बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
डेडिकेटेट र ट्रंकलाइन विवाद

उद्योगले बक्यौता नतिर्दा बिजुली काटियो, ज्यालादारी र करार मजदुरको रोजीरोटी खोसियो

बुधबार, १२ कात्तिक २०८२, १९ : ३०
बुधबार, १२ कात्तिक २०८२

विराटनगर । सुनसरीको खनारमा रहेको देशकै सबैभन्दा ठुलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल ९ दिनदेखि सुनसान छ । नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै कात्तिक ३ गते उद्योगको विद्युत लाइन काटिदिएको थियो । त्यसपछि यहाँका साना-ठुला गरेर सयौं मेसिन मात्र होइन, त्यसमा आश्रित झण्डै ४ हजार मजदुरको जीवन पनि ठप्प छ ।

दसैं–तिहार मनाएर उत्साहका साथ काममा फर्किएका मजदुरहरू निराश र अन्योलमा छन् । उनीहरूको रोजीरोटी खोसिएको छ । विशेषगरी ज्यालादारी तथा करारमा काम गर्नेहरू रोजगारी नै गुमाउने अवस्था सिर्जना भएको भन्दै सरकारलाई अन्य विकल्प अपनाउन आग्रह गर्छन् । 

‘हामीसँगै काम गर्ने धेरै साथीहरू अहिले बेरोजगार हुनुहुन्छ । उद्योग कहिले खुल्छ थाहा छैन, यसरी हामीले पनि कति दिन काम गर्न पाउँछौं टुङ्गो छैन,’ मजदुर गीता सापकोटा बताउँछिन् ।

Riyalince Jut mils (3)

मिल एरियामा ठुलो जेनेरेटर चलिरहेको छ । त्यही जेनेरेटरको बिजुलीबाट केही स्थायी मजदुरहरूले काम गरिरहेका छन् । उद्योग पूर्ण रूपमा बन्द हुन नदिन र मेसिनहरू जाम हुनबाट जोगाउन व्यवस्थापनले दुईवटा ठुला जेनेरेटर र सोलारको सहारा लिएको व्यवस्थापक महेश पोखरेल बताउँछन् । तर यसबाट उद्योगको कुल क्षमताको करिब ३ प्रतिशत मात्र उत्पादन सम्भव छ । जसले केवल केही स्थायी कर्मचारी र आवासमा बस्ने १५ सय मजदुरको दैनिकीलाई जेनतेन धानेको छ । 

Riyalince Jut mils (8)

‘जेनेरेटरबाट प्रतियुनिट ३०–३५ रुपैयाँको बिजुली बालेर उद्योग चलाउन सम्भव छैन । यो अवस्थालाई उद्योगले धेरै दिन थेग्न सक्दैन,’ पोखरेल भन्छन् । 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मजदुरहरू कार्यरत यो उद्योग सरकार र व्यवस्थापन बीचको विवादको चेपुवामा परेको छ । उनीहरू यसलाई ‘साँढेको जुधाइ, बाछाको मिचाइ’ भन्दै आक्रोश र निराशा व्यक्त गर्छन् । ‘यहाँ ७७ वटै जिल्लाका गरिब मानिसहरू काम गर्छन् । अब उहाँहरूले के गर्ने ? सबै अन्योलमा हुनुहुन्छ । सरकारले मजदुरलाई अलपत्र पार्नु हुँदैन,’ मजदुर उमेशचन्द्र आचार्य भन्छन्, ‘हामी मजदुरसँग अब धेरै विकल्प छैन । कि थाल लिएर सडकमा बस्नुपर्‍यो कि आन्दोलन गर्नुपर्‍यो ।’

Riyalince Jut mils (11)

उत्पादन कक्षहरू अँध्यारो छन् । ठूलादेखि साना सयौं मेसिनहरू बन्द छन् । काठका फ्रेमहरूमा राखिएका धागाका डल्लाहरू मात्रै देखिन्छ । दैनिक हजारौं मजदुरको कोलाहलले गुञ्जायमान हुने उद्योग परिसर सुनसान छ । 

उद्योग र प्राधिकरणबीचको यो विवाद अब कानुनी लडाइँमा प्रवेश गरेको छ । प्राधिकरणको निर्णयविरुद्ध उद्योगले उच्च अदालत पाटनमा रिट निवेदन दिएको व्यवस्थापक पोखरेलले बताए । उनका अनुसार रिट निवेदनमाथि कात्तिक १९ गते सुनुवाइ हुँदैछ ।

Riyalince Jut mils (5)

वार्षिक करिब ११ अर्ब रुपैयाँ बराबरको धागो निर्यात गर्ने यो उद्योग बन्द हुँदा देशको अर्थतन्त्रसँगै यहाँका आफ्नो घरको चुल्हो पनि निभ्ने डर मजदुरमा छ । मजदुर डिल्लीराम कोइराला देशभरका मजदुर काम गर्ने ठुला उद्योगहरुलाई बिनाकारण यसरी पटक-पटक बन्द गर्न नहुने बताउँछन् ।

‘यो त साँढेको जुधाइ बाछाको मिचाइ भयो,’ उनी भन्छन् । उद्योग बन्द गर्ने नभएर सरकार जिम्मेवार बनेर उद्योग चलाएरै समस्याको समाधान खोज्नुपर्ने उनी बताउँछन् । 

Riyalince Jut mils (29)

रिलायन्स स्पिनिङ मिल्सले सामान्य अवस्थामा दैनिक ३० मेट्रिक टन धागो उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्षमा उद्योगले करिब ११ अर्ब रुपैयाँ बराबरको धागो निर्यात गरेको थियो भने करिब ३ अर्बको धागो आन्तरिक बजारमा बिक्री गरेको थियो । यो उद्योगले ७५ करोड ३७ लाख रुपैयाँ प्रिमियम बुझाउन बाँकी रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप