे । यस्तो दुष्प्रचार र प्रोपोगान्डाप्रति सचेत रही सरकारले गरेका कामकारबाहीको विवरण नियमित सार्वजनिक गर्नुपर्ने उनीहरूको आग्रह गरे । 

अभिनेता विपिन कार्कीले भने,‘गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ । सरकारप्रति थप विश्वास र आशा जागेको छ। अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ ।’

गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सराहना गर्दै देशमा सरकार छ भन्ने कुराको अनुभूति भएको कार्कीले बताए ।  

‘सरकारले नबोलेका कारण पनि चर्को स्वरले कराउने खराब र दूषित तत्त्वहरू सामाजिक सञ्जालमा हाबी भएका छन्,’ अभिनेता निश्चल बस्नेतले भने, ‘आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन । ढुक्कसँग अघि बढ्नुहोस् । तपाईँको पक्षमा हामी छौँ । देशलाई थप अप्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ । सरकारलाई सहयोगको खाँचो छ । र, यतिखेर सकारात्मकताको खाँचो छ ।’

विभिन्न प्रकारका दागी र भ्रष्टाचारका आरोपीहरूले के भन्छन् भन्ने कुरालाई महत्त्व नदिन पनि उनले प्रधानमन्त्री कार्कीलाई आग्रह गरे । 

साहित्य र कलाले आलोचनात्मक चेत बोक्ने भए पनि अहिले तटस्थ नागरिक सरकार रहेको र पूर्वप्रधानन्यायाधीशदेखि समाजका प्रतिष्ठित, विज्ञ, विशेषज्ञहरू मन्त्रिमण्डलमा सामेल भएका कारण पनि कम्तीमा विगतमा जस्तो बेथितिको संरक्षण हुने छैन भन्ने विश्वास कलाकारहरूको थियो । 

सङ्गीतकार कालीप्रसाद बाँस्कोटाले भने,‘समाज भड्काउन सजिलो छ। सम्हाल्न गाह्रो छ। अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन् । त्यस्ता तत्त्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो ।’

यो सरकारलाई बदनाम र कमजोर बनाउँदै अस्थिरताको लाभ लिन खोज्नेहरूले नियोजित रूपमा चलाइरहेका अभियानलाई निस्तेज बनाउन जेनजी युवादेखि परिवर्तन पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि उनले औँल्याए । 

त्यस्तै अभिनेता विजय बरालले भने, ‘यो परिवर्तनको पक्षमा रहेका हामी सारा नेपाली जनता एकातिर छौँ। जनताबाट तिरस्कृत एउटा फुच्चे पावर अर्कोतिर छ। त्यसले हामीलाई पेलिरहेको छ। यो कुरा हामी सबैले बुझ्नुपर्छ।’ 

दुष्प्रचार चिर्नका लागि कलाकारहरूले पनि भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड दिइन् । असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग नडराउने उनले बताइन् । 

भेटघाटमा कलाकार तथा सर्जकहरू विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, रिचा शर्मालगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप