बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

बाबुरामले पद त्यागेपछि के गर्दैछ नेसपा नयाँ शक्ति ?

आगामी निर्वाचनमा भने भट्टराईले भाग लिने
शुक्रबार, ०७ कात्तिक २०८२, ११ : ३०
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • नेपाल समाजवादी पार्टीको महाधिवेशन आयोजक समितिको बैठक छठ पर्वपछि बस्ने भएको छ।
  • डा. बाबुराम भट्टराईले नेतृत्व छाडेपछि दुर्गा सोवको संयोजकत्वमा आयोजक समिति गठन गरिएको हो।
  • आगामी निर्वाचनमा भट्टराई प्रतिस्पर्धा नगर्ने र वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्ने शर्माले बताए।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को महाधिवेशन आयोजक समितिको बैठक छठ पर्व लगत्तै बस्ने भएको छ । जेनजी विद्रोहपछि असोज ८ गते बसेको नयाँ शक्तिको केन्द्रीय समितिको विशेष बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्यागेको घोषणापछि उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा आयोजक समिति बनाएको थियो । 

अब बस्ने आयोजक समितिको बैठकले महाधिवेशनको मिति घोषणा गर्ने प्रवक्ता कृष्ण शर्माले जानकारी दिए । ‘दुर्गा सोवको संयोजकत्वमा गत वर्ष महाधिवेशनमा पराजित भएकालाई समेत समेटेर  केन्द्रीय समिति पुनर्गठन गरिएको छ । छठ लगत्तै आयोजक समितिको बैठक बसेर महाधिवेशनको मिति तय, तयारी लगायत विषयमा निर्णय लिन्छ । अहिले हामी देशभर अभियानमा जुटेका छौँ’, उनले भने ।

आगामी महाधिवेशनमा भट्टराई नेतृत्वमा प्रतिस्पर्धा नगर्ने, वैकल्पिक राजनीतिक शक्तिहरूसँग सहकार्य गरी नयाँ शक्ति निर्माणमा भूमिका खेल्ने शर्माले स्पष्ट पारे । उनले भने–‘उहाँ फेरि नेतृत्वमा दोहोरिनु हुन्न । पार्टीको संरक्षकको भूमिकामा नयाँ र वैकल्पिक शक्तिहरूलाई गोलबन्द गर्ने काममा लाग्नुहुन्छ । सबै समूहसँग एउटै वैकल्पिक शक्ति बनाएर जाने विषयमा छलफल भइरहेको छ ।’

परिवर्तित अहिलेको समयमा अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले त्यसको तयारीमा समेत लाग्नुपर्ने भएकाले सबै नयाँ र वैकल्पिक शक्तिसँग छलफललाई तीव्रता दिएको शर्माले बताए । तर कुन-कुन पार्टी र समूहसँग छलफल भइरहेको छ भन्ने विषयमा उनले खुलाउन चाहेनन् । 

भदौ २३ र २४ गते जेनजी विद्रोह तथा विध्वंसको भट्टराईले समर्थन गर्दै आएका छन् । २०७९ सालमा भएको सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोडेकोमा पश्चात्ताप गरेका भट्टराई आगामी निर्वाचनमा भने भाग लिने शर्माले स्पष्ट पारे ।

‘गोरखा–२ प्रचण्डलाई छोडेकोमा उहाँले पश्चात्ताप गर्नुभएको छ । गोरखाका जनताले पनि निर्वाचनमा उठ्न पर्छ भनिरहनुभएको छ । जनमतको कदर गर्दै आगामी निर्वाचनमा उहाँ उठ्नुहुन्छ’, उनले भने ।

२०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति पुनर्गठन गरेका थिए । त्यसयता सङ्घीय समाजवादी, जनता समाजवादी, नेपाल समाजवादी पार्टी हुँदै गत वर्ष माघमा भएको महाधिवेशनबाट फेरि नयाँ शक्ति पुनर्गठन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप