सफलताको सूत्र : श्रमको शक्ति वा भाग्यको साथ ?
सारांश
- सफलता र श्रमको सम्बन्धबारेको बहसमा, लेखले श्रमको महत्त्व र भाग्यको सीमिततालाई प्रकाश पारेको छ।
- लेखले तर्क गर्छ कि श्रमले अवसर सिर्जना गर्छ र क्षमता विकास गर्छ, जसले दीर्घकालीन सफलता सुनिश्चित गर्छ।
- भाग्यले कहिलेकाहीँ अस्थायी अवसर दिन सक्ने भए तापनि, स्थायी सफलताको लागि श्रम नै प्रमुख आधार हो।
सफलता प्राप्तिको विषयमा श्रम र भाग्यबिचको सम्बन्ध मानव सभ्यताको प्रारम्भदेखि नै गहिरो बहसको विषय रहँदै आएको छ । विश्वका विभिन्न समाज र संस्कृतिहरूमा यी दुई अवधारणाले फरक–फरक महत्त्व पाउँदै आएका छन् । केही व्यक्तिहरू विश्वास गर्छन् कि सफलता मुख्यतः भाग्यको उपज हो, जसले अनियन्त्रित र अप्रत्याशित घटनाहरूको माध्यमबाट जीवनको दिशा निर्धारण गर्छ । अर्कोतर्फ, श्रमको पक्षमा विश्वास राख्नेहरू तर्क गर्छन् कि निरन्तर प्रयास, अनुशासन र समर्पण नै सफलता प्राप्तिको मूल आधार हो ।
दार्शनिक दृष्टिकोणले हेर्दा, भाग्य र श्रम दुई परस्पर एक अर्काका पूरक तत्त्वहरू हुन् । भाग्यले अवसर प्रदान गर्न सक्छ, तर ती अवसरहरूको सदुपयोग गर्न श्रम अपरिहार्य हुन्छ । यदि भाग्यले ढोका खोल्छ भने, श्रमले त्यस ढोकाबाट अघि बढ्ने साहस र क्षमता प्रदान गर्छ । यसरी हेर्दा, भाग्यले सम्भावनाहरू सिर्जना गर्छ, तर ती सम्भावनाहरूलाई वास्तविकतामा रूपान्तरण गर्न र दिगो बनाउन श्रमको भूमिका निर्णायक हुन्छ ।
भौतिकवादी दृष्टिकोणले श्रमलाई नै सर्वोपरि मान्छ, जहाँ परिणामहरू कारण–प्रभावको शृङ्खलाबाट उत्पन्न हुन्छन् । भाग्यवादी दृष्टिकोणले भने अदृश्य शक्तिहरू, पूर्वनिर्धारित नियतिलाई सफलता र असफलताको कारक मान्छ । यद्यपि व्यवहारिक जीवनमा धेरै मानिसहरू श्रम र भाग्यबिच सन्तुलन खोज्छन्, किनभने भाग्यले अवसर दिए पनि ती अवसरलाई उपयोग गर्न श्रम आवश्यक हुन्छ । श्रमले तयारी र क्षमता विकास गर्छ, जसले भाग्यले दिएको अवसरलाई सफलतामा बदल्न मद्दत गर्छ ।
- जीवन निर्माणमा श्रमको योगदान
श्रमलाई कुनै कार्य वा लक्ष्य प्राप्त गर्न गरिने शारीरिक वा मानसिक प्रयासको रूपमा परिभाषित गर्न सकिन्छ । यो केवल कुनै कार्यमा सहभागिता जनाउने मात्र होइन, यसले त्यस कार्यप्रति गहिरो समर्पण, उत्साह, धैर्य, र सबैभन्दा महत्त्वपूर्ण रूपमा निरन्तरता र स्थिरताको माग गर्छ । वास्तवमा श्रमको मार्ग सधैँ सरल र सिधा हुँदैन; यसमा बारम्बार असफलता, चुनौती, र मानसिक तथा शारीरिक व्यवधान र थकानको पनि सामना गर्नुपर्छ ।
श्रममा समर्पित व्यक्तिहरूले बुझ्छन् कि सफलता प्राप्त गर्न समय, त्याग, र लचिलोपन अनिवार्य हुन्छ । दीर्घकालीन लक्ष्य बोकेको प्रयासको क्रममा व्यवधान, थकान, निराशा वा दिक्क हुने अवस्था आउनु स्वाभाविक हुन्छ, जसले व्यक्तिलाई आफ्नो मार्गबाट विचलित गराउन सक्छ । तर यस्ता अवस्थाहरू पार गर्न सक्ने क्षमता नै वास्तविक श्रमिकको वास्तविक शक्ति हो ।
प्रत्येक श्रमिक वर्गसँग आफ्नै विशिष्ट चुनौती र अवसरहरू हुन्छन् । यद्यपि, सबै प्रकारका श्रममा केही तत्त्वहरू भने समान र स्थिर रहन्छन् । जस्तै निरन्तर प्रयास, समर्पण, र व्यक्तिगत तथा सामूहिक विकासप्रति प्रतिबद्धता आदि । यी तत्त्वहरूले नै श्रमको विविध रूपलाई केवल साधन होइन, जीवनको मूल्यवान् दर्शन बनाउँछन् ।
- सफलता: प्रयासको फल कि संयोगको उपहार
आजको प्रतिस्पर्धात्मक संसारमा धेरै मानिसहरू छिटो सफल हुन चाहन्छन्। उनीहरू आवश्यक प्रयास बिना नै शीर्ष स्थानमा पुग्न चाहन्छन् । हाम्रो जस्तो देश र समाजमा त झन् मानिसको भाग्य उसको पूर्वजन्म, कुल, जन्मेको समय, र जन्मेको छैटौँ दिनमा विधाताले लेखिदिएको भाग्य अनुसार तय गरिन्छ । अझ आश्चर्यलाग्दो कुरा त के भने हामी कहाँ मानिसको भाग्य समय–समयमा राज्यको सिङ्गो प्रणालीले नै तय गरिदिन्छ । त्यो पनि व्यक्तिगत रूपमा मात्र होइन सामूहिक रूपमै ।
यस्तो अवसर आउने आशाले ‘भाग्यशाली’ हुने आशामा कैयौँ मानिस स्थिर बस्छन् भने कोही छटपटिएर बस्दै प्रणालीगत ‘देखिने भाग्य’ को ढोका कुर्दै बस्छन् । जस्तै विभिन्न तह र सेवामा प्रवेश गर्दा पार्टीको सिफारिसबाट भागबन्डा हुने, विद्यार्थी वा परीक्षार्थीहरूको परीक्षा केन्द्र नै किनबेच गरिने, सेटिङ मिलाइने, र त्यहि अनुसार नतिजा समेत प्रभावित पार्ने काम आदि ।
तर यस्तो सोच र बिचारले जीवनमा सम्बन्धित व्यक्तिहरूलाई सफलता, आत्मविश्वास र आत्मसन्तुष्टि भने दिँदैन । यसले प्राय आफ्नो कार्य, क्षेत्र र समयमा निराशा वा शून्यता मात्र ल्याउँछ, किनभने भाग्य कर्मसँग सँगसँगै कहिल्यै हिँड्दैन । कहिले काहीँ साथ दिए पनि त्यो स्थिर हुन् सक्तैन । किनकि भाग्य अस्थायी र अनिश्चित हुन्छ । हो जीवनमा कहिले काहीँ भाग्यले साथ दिन सक्छ तर दिगो हुन् सक्तैन ।
त्यसैले भाग्यमा मात्र भर पर्नु बुद्धिमानी होइन । यस विपरीत, श्रम स्थायी र भरपर्दो माध्यम हो । यसले सृजनशीलताको माग गर्छ । निरन्तर कर्मप्रतिको प्रयास, धैर्य, र समर्पणले हरेक मानिसलाई सफलता दिलाउन सम्भव बनाउँछ । सत्य के हो भने थोरै मानिसमा मात्र यस्तो धैर्य हुन्छ, जसले उनीहरूलाई भाग्यको आशा नगरी निरन्तर श्रम गर्न प्रेरित गर्छ । यही सोचले नै हामीलाई श्रम र भाग्यको मूल बहसमा ल्याउँछ ।
केही मानिस के विश्वास गर्छन् भने सफलता भाग्यले निर्धारण गर्छ । उनीहरू भाग्यले ढोका खोल्ने र अवसर पाइने बताई रहेका हुन्छन् । तर भाग्य सधैँ भरपर्दो हुँदैन । यो दुर्लभ, क्षणिक, र अनियन्त्रित हुन्छ । त्यसैले यसमा भरोसा गर्नु जोखिमपूर्ण हुन्छ ।
अर्कोतर्फ, श्रममा विश्वास गर्नेहरू भन्छन्– सफलता कडा परिश्रम, सीपको विकास, र निरन्तर प्रयासबाट प्राप्त हुन्छ । श्रम व्यक्तिको नियन्त्रणमा हुन्छ, र यसलाई समयसँगै सुधार गर्न सकिन्छ । जब व्यक्ति लगातार प्रयास गर्छ, तब प्रतिभा सीपमा बदलिन्छ, विचारहरू व्यवहारमा लागू हुन्छन्, र नयाँ अवसरहरू जन्मिन्छन् ।
- श्रमको बल र भाग्यको सीमा
श्रम बिना, भाग्यले दिएको अवसर पनि टिकाउन सकिँदैन । भाग्यले कहिले काहीँ अवसरहरू दिए पनि ती अवसरहरूलाई उपयोग गर्न श्रम आवश्यक हुन्छ । श्रम र दृढतामा आधारित सफलता मात्र दीर्घकालीन हुन्छ । निरन्तर प्रयास गर्ने व्यक्तिले आफ्नो स्थान कायम राख्ने सम्भावना बढी हुन्छ । तर जो केवल भाग्यमा भर पर्छन्, उनीहरू एक पलमा माथि पुग्न सक्छन् र अर्को पलमा लुडो खेलमा झैँ सर्लक्कै तल झर्न बेर लगाउँदैनन् । त्यसैले स्थायित्वका लागि श्रम अपरिहार्य हुन्छ ।
यद्यपि, हामीले के पनि स्वीकार गर्नुपर्छ भने कहिले काहीँ उत्कृष्ट प्रयासका बाबजुद पनि सफलता तुरुन्तै आउँदैन । यस्तो अवस्थामा भाग्यले पनि भूमिका खेल्न सक्छ । हो सफलता र असफलता दुवै जीवनका हिस्सा हुन्, र भाग्यले कहिले काहीँ अप्रत्याशित ढंगले परिणामलाई असर गर्न सक्छ । जसलाई स्वीकार गर्नुको विकल्प हुँदैन ।
तर दीर्घकालीन सफलता चाहनेहरूका लागि धैर्य, समर्पण, र निरन्तर प्रयास नै मुख्य आधार हो । सफलताको बाटो सिधा हुँदैन । यो प्रयास, परीक्षा, र सिकाइले भरिएको यात्रा हो । असफलताबाट पनि मानिसले अनुभव र ज्ञान प्राप्त गर्छन्, जुन भविष्यको सफलता निर्माणमा सहयोगी हुन्छ । तसर्थ भाग्यमा धेरै भर पर्नेहरू प्रायः पछि पर्छन् । भाग्यशाली परिस्थितिले अस्थायी सफलता दिन सक्छ, तर गहिरो सीप, बलियो ज्ञान, र निरन्तर प्रयास बिना त्यो सफलता टिक्दैन ।
- श्रमको भूमिका र भाग्यको भ्रम
आजको द्रुत गतिको संसारमा, धेरै मानिस तुरुन्तै परिणाम चाहन्छन् । जब प्रयासपछि पनि छिटो सफलता देखिँदैन, प्रेरणा गुम्न सक्छ । धेरैले आफ्नो प्रयास चाँडै छोड्छन् र भाग्य वा संयोगमा भर पर्न थाल्छन् । तर पुरानो भनाइ ‘सफलता निरन्तर प्रयासको फल हो’ आज पनि त्यति नै सत्य छ ।
जीवन निरन्तर प्रयास, असफलता, र पुनः प्रयासको यात्रा हो । सफलता भाग्य भन्दा बढी श्रममा निर्भर हुन्छ । श्रम केवल काम मात्र होइन, यो व्यक्तिको मूल्य, विश्वास र नैतिकताको प्रतिबिम्ब पनि हो । इमानदार श्रममा विश्वास गर्नेहरू प्रायः धेरै चुनौतीहरूको सामना गर्छन्, जसलाई पार गर्न अझ बढी धैर्य र लगन आवश्यक हुन्छ ।
श्रम र भाग्यप्रति हाम्रो मानसिकता पनि महत्त्वपूर्ण हुन्छ । श्रम सशक्तीकरण हो । यसले व्यक्तिलाई आफ्नो भविष्यमा नियन्त्रणको साँचो दिन्छ । भाग्य अनिश्चित भए पनि, श्रमले जानाजानी लक्ष्यतर्फ अघि बढ्न प्रेरित गर्छ । यसले ज्ञान, सीप, लचिलोपन र आत्मविश्वास आदि सबै बढाउँछ । श्रममा केन्द्रित हुनेहरूले सधैँ छिटो सफलता नपाउन सक्छन् तर उनीहरूको चरित्र र क्षमता समयसँगै निर्माण हुन्छ ।
जब भाग्यले अवसर दिन्छ, श्रमले ती अवसरहरू उपयोग गर्न तयार बनाउँछ । हामीले बुझ्नुपर्छ कि सफलता बिरलै रातारात आउँछ । यसका लागि दीर्घकालीन प्रतिबद्धता आवश्यक हुन्छ । सफल व्यक्तिहरूले कठिन समय सहन, हार नमानी निरन्तर प्रयास गर्नुपर्छ भन्ने कुरा स्वीकार गर्छन् ।
- निष्कर्ष
भाग्यले कहिले काहीँ अस्थायी अवसर दिन सक्छ, तर यो स्थायी हुँदैन । यो क्षणिक आगन्तुक हो । कहिले काहीँ देखिन्छ, तर सधैँभरि साथ दिँदैन । अर्कोतर्फ, श्रम भने सफलताको स्थायी र भरपर्दो आधार हो । यसले प्रतिकूल परिस्थितिमा पनि अगाडि बढ्न मद्दत गर्छ । जो श्रममा निरन्तर लागिरहन्छन्, उनीहरू धैर्य, दृढता र समर्पणको बलमा स्थायी प्रगति हासिल गर्छन् ।
श्रम केवल शारीरिक वा मानसिक प्रयास मात्र होइन । यो आत्म–विकास, बुद्धिमानी निर्णय, र चरित्र निर्माणको निरन्तर अभ्यास पनि हो । भाग्यले अवसर दिन सक्छ, तर ती अवसरलाई उपयोग गर्न श्रम अनिवार्य हुन्छ ।
सारमा भन्दा सफलताको यात्रामा भाग्यको भूमिका क्षणिक भए पनि, दीर्घकालीन र स्थायी सफलताको मूल शक्ति श्रम नै हो । श्रमले अवसर सिर्जना गर्छ, क्षमता विकास गर्छ, र जीवनलाई सकारात्मक दिशा दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण