जेनजी आन्दोलन र वामपन्थी ध्रुवीकरण
सारांश
- जेनजी आन्दोलन युवा असन्तुष्टिबाट उत्पन्न भई राजनीतिक ध्रुवीकरणतर्फ उन्मुख भएको छ।
- विभिन्न वामपन्थी दलहरूबीच एकता र ध्रुवीकरणको प्रयास भइरहेको छ, तर विगतका गल्तीबाट पाठ सिक्नुपर्ने खाँचो छ।
- ध्रुवीकरण व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सिद्धान्त र उद्देश्यको शुद्धतामा आधारित हुनुपर्छ।
पृष्ठभूमि
जेनजी आन्दोलन विशेषतः युवाहरूको निराशाबाट उत्पन्न, मूलतः क्रान्तिकारी आक्रोशको विस्फोट हो। जब क्रान्तिपछि निर्मित नयाँ संविधानले जनताको आकाङ्क्षा पूरा गर्न सक्दैन, जन असन्तोष भूसको आगो जस्तै फैलिन्छ । यसर्थमा हामी आफैतिर फर्कनुपर्छ ।
जेनजी आन्दोलनलाई भू-राजनीतिक चलखेलको रूपमा मात्र बुझ्न जरुरी छैन। अन्तर्राष्ट्रिय आयामविनाको राष्ट्रिय स्वरूपको आन्दोलन न हिजो सम्भव थियो, न भोलि सम्भव हुनेवाला छ । जनअसन्तोष र जन-आक्रोशलाई उपयोग गर्न देशी-विदेशी शक्तिकेन्द्रहरूको डिजाइन र आशीर्वादमा नयाँ–नयाँ रूपका यथास्थितिवादी र पश्चगामी शक्तिहरू राजनीतिक रङ्गमञ्चमा प्रवेश गर्छन्। र, गरिरहेका छन्। नेपालमा पनि त्यही घटना दोहोरियो —कम्युनिस्टहरूको दुई-तिहाइ बहुमतपछिको "ताण्डव नृत्य"( दुई- दुई पटक संसद विघटन) ले जन्माएको निरासाले यस्तै प्रवृत्तिका लागि मलिलो भूमि तयार गरिदियो । जेनजीहरुको कति ढंग पुग्यो/पुगेन समीक्षा हुँदै जाला; धैर्यताको बाँध टुटेपछि सचेत राजनीतिक पार्टीले गर्नुपर्ने काम उनीहरूले गरेका हुन् । यस अर्थमा हामी आत्मालोचित हुन जरुरी छ ।
नेपालको राजनीति पुनः नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको छ। जेनजी आन्दोलनले स्थिर देखिएको राजनीतिक सतहलाई हलचलमा पारेको छ । ध्रुवीकरणलाई आफ्नै वर्ग दृष्टिकोण र राजनीतिक चिन्तनअनुसार आकार दिन पश्चगामी, यथास्थितिवादी, सुधारवादी र अग्रगामी शक्तिहरू सक्रिय छन्। सामाजिक ध्रुवीकरणको प्रभाव हरेक राजनीतिक पार्टीभित्र स्पष्ट देखिन्छ, जहाँ बहस र विवाद जारी छन्। जुमर पुस्ताका विभिन्न प्रवृत्तिहरू आफ्नो स्पेसको खोजीमा छन् । उनीहरूलाई आकर्षित गर्न कांग्रेस-कम्युनिस्ट भन्दा पृथक मध्यमार्गी धार निर्माण गर्न कोसिस भएको देखिन्छ । पुराना वाम धारहरू पुनः सक्रिय भएका छन् र त्यहाँ नयाँ विचारहरूको प्रतिस्पर्धा सुरु भएको छ। यही पृष्ठभूमिमा नेपाली वाम राजनीतिमा ध्रुवीकरण र एकताको प्रयास भइरहेको छ। कम्युनिस्ट शक्तिभित्रका ढुलमुल प्रवृत्तिहरू ‘स्वतन्त्र धार’का नाममा "राजनीतिक खिचडी" पकाउने प्रयासमा देखिन्छन्।
ऐतिहासिक सन्दर्भ
२०४६ को आन्दोलन र परिवर्तनपछिको ‘वाम ध्रुवीकरण’ एउटा महत्त्वपूर्ण ऐतिहासिक घटना हो। त्यस वेला प्रचण्डको पहलमा माओ विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने मशाल, चौम, सर्वहारा श्रमिक संगठन, विद्रोही मसाललगायत समूहबिच एकता भयो। उता, मदन भण्डारीको पहलमा मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने माले, मार्क्सवादी र अन्य साना समूहबिच पनि एकता भएको थियो। यस प्रकारको ध्रुवीकरणले समाज परिवर्तनमा निर्णायक भूमिका खेल्यो । एमालेको नेतृत्वमा निर्वाचन मार्फत पहिलो कम्युनिस्ट सरकार र माओवादीको नेतृत्वमा जनयुद्ध मार्फत गणतन्त्र सम्भव भयो ।
वर्तमान सन्दर्भ
अहिले भने वाम राजनीतिमा वैचारिक दिशाभ्रम, सत्ता केन्द्रित प्रतिस्पर्धा र संगठनात्मक अस्थिरता स्पष्ट देखिन्छ। जेनजी आन्दोलनले यही असन्तुलनलाई भत्काएको छ। एमालेलाई सत्ताच्यूत भएको पीडा छ; यसले जेनजी आन्दोलनलाई अपराधीकरण गर्दै `राष्ट्रवादको´ आवरणमा पश्चगामी शक्तिसँग आशक्ति देखाइरहेको छ। यद्यपि त्यहाँ परिवर्तनको पक्ष र विपक्षमा बहस चलिरहेको छ। एमालेभित्रको यो बहसमा वामपन्थी पक्ष हाबी हुने सम्भावनालाई नकार्न सकिन्न । माओवादी केन्द्र जेनजी आन्दोलनका सकारात्मक पक्षलाई आत्मसात् गर्दै सापेक्षिक समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्दै समाजवादतर्फ देशलाई उन्मुख गराउने प्रयासमा छ। केही संकेत शुभ छन्।
नयाँ शिराबाट ध्रुवीकरणको आवश्यकता
यसअर्थमा, आजको अवस्थामा नयाँ शिराबाट वाम ध्रुवीकरणको आवश्यकता तीव्र रूपमा पैदा भएको छ। केपी शर्मा ओलीको पश्चगामी विचार, चिन्तन र आचरणप्रति असहमत हुने सबै समाजवादी धारा, देशभक्त र परिवर्तनका पक्षधर शक्तिहरू एउटै ध्रुवमा एकताबद्ध हुनुपर्ने आवश्यकता इतिहासकै कठोर माग बनेको छ।
ध्रुवीकरण मनोविज्ञान हो, एकता शक्ति निर्माण हो। भेडा–भेडासँग, बाख्रा–बाख्रासँग जस्तै समान आस्था र मूल्यका शक्तिहरू एकत्रित हुनुपर्छ। यो कुनै साधारण गठबन्धन होइन— यो सामाजिक रूपान्तरणको प्रक्रिया हो। त्यसैले यसलाई व्यक्तिगत मोह, आशक्ति वा पदलालसाले होइन, सिद्धान्त र उद्देश्यको शुद्धतालेनै मार्ग निर्देश गर्नुपर्छ।
विगतमा जस्तै स्वार्थ र असन्तुलनले प्रेरित ध्रुवीकरण र एकता अहिले घातक हुनेछ। किनभने अहिलेको अवस्थामा कम्युनिस्ट आन्दोलन नै जीवन–मरणको दोसाँधमा उभिएको छ।
माओवादी केन्द्र, समाजवादी केन्द्र, नेकपा (सी), नेसपा लगायतका सापेक्षिक समाजवादी धारहरूबीचको सिद्धान्तगत ध्रुवीकरण र व्यावहारिक एकताले एमालेभित्र रहेको क्रान्तिकारी पक्षलाई पनि प्रेरित (आकर्षित) गर्नेछ। र, यसले वाम ध्रुवीकरणलाई नयाँ स्वरूप र तीव्रता प्रदान गर्नेछ । आ-आफ्नो पार्टीभित्र उठेको बहसलाई एकीकृत पार्टीभित्रको समग्र बहसको विषय बनाउन सकिन्छ । यतिखेर ध्रुवीकरण र एकताका- दुई कित्ता मध्ये कुन कित्तामा उभिने भन्ने प्रश्न हो । जेनजी आन्दोलनले फलाम तातेको छ, आकार दिऊँ । सल्लाह गर्दागर्दै सात गाउँ डुबेजस्तो नहोस्।
यो एकता मार्क्सवादका आधारभूत मान्यतामा टेकेको हुनुपर्छ। विचार, प्रवृत्ति र पद्धतिमा भिन्नता रहन सक्छ, तर त्यसलाई बहस अर्थात् वाद–प्रतिवाद र संवादको माध्यमबाट सुल्झाउँदै अघि बढ्नुपर्छ।
अहिले ध्रुवीकरण र एकताको छनौटमा अलमलिएको मध्यमार्गी धार छुट्टै ठाउँ खोज्दैछ। इतिहासको त्यहीँ व्यक्तिगत फाइदा केन्द्रित हिसाबकिताब दोहोर्याउँदैछ। तत्काल यस धारबाट एकताको ठोस परिणामको सम्भावना न्यून हुँदै गइरहेको छ। यो मध्यमार्गी धारले एकतामा राम्रो भूमिका निर्वाह गर्ने अवसर गुमाउँदै गइरहेको छ ।
ध्रुवीकरण र एकताको ऐतिहासिक नजिर
२०४७ सालको प्रचण्ड र मदन भण्डारीले पहल गरेको "वाम ध्रुवीकरण र एकता"लाई हामी सकारात्मक नजिरको रूपमा लिन सक्छौँ — जसले आन्दोलनलाई उचाइमा पुर्यायो। र , नेपाल गणतन्त्रको आगमनसँगै पुँजीवादी क्रान्तिले पूर्णता प्राप्त गर्यो ।
२०६४/६५ सालमा नेकपा (माओवादी) पार्टी र नेकपा(एकता केन्द्र)सँग चुनावी सहकार्यको पृष्ठभूमिमा गरिएको पार्टी एकता सैद्धान्तिक र प्रक्रियाका हिसाबले सही थियो, तर मनसाय वैज्ञानिक नहुँदा अन्तरघुलनको स्तर र तीव्रता जुन रूपमा व्यक्त हुनुपर्थ्यो, त्यो हुन सकेन । यसमा सम्बन्धित पक्ष आत्मालोचना हुनुपर्छ ।
२०७४ सालको संसदीय निर्वाचनको पूर्व सन्ध्यामा एमाले- माओवादीबिचको वाम सहकार्य फलदायी भयो । तर आलो-पालो प्रधानमन्त्री हुने गोप्य लिखित सम्झौता गरेर अविश्वास र शङ्काको पृष्ठभूमिमा निर्मित पार्टी एकता नकारात्मक साबित भयो — जसले अवसरवाद र सत्तालालसाको परिणाम कस्तो हुन्छ भन्ने स्पष्ट देखायो। यसर्थ ध्रुवीकरण र पार्टी एकता अगाडि बढाउँदा इतिहासका शिक्षा तर्फ ध्यान दिन आवश्यक देखिन्छ।
माओवादी धाराबिच एकता
संसदीय मोर्चाबाहिर रहेका साना कम्युनिस्ट दलहरू अहिले ‘पर्ख र हेर’को मनोवृत्तिमा छन्। जडशुत्रवादी धारभित्र भने जेनजी आन्दोलनप्रति मिश्रित प्रतिक्रिया छ— कतै हर्ष, कतै विस्मय, कतै संशय। यही पृष्ठभूमिमा “माओवादी धारहरू फेरि एउटै छातामुनि आउनुपर्छ” भन्ने आवाज सार्वजनिक रूपमा उठ्न थालेको छ।
तर यथार्थ के हो भने — माओवादीहरू विचारका कारण होइन, व्यवहार, संगठनात्मक पद्धति र नेतृत्त्वकेन्द्रित प्रवृत्तिका कारण विभाजित भएका हुन्। व्यक्तिपरक कारणले बनेका विभाजनहरूले पैदा गरेको इगो दीर्घकालीन एकतामा बाधक नै साबित हुने रहेछन्। विभाजितहरु अंश- अंशमा एकताबद्ध हुनु तर विभाजित प्रमुख नेताहरू अलग रहनु (प्रचण्ड, किरण र बाबुराम ) लाई ठोस उदाहरण मान्न सकिन्छ ।
तर पनि, अहिलेको तीव्र ध्रुवीकरणले यी विभिन्न धारहरूलाई कित्ता स्पष्ट गर्न र आफ्नो वास्तविक वर्गीय पहिचान पुनः परिभाषित गर्न बाध्य पार्नेछ। इतिहासले उनीहरूलाई पुनः एक ठोस निर्णयको चौतारीमा ल्याइरहेको छ।
हामी आशा गरौँ— अन्ततः उनीहरूको रोजाइ अग्रगमन नै हुनेछ । व्यवहारबाट अलग सिद्धान्त र सिद्धान्तबाट अलग व्यवहार सम्बन्धी नेताहरूका तर्क सुन्न लायक त हुन्छन्, तर ती यथार्थ र सत्यसँग मेल खाँदैनन् । यसर्थ समयले सबै धाराहरूको रूपान्तरणको माग गर्दै छ। समय बलवान् हुन्छ भन्ने कुरा नभुलौँ ।
निष्कर्ष
आजको वाम राजनीति निर्णायक मोडमा छ। ध्रुवीकरणले समाजवादी क्रान्तिको आधार तयार गर्छ कि गर्दैन भन्ने प्रश्नमा व्यापक संशय विद्यमान छ। किनकि “क्रान्तिकारी” भन्ने शब्द र “एकता” र "ध्रुवीकरण" भन्ने नारा मात्रले कसैलाई सच्चा कम्युनिस्ट प्रमाणित गर्दैन।
सच्चा कम्युनिस्टको मापदण्ड वैज्ञानिक संश्लेषण अर्थात विचारलाई व्यवहारमा र व्यवहारलाई विचारमा रूपान्तरण गर्ने क्षमता हो। यसका लागि जनतालाई गोलबद्ध गर्न सक्ने स्पष्ट विचार, वैज्ञानिक नीति, कार्यशैली र नैतिक आचरण अपरिहार्य छन्।
तर आज आफूलाई क्रान्तिकारी ठान्नेहरू जनताको मन जित्ने ठोस कार्यमा सक्रिय देखिँदैनन्। बौद्धिक विलास, ओठे नाराहरू र व्यक्तिगत महत्वाकांक्षाले आन्दोलनको प्रगतिशील आत्मालाई कमजोर बनाइरहेका छन्।
समाज परिवर्तन उपदेश र नाराले होइन, आचरण र दृष्टिकोणले सम्भव हुन्छ। जसले जनतालाई साथमा लिएर सही बाटो देखाउँछ र गन्तव्यमा पुर्याउने साहस र दृष्टि राख्छ—इतिहास अन्ततः उसको पक्षमा उभिन्छ। यसका लागि संसदवाद, जड्सुत्रवाद र सारसंग्रहवादको चङ्गुलबाट आ-आफ्नो पार्टीलाई मुक्त गर्न सक्नुपर्छ । अन्यथा ध्रुवीकरण र एकताले कुनै वैज्ञानिक निष्कर्षमा पुर्याउदैन । यसर्थ गम्भीर बनौँ ! "हात्ती आयाे, हात्ती आयो फुस्सा" जस्तो नहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण