शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छठमा दुई दिन राष्ट्रिय बिदा घोषणा गर्न माग

शनिबार, ०८ कात्तिक २०८२, १७ : १९
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • राष्ट्रिय मुक्ति पार्टी नेपालले छठ पर्वको मुख्य दुई दिन राष्ट्रिय बिदाको माग गरेको छ।
  • पार्टीले छठ पर्वलाई धार्मिक अनुष्ठान मात्र नभई प्रकृति, संस्कृति र मानव जीवनबीचको संवादको रूपमा व्याख्या गरेको छ।
  • पार्टी प्रवक्ताले मधेश आन्दोलनपछि प्राप्त बिदालाई आत्मस्वीकृत नभएको र स्वदेशवादी दृष्टिले अन्यायपूर्ण व्यवहार भएको बताए।

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले राष्ट्रव्यापी रूपमा मनाइने गरेको छठ पर्वको मुख्य दुई दिन राष्ट्रिय बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ। 

पार्टीका प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठले शनिबार जारी गरेको विज्ञप्तिमा छठ 'केवल धार्मिक अनुष्ठान नभई प्रकृति, संस्कृति र मानव जीवन बिचको गहिरो संवाद' भएको उल्लेख गर्दै राज्यले यस पर्वप्रति देखाएको उपेक्षाप्रति आपत्ति जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'चार दिनसम्म मनाइने छठ पर्वका लागि राज्यले एक दिन मात्र राष्ट्रिय बिदा दिँदै आएको छ । त्यो पनि मधेश आन्दोलनपछि दबाबका कारण प्राप्त अधिकार हो, आत्मस्वीकृत सम्मान होइन । स्वदेशवादी दृष्टिले यो अन्यायपूर्ण व्यवहार हो ।' 

प्रवक्ता श्रेष्ठले नेपाल बहुसांस्कृतिक र बहुलराष्ट्र राज्य भएकाले सबै समुदायका आस्था र संस्कृतिलाई समान सम्मान र अवसर दिनु नै राष्ट्रिय एकताको वास्तविक पहिचान भएको उल्लेख गरेका छन् । उनले छठ पर्वका मुख्य दुई दिन सन्ध्या अर्घ्य र बिहानको अर्घ्यलाई राष्ट्रिय बिदाको रूपमा मान्यता दिन सरकारसँग माग गरेका छन् । 

उनका अनुसार छठ पर्व मधेसको सभ्यता, संस्कृति र जीवनदर्शनसँग गहिरो रूपमा जोडिएको पर्व छ, जहाँ श्रम र श्रद्धा, प्रकृति र संस्कृति, साधना र सामूहिकता एकाकार हुन्छन् । नदी र सूर्यको आराधना केवल धार्मिक विधि नभई प्रकृतिप्रति आभार र सहअस्तित्वको उद्घोष पनि हो । 

छठ पर्वले सबैलाई प्रकृतिसँग आत्मीय सम्बन्ध पुनःस्थापित गर्न, श्रम र श्रद्धाको मूल्य बुझ्न र देशभित्रको विभेद, असमानता र अवहेलना अन्त्य गर्न प्रेरित गर्ने गरेको भन्दै उनले यो पर्वले समाजिक एकता कायम गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप