फुटबलको मैदानदेखि सुरक्षाको मोर्चासम्म अब्बल अनिल
सारांश
- प्रहरी अधिकृत अनिल अधिकारीको अवकाशपछि काठमाडौंमा भिड नियन्त्रण योजना बनाउन सक्ने व्यक्तिको अभाव खड्किएको छ।
- २०८० चैत १६ मा अवकाश पाएका अधिकारीले विभिन्न आन्दोलन र विरोध प्रदर्शन नियन्त्रणको सुरक्षा योजना बनाएका थिए।
- जेनजी प्रदर्शनपछि सुरक्षा योजनाको अभाव खड्किएपछि पूर्व प्रहरीहरुले अनिल अधिकारीलाई सम्झिए।
काठमाडौँ । प्रहरी संगठन भन्नासाथ शान्ति सुरक्षा, कानुन पालना, अपराध अनुसन्धान र कारबाही प्रक्रियाबारे बहस गरिरहेका हुन्छौँ ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनपछि प्रहरीको मनोबल कमजोर बनेको छ । भिड नियन्त्रण गर्ने चुस्त योजना बनाउन नसक्दा प्रदर्शन नियन्त्रण बाहिर गएको र लिथल हतियार प्रयोग गर्नुपर्ने अवस्था आएको सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरूको विश्लेषण छ ।
अनिल अधिकारी त्यस्ता पात्र हुन्, जसले आफ्नो प्रहरी जीवनमा करिब १ दशक काठमाडौँमा भएका विभिन्न आन्दोलन तथा विरोध प्रदर्शन नियन्त्रणको सुरक्षा योजना बनाए ।
२०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणमा नेपाल आउँदा अधिकारी नेतृत्वको टिमले बनाएको सुरक्षा योजना केन्द्रीय सुरक्षा समितिबाट पारित भएको थियो । अधिकारीले सार्क शिखर सम्मेलन, काठमाडौँमा हुने फुटबल र क्रिकेटका ठुला प्रतियोगितामा भिड व्यवस्थापनको योजना बनाए ।
सुरक्षा योजना बनाउन काबिल मानिएका अधिकारीले २०८० चैत १६ मा अवकाश पाए । त्यसपछि काठमाडौँमा भिड नियन्त्रणको योजना तयार गर्न सक्ने ‘काबिल अफिसर’को अभाव खट्किएको छ । अधिकारीले डीएसपीबाट अवकाश पाएका हुन् ।
अप्रत्याशित परिस्थितिमा आफूलाई ढालेर उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने प्रेरणा दिने अधिकारी फुटबलको मैदानबाट उदाएका हुन्, जसले खेलको अनुशासन र रणकौशललाई प्रहरी सेवामा समेत उत्तिकै महत्त्व दिए ।
._Uz1x5wolYz.jpg)
काठमाडौँको क्षेत्रपाटीमा जन्मे–हुर्केका उनले प्रारम्भिक शिक्षा लैनचौरको शान्ति विद्यागृहबाट हासिल गरे । उनले पब्लिक युथ क्याम्पसबाट बी.कम गरेका छन् ।
स्कुल पढ्दादेखि नै फुटबलमा रुचि राख्ने अधिकारीले जनकपुर चुरोट कारखानाको टिमबाट व्यावसायिक फुटबलको यात्रा सुरु गरे । उनले भने, ‘बुवाको जागिर चुरोट कारखानामा थियो, त्यहाँको टिमको जर्सी लगाएर मैदानमा उत्रिएँ ।’
फुटबल सुरु गरेपछि अन्डर–१६ र अन्डर–१९ खेल्दै अघि बढेका अधिकारीले पछाडि फर्केर हेर्नु परेन । टुँडिखेलमा फुटबलको अभ्यास गर्दै गर्दा असईमा जागिर खुल्यो । चुरोट कारखानाको तत्कालीन कप्तान सुरेश बस्नेतले उनलाई प्रहरीमा फारम भर्न सुझाए । प्रहरी सेवामा प्रवेश गरेर फुटबलमै अघि बढ्न सकिने भन्दै बस्नेतले अधिकारीलाई प्रेरित गरे । बस्नेत पनि प्रहरीमा आएर कप्तान भएका रहेछन् ।
त्यसपछि अधिकारीले प्रहरी सहायक निरीक्षकको फारम भरे । २०५१ मा उनले असईमा नाम निकाले । प्रहरीमा तालिम लिँदा पनि उनले फुटबलको प्रतिस्पर्धा खेल्न पाउँथे । त्यसपछि अधिकारी प्रहरीका खेलाडी भएर चिनिए ।
अधिकारीले भने, ‘चुनावको बेलामा चाहिँ चुनाव गराउन खटिनुपर्ने हुन्थ्यो । अरू बेला सधैँ प्रहरीको टिमबाट म फुटबल मैदानमा नै हुन्थेँ ।’
उनले २०६३ सम्म लगातार फुटबल खेलिरहे । २०६३ पछि खुट्टामा समस्या आयो । रमेश खरेल खेलकुद विभाग हेर्ने प्रमुख थिए । मैदान नछाड्न अनुरोध गर्दै खरेलले उनलाई भने, ‘तिमी खेल्न नसक्ने भए टिम हेर ।’
..._iksfG1oBkY.jpg)
त्यसपछि इरानमा गएर ‘सी’ लेभलको कोचिङ कोर्स गरेर अधिकारी प्रहरीको फुटबल टिमलाई प्रशिक्षण गराउन थाले ।
- पुलिसको कप्तान
अधिकारी २०५४ मा प्रहरीको फुटबल टिमको कप्तान भए । २०६३ सालसम्म उनले पुलिस टिमको नेतृत्व गरे । त्यसबेला नेपालमा हुने अधिकांश टुर्नामेन्ट प्रहरीले जितेको थियो । त्यो जितको श्रेय अधिकारीलाई जान्छ । उनी सम्झन्छन्, ‘हाम्रो टिम हाइलाइटेड थियो ।’
त्यो अवधिमा प्रहरीले लगालग ४२ वटा सिल्ड उठाएको थियो । अधिकारी करिब १० वर्ष लगातार प्रहरीको टिमको कप्तान रहे । मैदान छाडेपछि उनले २०६६ सालसम्म प्रहरीको टिमलाई कोचिङ गरे ।
प्रहरी नायव निरीक्षक (सई) हुँदा अधिकारी युएन मिसन अन्तर्गत दक्षिण सुडानमा गए । त्यसबेला बसन्तपुरस्थित काठमाडौँ जिल्ला प्रहरी कार्यालयलाई ‘हनुमान ढोका’ भनिन्थ्यो । २०६९ मा अधिकारीको सरुवा हनुमान ढोकामा भयो । त्यसपछि उनी फुटबल छाडेर ‘पुलिसिङ’मा रम्न थाले ।
_YYlUJr6jM6.jpg)
हनुमान ढोकामा त्यसबेला प्रशासन शाखा प्रमुख थिए धिरज प्रताप सिंह । पछि उनी आईजीपी भए । सिंहले अधिकारीलाई नागढुंगा, दरबारमार्ग र लैनचौर जस्था युनिट इन्चार्ज हुन आग्रह गरे । खेलाडी पृष्ठभूमिबाट आएका अधिकारीले भने, ‘अनुभव छैन, म जान्नँ हजुर ।’
ती ठाउँमा प्रहरीका जुनियर अधिकृतहरू पावर लगाएर जान्थे, तर अधिकारी हनुमान ढोकामै बसे । उनलाई तत्कालीन डीएसपी उत्तम सुवेदीले फिल्ड अप्रेसन सिकाए ।
अधिकारीले काठमाडौँ जिल्लाको प्रशासन र अप्रेसन हेर्न थाले । तत्कालीन हनुमान ढोका (अहिलेको जिल्ला प्रहरी परिसर काठमाडौँ)मा बसेर अधिकारीले प्रदर्शन र राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मेलनको सुरक्षा योजना बनाए । करिब १३ वर्ष त्यहाँ बस्दा उनी सईबाट डीएसपी भइसकेका थिए ।
काठमाडौँको कमाण्ड सम्हाल्ने एसएसपीहरू उनलाई आफ्नो ‘दाहिने हात’ भन्थे । २०८० चैत १६ मा अवकाश पाउँदा काठमाडौँ प्रहरी प्रमुख भूपेन्द्र खत्रीले अधिकारीलाई बाजागाजा सहित कार्यालयबाट घरसम्म लगेर छाडे । अधिकारीको शानदार बिदाइ गरियो ।
...._61mZ43wuAH.jpg)
- जेनजी प्रदर्शनले सम्झाएका अधिकारी
हनुमान ढोकामा करिब १३ वर्ष बस्दा अधिकारीले सुरक्षा योजना बनाउने काम गरे । उनले बनाएको योजना अनुसार प्रहरी परिचालन गर्दा कुनै समस्या आउँदैन थियो । इन्स्पेक्टर र डीएसपी हुँदा उनी एक पटक पनि इन्चार्ज गएनन् । उनले काठमाडौँमा बस्दा १९ जना एसएसपीसँग काम गरे ।
एकपटक प्रहरी प्रधान कार्यालयले उनको सरुवा गर्न खोज्दा काठमाडौँ प्रहरीका तत्कालीन प्रमुख रविन्द्र धानुकले प्रहरी प्रधान कार्यालयमा फोन गरेर भने, ‘मेरो हात भाँचिन्छ, अनिललाई नचलाइदिनुस् ।’
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन प्रहरीको कमजोर मूल्याङ्कन र मजबुत सुरक्षा योजना नहुँदा नियन्त्रण बाहिर गयो । त्यसपछि धेरै पूर्वप्रहरी र बहालवालाहरूले अनिल अधिकारीलाई सम्झिए ।
लामो अवधि एउटै युनिटमा बसेका अधिकारीले आफ्नो सम्पूर्ण ध्यान पुलिसिङमा लगाए । उनी भन्छन्, ‘राति अबेर घरमा गएर सुत्ने र उज्यालो भुइँमा खस्न नपाउँदै उठेर कार्यालय पुग्थेँ ।
निरन्तर खेल्न पाइने अवसर देखेर प्रहरी रोजेका अधिकारी अवकाशपछि फेरि फुटबल क्षेत्रमै फर्केका छन् । अधिकारी अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा प्रशिक्षक नियुक्त भएका छन् । अधिकारी अहिले एन्फामा ग्रास रुट ट्रेनिङ र खेलमा फिक्सिङ हुनसक्नेबारे इन्टिग्रिटी कक्षा लिन्छन् ।
(फोटो : सुवास श्रेष्ठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण