त्रिपालमुनिबाट सेवा, कहिले होला सवारी लाइसेन्स छपाइ ?
सारांश
- जेनजी आन्दोलनका कारण क्षति पुगेको यातायात व्यवस्था विभागको सेवा आइतबारबाट सुचारु हुने भएको छ।
- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम भने अझै अनिश्चित रहेको छ, तर अन्य सेवाहरू सुचारु हुनेछन्।
- विभागले अस्थायी सर्भर जडान गरी सेवा प्रवाहको तयारी गरेको छ र लाइसेन्स छपाइका लागि विभिन्न विकल्पहरू खोजिरहेको छ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेपछि अवरुद्ध बनेको यातायात व्यवस्था विभागको सेवा आइतबारसम्म पुनः सञ्चालनमा आउने भएको छ । तर करिब २५ लाख सेवाग्राहीले प्रतीक्षा गरिरहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम भने अझै अनिश्चित छ ।
यद्यपि विभागका निर्देशक नरहरि तिवारीले सवारी लाइसेन्सबाहेक सबै सेवा आइतबारबाट सुचारु हुने बताएका छन् ।
‘सर्भर जडानलगायत कामहरू अगाडि बढ्दै छन्, अब सबै कुरा हामीलाई सहज हुँदै गयो भने आइतबारसम्म अरू सेवा प्रवाह गर्न सक्छौँ,’ तिवारीले भने, ‘लाइसेन्स प्रिन्ट गर्ने अवस्थामा त हामी पुग्दैनौँ । ट्रायल–ट्रायल दिनेलगायत प्रदेशबाट हुने सेवाहरू सुचारु गर्नेतिर हामी अगाडि बढिरहेका छौँ ।’
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विभागको भवन आगजनी हुँदा सर्भर पनि ध्वस्त बनेको थियो, यससँगै सबै सेवा पूर्ण रूपमा बन्द छ ।
त्रिपालमुनिबाट सेवा
विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार विभागले अस्थायी टहरो निर्माण गरी सेवा प्रवाहको तयारी गरेको छ । यस्तै विभिन्न सरकारी निकायबाट उपकरणहरू मागेर अस्थायी सर्भर जडान गरी सेवा सुचारु गर्न लागेको विभागले जनाएको छ ।
विभागको कार्यालय भवन पूर्ण रूपमा ध्वस्त छ । विभागले अस्थायी टहरो बनाएको थियो, तर मंगलबार परेको पानी चुहिएर समस्या भइदियो । ‘हामीसँग काम गर्ने भवन नै थिएन, अस्थायी संरचना बनाएर बिजुली र इन्टरनेट जडान गरेका छौँ,’ खतिवडाले भने, ‘सरकारी एकीकृत डाटा केन्द्र (जीआईडीसी) सिंहदरबारमा रहेको सर्भर विभागमा आज–भोलिमै सारेर सेवा सुरु गर्छौँ ।’
विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार स्टोरेज एरिया नेटवर्क (स्यान) भने सुरक्षण मुद्रण केन्द्रबाट मागेर प्रयोग गरिएको छ । यस्तै फायरवालहरू जीआईडीसीबाट मागेर सर्भर तयार गरिएको छ । यस्तै सर्भरमा दुई–तीन वटा आवश्यक स्टोरेज डिभाइस विभागकै चलेकाले सहज बनेको छ ।
उनका अनुसार सबै टेन्डर प्रक्रियाबाट गरेको भए अझै तीन महिना सिस्टम नचल्न सक्थ्यो । ‘नेपालको टेन्डर प्रक्रिया त लामो छ । ऐन–नियम मान्नै पर्यो,’ निर्देशक खतिवडाले भने, ‘अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्न, इन्टरनेसनल कम्पिटिसन गराउनुपर्यो, सामान ल्याउनु, फिटिङ गर्नुपर्यो । गर्दाखेरि चार–पाँच महिना लाग्थ्यो । तर धेरै वटा सरकारी निकायहरूसँगको पहलमा अनि व्यक्तिगत तर्फबाट अहिले टेम्प्रोररी (अस्थायी) सर्भर जीआईडीसीबाट सुरु गर्यौँ ।’
खतिवडाका अनुसार स्टोरेज एरिया नेटवर्क (स्यान) भने सुरक्षण मुद्रण केन्द्रबाट मागेर प्रयोग गरिएको छ । यस्तै फायरवालहरू जीआईडीसीबाट मागेर सर्भर तयार गरिएको छ । यस्तै सर्भरमा दुई–तीन वटा आवश्यक स्टोरेज डिभाइस विभागकै चलेकाले सहज बनेको छ ।
‘केही आवश्यक सामान १० लाखभन्दा कम मूल्यको खरिद पनि गरेका छौँ । केही सामानचाहिँ हामीले खरिद पनि गर्यौँ । मागेर काम चलाउने प्रयास गरेका छौँ, सर्भर चलिसकेपछि सामान प्रयोग गर्न सकिने अवस्थामा छ, हामी चेक गर्छौँ ।’
सर्भर चलेपछि कुन–कुन उपकरण खरिद गर्न पर्ने हो, कुन–कुन चल्न सक्ने अवस्थामा छन् थाहा हुने उनको भनाइ छ ।
‘नचलेको सामानहरूको मात्रै टेन्डर गरौँ । राज्यलाई यत्रो क्षति भएको छ,’ खतिवडाले भने, ‘भएको सामान चल्यो भने किन टेन्डर गर्ने भन्ने हिसाबमा हामीले अहिले टेन्डर नगरेका हौँ । अब चलेर नचलेको छुट्याएर अनि हामी टेन्डर गर्छौँ ।’
के–के सेवा सुरु हुन्छ ?
विभागको सिस्टमचाहिँ एक–दुई दिनभित्र चल्ने र सञ्चालनमा आएको भोलिपल्टदेखि सवारी दर्ता, नवीकरण, नयाँ सवारी लाइसेन्सको काम सुरु हुने उनले बताए ।
विभागले सेवाग्राहीलाई सवारी लाइसेन्स दिन सकेको छैन । लाइसेन्स छाप्ने मेसिन जेनजी आन्दोलनका ध्वस्त भएको छ, जसले गर्दा समय लाग्ने देखिएको छ । तर मेसिन मर्मतका लागि प्रक्रिया थालिएको विभागले जनाएको छ ।
सर्भर सञ्चालनमा ल्याएपछि सबैभन्दा पहिला सम्पूर्ण यातायात कार्यालयहरूको सिस्टम सञ्चालनमा आउनेछ । यस्तै नयाँ सवारी लाइसेन्ससम्बन्धी सिस्टम, नवीकरण गर्ने, राजस्व तिर्ने, अनलाइन पेमेन्टहरू सिस्टम जे–जे छ पहिलेका, ती प्रायः सबै सिस्टम सञ्चालनमा आउने विभागले जनाएको छ ।
तर सवारी लाइसेन्स छपाइ भने कहिलेबाट हुने अनिश्चित छ ।
लाइसेन्स छपाइ कहिलेदेखि ?
विभागले सेवाग्राहीलाई सवारी लाइसेन्स दिन सकेको छैन । लाइसेन्स छाप्ने मेसिन जेनजी आन्दोलनका ध्वस्त भएको छ, जसले गर्दा समय लाग्ने देखिएको छ । तर मेसिन मर्मतका लागि प्रक्रिया थालिएको विभागले जनाएको छ ।
‘लाइसेन्स छपाइका लागि तीन वटा तरिकाबाट हेरेका छौँ, एउटा तरिका भनेको सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता भएको छ । केन्द्रले मौखिक र लिखितमै पनि केही दिनपछाडि लाइसेन्स छपाइ सुरु गर्छौँ भनेको छ,’ निर्देशक खतिवडाले जानकारी दिए ।
‘दोस्रो, केन्द्रले छपाइ गरे पनि क्षति भएको प्रिन्टर मर्मतको काम अगाडि बढाइसकेको छ, तर नेपालमा प्राविधिक र सामग्री नपाउने समस्या छ,’ खतिवडाले थपे, ‘मर्मतका लागि प्राविधिक दुबईबाट ल्याउनुपर्ने हुन्छ । इटालीबाट सामान खरिद गर्नुपर्ने हुन्छ ।’
खरिद प्रक्रियाबाट ल्याउन समय लाग्ने भएकाले केही सहयोगी निकायहरूलाई भनेर प्रिन्टर र टेस्टिङको काम पनि भइरहेको निर्देशक खतिवडाले बताए ।
‘दातृ निकायहरूमा विभाग, मन्त्री, सचिवज्यूहरूले पनि प्रिन्टरको चाँडै व्यवस्थापनका लागि पहल गरिरहेका छन्,’ उनले भने ।
पहिले सिस्टम चलिसकेपछि छपाइका लागि तीन वटामध्ये जुन प्रक्रियाबाट सर्वप्रथम जुन चिज आउँछ, त्यसबाटै सेवा दिने तयारी गरिएको पनि उनले बताए । खतिवडाले भने, ‘२५ लाख लाइसेन्स दिनुपर्ने छ, चाँडै पाउनुहोस् भन्ने हाम्रो पनि इच्छा भएकाले तीनवटा प्रक्रियामध्ये एउटा प्रक्रिया त छिटो होला नि ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण