शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
त्रिपक्षीय बैठक

फागुन २१ मा निर्वाचन सम्पन्न गर्न सबै पक्ष सहमतः खेमराज साउद

बिहीबार, १३ कात्तिक २०८२, ०१ : ०८
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • बुधबारको त्रिपक्षीय बैठकमा आगामी फागुन २१ गते निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष सहमत भए।
  • जेनजीका प्रतिनिधिले आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै देशलाई सही बाटोमा लैजान भूमिका खेल्ने बताए।
  • बैठकमा नेकपा एमालेले संसद पुनर्स्थापनाको माग गरे पनि जेनजीले विरोध जनायो।

काठमाडौँ । सरकार, राजनीतिक दल र जेनजीबिच बुधबार भएको त्रिपक्षीय बैठकमा आगामी फागुन २१ मा निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा सबै पक्ष सहमत भएका छन्। जेनजीका प्रतिनिधि तथा सुदूरपश्चिम संयोजक खेमराज साउदले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् । 

उनले भने, ‘सबै पक्षले समयमै निर्वाचन गराउनुपर्ने साझा धारणा राखेका छन् र हामी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई सही बाटोमा लैजान सकारात्मक भूमिका खेल्नेछौँ।’

साउदले बैठकमा नेकपा एमालेले संसद् पुनर्स्थापना हुनुपर्ने माग राखेको भए पनि, जेनजीका प्रतिनिधिले ‘यो हुनु हुँदैन, यो भयो भने जेनजी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै अगाडि लैजानुपर्छ’ भन्ने धारणा राखेको बताए।

उनले भने, ‘देशमा परिवर्तन के आयो भन्ने होइन, ८० वर्षदेखि नेताहरूले देशलाई लुटिरहेका थिए। जुम्लाको नागरिकले नागरिकता बनाउन ४० वर्ष कुर्नुपर्ने अवस्था अन्त्य गर्न र जनताभित्रको वितृष्णा पोख्न जेनजी आन्दोलन भएको हो। आन्दोलनपछि यसलाई संस्थागत गर्दै मुलुकलाई सही बाटोमा लैजान छलफल भएको हो।’

साउदले गलत व्याख्या गरी २०८४ को चुनाव ०८२ मा सारिएको भन्ने कुरा असत्य भएको पनि स्पष्ट पारे। उनले भने, ‘हामीले छलफलमा समयमै चुनाव हुनुपर्छ भनेका छौँ। समयमै चुनाव हुनेछ, र त्यसका लागि सरकार, राजनीतिक दल र जेनजी सबै सकारात्मक छन्। जेनजी आन्दोलनलाई संस्थागत गरेर मुलुकलाई सही बाटोमा लैजान हामी सरकारलाई सहयोग गर्नेछौँ।’

उनले थपे, ‘देशमा चुनाव गरेर निर्वाचित सरकार बनाउने प्रक्रियामा हामी एकाकार भएर अघि बढ्छौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप