बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनपछि ट्राफिक उल्लङ्घन बढ्यो

शुक्रबार, ०७ कात्तिक २०८२, २१ : १७
शुक्रबार, ०७ कात्तिक २०८२

जनकपुरधाम । जेनजी आन्दोलनपछि जनकपुरधाम र आसपासका क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गर्ने घटना बढेपछि धनुषा प्रहरीले कडा निगरानी र कारबाहीको चेतावनी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार एक सूचना जारी गर्दै अबदेखि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कानुन बमोजिम कडा कारबाही गर्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा विगतदेखि नै अपराध नियन्त्रण, शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि निरन्तर खटिँदै आएको भए पनि हालको परिस्थितिमा केही चालकहरूबाट गैर जिम्मेवार व्यवहार बढेको सूचनामा उल्लेख छ ।

प्रहरीका अनुसार केही मोटरसाइकल चालकहरूले हेल्मेट नलगाउने, सवारी साधनको संरचना परिवर्तन गर्ने, ठुला आवाज निकाल्ने, मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउने, तोकिएभन्दा बढी यात्रु बोक्ने र तीव्र गतिमा सवारी चलाउने जस्ता कार्यहरू बढेका छन् ।

त्यस्तै सवारी चेकजाँचका क्रममा प्रहरीसँग अनावश्यक वादविवाद गर्ने र उच्छृङ्खल व्यवहार देखाउने प्रवृत्ति पनि बढेको जनाइएको छ ।

यस्तै जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी गर्दा कार्यालयमा क्षति पुगेको स्मरण गर्दै प्रहरीले त्यस्तो अवस्थाबाट पुनः सामान्य अवस्था ल्याउनका लागि जनसहयोग आवश्यक रहेको जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप