शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भारतसँग खेल्दै नेपाल

सोमबार, १० कात्तिक २०८२, ११ : ११
सोमबार, १० कात्तिक २०८२

सारांश

  • नेपाली महिला फुटबल टोलीले सोमबार भारतसँग प्रतिस्पर्धा गर्दै छ।
  • खेल शिलोङको रंगशालामा साँझ ६:१५ बजे सुरु हुनेछ, नेपाल जितको योजनामा छ।
  • कप्तान सावित्रा भण्डारीले खेललाई दक्षिण एसियाली फुटबलको प्रतिष्ठाको लडाइँको रूपमा लिइन्।

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (सोमबार) त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत भारतसँग प्रतिस्पर्धा गर्दैछ । 

शिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपाल र भारतबिचको खेल नेपाली समय अनुसार साँझ ६ः १५ मा सुरु हुनेछ ।  पहिलो खेलमा इरानविरुद्धको निराशाजनक हार ब्यहोरेको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ । 

भारतविरुद्धको खेलमा नेपालका लागि आफूलाई दक्षिण एसियाको बलियो टोली साबित गर्ने मौका हो ।  नेपाली टोलीकी कप्तान सावित्रा भण्डारीले आजको खेल जित मात्र नभएर दक्षिण एसियाली फुटबलको प्रतिष्ठाको लडाइ पनि भएको बताइन् । 

‘आजको खेल दक्षिण एसियाको प्रतिष्ठाको लडाइ हुनेछ । हामी त्यसैअनुसार अघि बढ्ने छौँ । पहिलो खेलमा भएका कमजोरीलाई नियाल्दै बलियो भएर अघि बढ्ने छौँ,’ भण्डारीले भनिन् । 

शुक्रबार इरानसँग ३–० गोलले पराजित भएको नेपाली टोलीलाई आजको खेलमा ‘कमब्याक’ गर्ने मौका छ । आजको खेलमा जित निकाल्दै तीन अङ्क जोड्दै नेपाल फर्कने योजना भएको प्रशिक्षक नवीन न्यौपानेले भने । 

‘आजको खेलमा तीन अंकका लागि खेल्नेछौँ । भारत र नेपाल दक्षिण एसियाकै बलियो टोली हुन् । त्यसैले प्रतिष्ठा जोगाउन पनि जित आवश्यक छ,’ मुख्य प्रशिक्षक न्यौपानेले भने ।  त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताको उपाधि भने इरानले जितिसकेको छ । भारत र नेपाललाई हराउँदै इरानले उपाधि जितेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप