सरुवा : यादव सातौँ, मिश्र छैटौँ जिल्लामा सीडीओ हुँदा घिमिरेको ‘क’ वर्गको जिल्लामा ह्याट्रिक
सारांश
- गृह मन्त्रालयले ३६ सहसचिवको सरुवा गरेको छ, जसमा अधिकांश जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छन्।
- इन्द्रदेव यादवलाई सातौँ जिल्लाको सीडीओ र मिश्रलाई छैटौँ जिल्लाको सीडीओ बनाएर पठाइएको छ भने घिमिरेले 'क' वर्गको तेस्रो जिल्लामा सीडीओ बनेर ह्याट्रिक पूरा गरेका छन्।
- सरुवामा कार्यविधि विपरीतका सीडीओहरूलाई छोटो समयमै फिर्ता बोलाइएको छ र केही सीडीओहरूलाई अन्यत्र सरुवा गरिएको छ।
काठमाडौँ । गृह मन्त्रालयले आइतबार ३६ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओम प्रकाश अर्यालस्तरीय निर्णयबाट सरुवा हुनेमा अधिकांश जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परेका छन् ।
सरुवामा केही सहसचिव भाग्यमानी ठहरिएका छन् । अर्यालले सरुवा गर्दा एक सहसचिवलाई सातौँ जिल्लाको र अर्का सहसचिवलाई छैटौँ जिल्लाको सीडीओ बनाएर पठाएका छन् भने एक सहसचिवलाई कार्यविधि विपरीत ‘क’ वर्गको जिल्लामा ह्याट्रिक हान्नेगरी सीडीओ बनाएर पठाएका छन् ।
सातौँ जिल्लाको सीडीओ बन्न पाउनेमा परेका छन् सहसचिव इन्द्रदेव यादव । मोरङ जिल्लाको सीडीओ रहेका यादवलाई सरुवा गरेर फेरि महोत्तरीको सीडीओ बनाएर पठाइएको छ ।
गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको रेकर्ड अनुसार यादव सीडीओ भएको यो सातौँ जिल्ला हो । रेकर्डमा यादवले यसअघि चितवन, सुनसरी, रौतहट, सर्लाही, इलाममा पनि सिडिओ भएर काम गरिसकेको उल्लेख छ । यादवले अहिलेसम्म मोरङ, सुनसरी र चितवन गरी तीन वटा ‘क’ वर्गका जिल्लामा सीडीओ भएर काम गरेका छन् । २०७७ सालमा मधेसी कोटाबाट सहसचिव बनेका यादव ५ वर्षमा सातौँ जिल्लाको सीडीओ बन्न भएका हुन् ।
अर्यालले आइतबार सरुवा गर्दा अर्का सहसचिव मिश्रलाई छैटौँ जिल्लाको सीडीओ बनाएका छन् । अर्यालले मिश्रलाई सुनसरीबाट बाराको सीडीओमा सरुवा गरेका छन् । गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाको रेकर्डमा मिश्र यसअघि मिश्र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलवस्तु, रौतहट, कैलालीको सीडीओ बनेर काम गरिसकेका छन् ।
मिश्र मधेसी कोटाबाट राजश्वको उपसचिव बनेका थिए । २०७७ सालमा आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिवमा नाम निकालेका मिश्रले ५ वर्षमा छैटौँ जिल्लाको सीडीओमा बाजी मारेका हुन् ।
सरुवामा अर्का सहसचिव वासुदेव घिमिरेले लगातार ‘क’ वर्गको तेस्रो जिल्लामा सीडीओ बनेर ह्याट्रिक पूरा गर्न सफल भएका छन् । यसअघि ‘क’ वर्गका कास्की र रुपन्देहीको सीडीओ बनेका घिमिरेलाई अर्यालले तेस्रो जिल्लाका रूपमा सुनसरीमा सरुवा भएर ह्याट्रिक पूरा गरेका हुन् । कास्कीको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भई गृहको जगेडामा केही दिन, त्यसपछि रुपन्देहीको सीडीओमा सरुवा र त्यहाँबाट सरुवा भई केही दिन फेरि गृहको जगेडामा बसेका घिमिरेले आइतबार सुनसरीमा सीडीओको जिम्मेवारी पाएका हुन् ।
२०६० सालमा लेखा अधिकृत भएका घिमिरेले प्रशासनमा छिरेर सहसचिव बनेका थिए । आइतबारको सीडीओ सरुवामा निवर्तमान गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडीले अन्य मन्त्रालय मातहतका निकायबाट गृहमा ल्याइ एकैपटक आकर्षक जिल्लाको नेतृत्व सुम्पिएकाहरूलाई फिर्ता बोलाइएको छ ।
प्रमुख जिल्ला अधिकारीको सरुवा कार्यविधि विपरीत सरुवा गरिएकालाई छोटो समयमै फिर्ता बोलाए पनि आर्यालले आफूले सरुवा गर्दा पनि कार्यविधि मिचेका छन् । अर्यालले कार्यविधि विपरीत रुपन्देही, भक्तपुर, सुनसरी, मकवानपुर, बाँकेमा लेखकले सरुवा गरेका सीडीओहरूलाई फिर्ता बोलाएका छन् ।
गृह मन्त्रालय छिरेर केही महिनामात्रै मन्त्रालयको महाशाखा प्रमुख बनेर रुपन्देहीको सिडिओ बनेका डा.टोकराज पाण्डेलाई लमजुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा भएको केही दिनमै पहिलो पोस्टिङ भक्तपुरको सिडिओमा भएका नमराज घिमिरेलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।
सहसचिव हुनेबित्तिकै ‘क’ वर्गको जिल्ला बाँकेको सिडिओ बनेका धर्मराज जोशीलाई उदयपुरमा पठाइएको छ । पहिलो पटक नै महत्त्वपूर्ण जिल्ला पर्साको सीडीओ बन्न सफल तोयनारायण सुवेदीलाई अर्घाखाँची पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण