शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

युभेन्टसविरुद्ध गोल गरेपछि बेलिङ्घमको प्रशंसा, अलोन्सो भने 'विश्वकै पूर्ण खेलाडी'

बिहीबार, ०६ कात्तिक २०८२, ०६ : ३६
बिहीबार, ०६ कात्तिक २०८२

सारांश

  • रियल म्याड्रिडका प्रशिक्षक जाभी अलोन्सोले जुड बेलिङ्घमलाई 'विश्वका सबैभन्दा पूर्ण खेलाडी' भनेर प्रशंसा गरे।
  • बेलिङ्घमले युभेन्टसविरुद्धको खेलमा गोल गरे, जुन उनको सिजनको महत्त्वपूर्ण सुरुवात हुन सक्छ।
  • रियल म्याड्रिड च्याम्पियन्स लिगमा तीन खेलमा तीन जितसहित पाँचौँ स्थानमा छ भने युभेन्टस जितविहीन छ।

म्याड्रिड । रियल म्याड्रिडका प्रशिक्षक जाभी अलोन्सोले युभेन्टसविरुद्धको च्याम्पियन्स लिगमा सिजनको पहिलो गोल गरेपछि मिडफिल्डर जुड बेलिङ्घमलाई ‘विश्वका सबैभन्दा पूर्ण खेलाडीहरूमध्ये एक’ भनेर प्रशंसा गरेका छन्।

काँधको चोटबाट फर्केपछि यस सिजन जम्मा तीन खेलमा सुरुवाती खेलाडीको रूपमा र चार खेलमा सब्सटिच्युटको रूपमा मात्रै देखिएका बेलिङ्घमका लागि हालसम्मको अभियान कठिन रहँदै आएको थियो। युरोपियन प्रतियोगितामा १० मिनेट मात्र खेलेका उनले क्लब विश्वकपपछि पहिलो पटक गोल गर्न सफल भए। 

२२ वर्षीय बेलिङ्घमले भिनिसियस जुनियरको प्रहार पोस्टमा लागेर फर्केको बललाई जाली चुमाउँदै निर्णायक गोल गरे। ‘गोलभन्दा माथि रहेर जुडले साँच्चै नै पूर्ण खेल खेले,’ अलोन्सोले भने। 

उनले थपे, ‘गेटाफेविरुद्ध (आइतबार) र आजको खेलमा उनले जुन तरिकाले खेले, त्यो मलाई असाध्यै मन पर्‍यो। उनको प्रतिस्पर्धात्मक भावना र खतरनाक अवसर सिर्जना गर्ने क्षमताले मलाई राम्रो अनुभूति दिएको छ। म उनीबाट धेरै खुसी छु।’ उनले बेलिङ्घमलाई गोल गर्ने सीप र क्षमता भएको तर बक्स-टु-बक्स खेलाडी पनि भएको भन्दै उनको प्रशंसा गरे।

१५ पटकको विजेता रियल म्याड्रिड तीन खेलमा तीन जितसहित तालिकाको पाँचौँ स्थानमा छ, जबकि युभेन्टस हालसम्म प्रतियोगितामा जितविहीन रहँदै २५ औँ स्थानमा छ। गत सिजन रियलका लागि २३ गोल र १३ असिस्ट गरेका बेलिङ्घमको यो गोल उनको यस सिजनको अभियानलाई अगाडि बढाउने महत्त्वपूर्ण सुरुवात हुन सक्छ। यो खेलमा किलियन एम्बाप्पे अगस्टपछि पहिलो पटक गोल गर्नबाट चुके।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप