शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एडिलेडमा भारतको हार: एक खेल बाँकी छँदै अस्ट्रेलियाद्वारा सिरिज कब्जा

बिहीबार, ०६ कात्तिक २०८२, २० : ४८
बिहीबार, ०६ कात्तिक २०८२

सारांश

  • अस्ट्रेलियाले भारतलाई २ विकेटले पराजित गर्दै शृङ्खला जित्यो।
  • भारतले पहिले ब्याटिङ गर्दै २६४ रन बनायो, जसमा रोहित शर्मा र श्रेयस अय्यरको महत्वपूर्ण योगदान रह्यो।
  • म्याथ्यू शर्ट र कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनले अस्ट्रेलियालाई जित दिलायो, र कोहली लगातार दोस्रो खेलमा शून्य रनमा आउट भए।

एडिलेड । अस्ट्रेलियाले एडिलेडमा बिहीबार भएको दोस्रो एकदिवसीय खेलमा भारतलाई २ विकेटले पराजित गर्दै एक खेल बाँकी छँदै तीन खेलको शृङ्खला कब्जा गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६४ रन बनायो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७३ रन र श्रेयस अय्यरले ६१ रनको योगदान दिए। 

अस्ट्रेलियाका तर्फबाट एडम जम्पाले चार विकेट लिए। जवाफमा, अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। उसका लागि म्याथ्यू शर्टले ७४ रन बनाए भने कूपर कोनोली ६१ रनमा अविजित रहे। 

भारतका अर्शदीप सिंह, वासिङ्टन सुन्दर र हर्षित राणाले २-२ विकेट लिए। तेस्रो तथा अन्तिम एकदिवसीय खेल अक्टोबर २५ मा सिड्नीमा हुनेछ।

यसै खेलमा कप्तान रोहित शर्मा एकदिवसीय क्रिकेटमा भारतका लागि सर्वाधिक रन बनाउने तेस्रो ब्याट्सम्यान बनेका छन्। उनले पूर्व कप्तान सौरव गांगुलीलाई पछि पारेका हुन्। रोहितले भारतका लागि २७५ खेलमा ११,२४९ रन बनाएका छन्।

  • कोहली लगातार दोस्रो खेलमा शून्यमा आउट

यस खेलमा पनि विराट कोहली खाता नखोली (शून्य) रनमै आउट भए। लगातार दोस्रो एकदिवसीयमा शून्यमा आउट हुँदा पनि एडिलेडमा उपस्थित दर्शकहरूले उनको सम्मानमा उठेर ताली बजाएका थिए। कोहलीले हात हल्लाएर दर्शकलाई धन्यवाद दिएका थिए। कोहली टेस्ट र टी-२० बाट सन्यास लिइसकेकोले, यो एडिलेडमा उनको अन्तिम अन्तर्राष्ट्रिय इनिङ्स हुन सक्ने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप