थानीमाई मन्दिरमा एकैदिन ८६ फूलका डोली भित्रिए
तनहुँ । जिल्लाको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा आज एकैदिन ८६ वटा फूलको डोली भित्रिएका छन् ।
तनहुँबाट ३५, लमजुङबाट २५, गोरखाबाट १२, चितवनबाट आठ, पोखराबाट चार, नवलपरासी र काठमाडौँबाट एक/एक गरी ८६ फूलका डोली भित्र्याइएको हो ।
मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले सोमबार सत्यनारायणको पूजा गरी तयार गरिएका फूलका डोली मन्दिरमा चढाउने परम्परा रहेको जानकारी दिए ।
उनले भने, “सात सय जना भक्तजनले रातभर जाग्राम बसेर बत्ती बालेका छन् भने आठ हजार ८७७ जनाले दर्शन गरेका छन् । विसं २०७२ मा एकै दिन एक सय १५ वटा डोली भित्र्याइएको थियो । त्यसपछि आजकै दिन धेरै फूलको डोली आएको हो ।”
कात्तिकको पहिलो मङ्गलबार औँशी परेकाले फूलको डोली भित्र्याइएको हो । यहाँ एकादशी, औँशी, सोह्रश्राद्ध र साउन महिनाभर मन्दिरको ढोका खोलिँदैन ।
विशेष गरी कात्तिक र माघ महिनामा यहाँ ठुलो मेला लाग्ने र अन्य महिनामा भने सामान्य हुने गरेको सो समितिले जनाएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न ठाउँबाट भक्तजन पूजाअर्चनाका लागि यहाँ आउने गर्दछन् ।
भक्तजनले फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरमा नाचगान गर्दै तीन पटक परिक्रमा गर्छन् ।
परिक्रमापछि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ भने त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजा गर्ने गरिन्छ ।
आज मन्दिरमा फूलको डोली चढाउनेको भीड लागेको थियो । भक्तजनले चढाएको भेटी र दान गरी आज मात्र करिब रु ९० हजार सङ्कलन भएको मन्दिर संरक्षण समितिका सचिव हर्कबहादुर थापाले बताए ।
हाल मन्दिरसम्म पुग्ने सडक निर्माण गरिएकाले भक्तजनको सङ्ख्या पनि बढ्न थालेको छ । यस्तै, समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मीबजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खला देख्न पाइने भएकाले पनि आकर्षण बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण