बाटो खोल्नुस् कमरेड ! अब हामी लैजान्छौँ
सारांश
- वाम आन्दोलनको एकताका लागि हालको प्रयास सतहमा मात्रै रहेको र यसले दक्षिणपन्थलाई बलियो बनाउने जोखिम रहेको विश्लेषण गरिएको छ।
- पार्टीभित्रको गुटबन्दी र नेतृत्वको भूमिका परिवर्तनको आवश्यकता औंल्याउँदै, वाम आन्दोलनको नयाँ मार्ग पहिल्याउनुपर्नेमा जोड दिइएको छ।
- लेखमा दलाल पुँजीवादको जालो र नागरिकको सोच परिवर्तनलाई राजनीतिक संकटको कारणको रूपमा औंल्याइएको छ।
मेरो अहिलेको प्रस्ताव एकताबद्ध वाम आन्दोलनका लागि केन्द्रित छ— त्यो हो पार्टीको एकता र समग्र कम्युनिस्ट आन्दोलनको एकता। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एकताको यो प्रश्न हाम्रा लागि सधैँ महत्त्वपूर्ण रहँदै आएको छ। विशेषगरी, २०१७ सालपछि जब हामी विभाजित भयौँ, त्यसयता यो एकताको प्रस्ताव आज पनि उत्तिकै महत्त्वपूर्ण र अपरिहार्य बनेको छ।
हामीले पछिल्लो पटक ०७५ साल जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एउटा एकता गर्यौँ। त्यो एकता गर्नुअघि हामी असाध्यै ठुलो वैचारिक र राजनीतिक झगडामा थियौँ। वैशाखको अन्तिमसम्म पनि एकता नहुने अवस्थातर्फ जाँदै थियो, तर अनपेक्षित रूपमा जेठ ३ गते एकता सम्पन्न भयो।
केले रोकेको थियो र केले भयो? यसको कारण नि:सन्देह छ, त्यसको सहमतिपत्रले नै स्पष्ट पार्छ— त्यो एकता सैद्धान्तिक वा राजनीतिक विश्लेषणमा आधारित थिएन, बरु भागबन्डामा आधारित थियो। त्यो एकता, पार्टीहरूको आम समस्याहरू के हुन्, स्वयम् माओवादी भित्रका समस्या के हुन्, एमालेका समस्याहरू के हुन्, कसको सामर्थ्य के हो र कमजोरी के हो भन्नेबारे कुनै लेखाजोखा नगरीकन गरियो। यसले गर्दा दुइटै पक्षको सामर्थ्यलाई घटाउने र कमजोरीहरूलाई सम्झौता (कम्प्रमाइज) को नाममा लुकाउने काम भयो। यस्तो मूल्याङ्कनको अभावमा अगाडि बढेको त्यो कदम एक दुर्घटना साबित भयो।
माओवादीका प्रयोग असफल छन्, एमालेका प्रयोगहरू असफल छन् र हाम्रो (एकीकृत समाजवादी) का प्रयोगहरू पनि असफल भएका छन्। यसको अर्थ, वाम आन्दोलनका तीनवटै धार सङ्कटमा छन्, र यसको मुख्य नेतृत्व असफल भएको छ।
दुर्भाग्यवश, त्यो एकता नेताहरूको व्यक्तिगत स्वार्थ र पार्टीगत कमजोरीका कारणले टिक्न सकेन। त्यस एकतालाई संगठनात्मक, राजनीतिक र सैद्धान्तिक जग दिन सकिएन, छिटोभन्दा छिटो स्पष्टताका साथ निष्कर्षमा पुग्न सकिएन। मैले त्यतिबेला नै प्रष्ट रूपमा विश्लेषण गरेको थिएँ, यदि हामीले त्यसलाई पूरा गर्न सकेनौँ भने यो दुर्घटनाग्रस्त हुनेछ र विभाजित हुनेछ।
त्यति ठुलो शक्तिमा विभाजन आएपछि राष्ट्रिय राजनीतिमा एउटा गम्भीर शून्यता आउनेछ। र, त्यो शून्यतालाई भर्नका लागि अनेक प्रयत्नहरू हुनेछन्। मैले शब्दशः लेखेको थिएँ, त्यो परिस्थितिमा ‘कलर रिभोलुसन’ को मञ्चन हुनेछ, सेनालाई आर्त-सार्त उतार्ने प्रयास हुनेछ र यो मुलुकमा भयङ्कर, डरलाग्दो गृहयुद्धको द्वन्द्व बढ्नेछ। दुर्भाग्यले आज परिस्थिति त्यही दिशामा अगाडि बढेको छ।
यसर्थ, हामीले यो सन्दर्भ किन उठाएका हौँ भने, अहिले वाम आन्दोलनका सम्पूर्ण प्रयोगहरू असफल भएका छन्। माओवादीका प्रयोग असफल छन्, एमालेका प्रयोगहरू असफल छन् र हाम्रो (एकीकृत समाजवादी) का प्रयोगहरू पनि असफल भएका छन्। यसको अर्थ, वाम आन्दोलनका तीनवटै धार सङ्कटमा छन्, र यसको मुख्य नेतृत्व असफल भएको छ।
यदि वाम आन्दोलनलाई एकताबद्ध नपार्ने हो भने हामी अझ डरलाग्दो परिस्थितितर्फ धकेलिनेछौँ। मैले यसलाई ‘ब्ल्याक होल’ को संज्ञा दिएको छु। आज एमाले झन् घोर दक्षिणपन्थी, नाङ्गो दक्षिणपन्थी हुँदै बर्बादीको नजिक जाँदैछ। माओवादी पनि राजनीतिक अवसरका लागि भौँतारिने अवस्थामा छ। हिजो ३१ लाख भोट पाएको माओवादी आज कतिमा आउँछ, थाहा छैन। यसलाई सफलता मान्ने कि असफलता, त्यो बहसको विषय छ।
आजका प्रश्नहरूको उत्तर आजकै अवस्थामा दिनुपर्छ। इतिहासको गौरवशाली गाथाले आजको सङ्कटको समाधान दिँदैन।
- वैचारिक जगको सङ्कट र ‘डीएनए’ को समस्या
आजको यो सङ्कट किन आयो? यसको मूल जरो के हो? समस्या पार्टीहरूले अपनाएको राजनीतिक बाटो वा नारामा मात्र छैन, बरु यसको ‘डिएनए’ मा छ। हामीले पार्टीहरूको वैचारिक जग (डीएनए) मा के समस्या छ भन्ने कुरा नखुट्ट्याइकन जतिसुकै एकता वा महाधिवेशनको कुरा गरे पनि अर्थ छैन। आज नेता, राज्य, राष्ट्रपति, सम्पूर्ण सत्ता संरचना भुइँमा छन्।
हाम्रा लागि पुराना इतिहासहरू, ०३२, ०३६, ०४६, ०६२/०६३ सालका क्रान्तिहरूको गुणगान गाउनुको कुनै औचित्य छैन। आजका प्रश्नहरूको उत्तर आजकै अवस्थामा दिनुपर्छ। इतिहासको गौरवशाली गाथाले आजको सङ्कटको समाधान दिँदैन।
अहिले एकताको कुरा गर्दा पार्टीको नाम, झण्डा, संगठनात्मक सिद्धान्त, मार्गदर्शन सिद्धान्त मिल्यो भनेर हामी सन्तुष्ट हुने गरेका छौँ। यो त सामान्य प्रारम्भिक कुरा मात्र हो। मूल कुरा, मुलुकको सङ्कट, आजको आवश्यकता अनि हाम्रा मेलमिलापका र भिन्नताका विषयहरूको वास्तविक लेखाजोखा हो। यो डरलाग्दो सङ्कटलाई नजरअन्दाज गर्दै हामी आँखामा पट्टी बाँधेर अगाडि बढ्नु हुँदैन। हामीले राम्रो गृहकार्य गर्नुपर्छ। एकता जरुरी छ, तर त्योभन्दा बढी वैचारिक र राजनीतिक गृहकार्य जरुरी छ।
हाम्रो राजनीतिक सङ्कटको अर्को महत्त्वपूर्ण कारण हो— दलाल पुँजीवादको जालो।
राजनीतिक शास्त्रले समाजमा अन्तर्विरोध आउँछन्, त्यसको समाधान जनताले पार्टीमा खोज्छन्, पार्टीले त्यो नारा बोकेर सरकार र संसदबाट पास गराउँछ र समाजको अन्तर्विरोध समाधान हुँदै जान्छ भन्छ। तर, नेपालमा यो प्रक्रियाले काम गरेन। यहाँ पार्टी, राज्य, संसद्, सबै घुँडा टेके। यसको मुख्य कारण ‘पुरानो नेता, पुराना पार्टी’ भन्ने भाष्यमा लुकेको छ। यो भाष्यको सैद्धान्तिक जग के हो?
• कमजोर नागरिकको युग: पञ्चायतकालमा नागरिक (प्रजा) कमजोर थियो। ऊसँग स्वतन्त्रता थिएन। हामीले ‘हामीले भनेको मान, हामी तिमीलाई बलियो बनाउँछौँ, तिमीलाई अधिकार दिन्छौँ’ भन्यौँ। नागरिक आफ्नो अधिकारका लागि बलियो हुन आयो। ०४६, ०६२/०६३ ले नागरिकलाई बलियो बनाएर गयो।
• बलियो नागरिकको युग (आज): तर, आज हाम्रो माइन्डसेट (मानसिकता) अझै पञ्चायतकालको छ। हामी आज पनि नागरिकलाई ‘हामीले तिमीलाई बाटो देखाउँछौँ’ भनेर कमजोर नागरिक ठान्दैछौँ। तर नागरिक आफै बलियो भइसक्यो। उसले तपाईँको आदेश मान्दैन, ऊ छलफलमा हिँड्छ। नेता आदेश गर्छन्, जनताले जुवा भाँच्छन्। यो वैचारिक रूपले भयङ्कर ठुलो गल्ती हो। पार्टी अब यसरी चल्दैन, किनभने नागरिक त्यतिकै बलियो भइसक्यो।
- दलाल पुँजीवादको जालो र राजनीतिक दलको विघटन
हाम्रो राजनीतिक सङ्कटको अर्को महत्त्वपूर्ण कारण हो— दलाल पुँजीवादको जालो। मैले विगत २० वर्षदेखि भन्दै आएको छु कि दलाल पुँजीवादले कसरी पार्टीहरू, नेताहरू, सांसदहरू, मन्त्री, प्रधानमन्त्री सबैलाई खरिद गर्छ।
परिणामस्वरूप, नेता नेताजस्तो रहेन, संसद् संसद्जस्तो रहेन। आज सांसद, नेता, दलाल पुँजीपति, न्यायाधीश, पुलिस सबै एउटै देखिए। राज्य, पुलिस, न्यायाधीश, पार्टी, सांसद, नेतामा कुनै फरक रहेन। जनताले हेर्दा ती सबै दोहनकारी र शोषण गर्ने दलाल पुँजीपतिहरू हुन्। यो कारणले गर्दा जनताले पार्टीलाई आफ्नो पार्टी होइन ठान्छन्। मतदाताले आफूले भोट दिएको पार्टीले आफ्नो प्रतिनिधित्व गर्दैन भनेर त्यसलाई फर्केर हेर्न छोडेका छन्। यसरी पार्टी नामको चीज भ्याक्युममा गयो, उसले काम गर्न छोड्यो।
मैले त्यतिबेला नै भनेको थिएँ— यो कार्यदिशा मात्रै बनाएर हुँदैन, यसलाई कार्यक्रम, नीति, कार्यनीति, सङ्गठन बनाउनुपर्छ। मेरो माग व्यक्तिगत थिएन, बरु पार्टीलाई सही बाटोमा लैजाने थियो।
हामीले जुझारु, अनुशासित, अपानि मान्ने, चुनाव जित्ने, धेरै भोट ल्याउने पार्टी बनाउनुपर्छ भन्छौँ। तर, क्रान्तिकारी पार्टीको परिभाषा पुष्पलाल कमरेडले दिएजस्तै हुनुपर्छ: सिद्धान्त, संगठन र परिचालन ।
यसलाई वैज्ञानिक रूपले प्रस्तुत गर्न सकिन्छ, जसले क्रान्तिलाई कहिल्यै नहार्ने बनाउँछ। संसदीय बाटोबाटै समाजवादमा जान सकिन्छ भन्ने ग्यारेन्टी हामीले जनतालाई दिनुपर्छ। तर, हामी मार्क्सवादी र क्रान्तिकारी पार्टी बनाइरहेका छैनौँ।
नवौँ महाधिवेशनमा समाजवादको कार्यदिशा स्वीकार गर्नु राम्रो थियो। तर, मैले त्यतिबेला नै भनेको थिएँ— यो कार्यदिशा मात्रै बनाएर हुँदैन, यसलाई कार्यक्रम, नीति, कार्यनीति, सङ्गठन बनाउनुपर्छ। मेरो माग व्यक्तिगत थिएन, बरु पार्टीलाई सही बाटोमा लैजाने थियो। तर, यसलाई बेवास्ता गरियो र शक्ति सङ्घर्षले नेताहरूलाई व्यक्तिगत हुर्मत लिने अवस्थासम्म पुर्यायो।
- जनवादी केन्द्रीयताको दुरुपयोग
कम्युनिस्ट आन्दोलनमा लेनिनपछि जनवादी केन्द्रीयता अपवादमा मात्रै लागू भएको छ। नेतासँग जोडिएपछि यो स्वेच्छाचारी भएको छ। इतिहासभरि हेर्नुहोस्, जस्तो सुकै गल्ती गरे पनि, अपराध गरे पनि नेताहरू जहिले पनि बहुमतमा हुन्छन्। देउवा, ओली, प्रचण्ड सधैँ बहुमतमा छन्। यसले नेतामाथि प्रश्न उठ्न दिँदैन।
लगानीको औचित्य लगानीले होइन, परिणामले दिन्छ। हाम्रो एकता औचित्यपूर्ण थियो भन्ने कुरा परिणामले पुष्टि गर्नुपर्छ।
जनवादी केन्द्रीयताको नाममा जेनजी वा डिस्कर्डजस्ता डिजिटल माध्यमहरूबाट मान्छे जम्मा गरेर प्रधानमन्त्री बनाउने युग आयो। आजको टेक्नोलोजीले डाइरेक्ट भोटिङ र अभ्यास गर्न सकिने अवस्थामा पुरानो जनवादी केन्द्रीयताको जडता टिकेको छ।
हामीले ०७८ सालमा नेकपा (एकीकृत समाजवादी) बनाएर ‘संविधान जोगायौँ’ भन्यौँ। तर, त्यसपछि के गर्यौँ? हामीले संसद् पुनर्स्थापनाको मुद्दामा सँगै काम गरे पनि त्यसपछिका कदमहरूमा गम्भीर गल्ती गर्यौँ। तत्कालीन एमाले फुटाएर त्यो चोइटालाई प्रयोग गर्ने अर्थमा मात्र हाम्रो एकतालाई बुझियो, जुन गलत थियो। परिणामतः मरिसकेको कांग्रेस (राजनीतिक अर्थमा) बिउँतेर आयो। हामीले आफ्ना कदमहरूको समग्र मूल्याङ्कन गर्नुपर्छ।
लगानीको औचित्य लगानीले होइन, परिणामले दिन्छ। हाम्रो एकता औचित्यपूर्ण थियो भन्ने कुरा परिणामले पुष्टि गर्नुपर्छ। पुनर्गठन र रूपान्तरण भनेको यो एकीकृत समाजवादी आज हरेकले ‘यो पार्टी अब चल्न सक्दैन, लगेर बुझाइदिऊँ’ भन्नुपर्ने अपमानको ठाउँमा किन आयो ? यो अपमान घनश्याम भुसाल, माधव नेपाल, झलनाथ खनाल वा कुनै व्यक्तिको होइन, यो वैचारिक विचलनको अपमान हो।
- निष्कर्ष र पुनर्गठनको अपरिहार्यता
अहिलेको वाम एकताको प्रयास पनि सतही र सैद्धान्तिक आधार बिनाको छ। यस्तो एकताले दक्षिणपन्थलाई बलियो बनाउने जोखिम छ। माओवादीभित्रका गुटबन्दीहरू जस्ता छन्, त्यसलाई विचार नगरी हतारमा एकतामा गइयो भने एक-दुई जना कमरेडहरूलाई पद वा टिकट दिएर अरूको सत्यानाश बाहेक केही हुनेछैन। यो ग्लानिपूर्ण, अवसादपूर्ण र अपमानपूर्ण हुनेछ।
आजको आवश्यकता यो अपमानपूर्ण अवस्थालाई सच्याएर वाम आन्दोलनको नयाँ र क्रान्तिकारी मार्ग पहिल्याउनु हो।
यसकारण, पार्टीले गम्भीरतापूर्वक सोच्नुपर्छ। पुनर्गठनको सुरुवात गर्नुपर्छ। पुनर्गठनको अर्थ एउटा व्यक्ति हटाउने मात्र होइन। आज व्यक्ति यस्तो अवरोध हो जसलाई समाजले इन्कार गरिसकेको छ। मैले त्यही भएर भनेको ‘प्रचण्ड कमरेड, माधव कमरेड, तपाईंहरू छोड्नुस्, भूमिका बदल्नुस् । त्यो भूमिकामा सान्दर्भिक हुनुहोला।’ किनभने यो भूमिकामा समाजले मानेन । हामीले त मानेकै हो, कार्यकर्ताले त मानेकै हुन्, सदस्यले त मानेकै हुन्, तर समाजले मानेन कमरेड ! मैले बारम्बार भनेको छु, बाटो खोल्नुस् तपाईंहरू (पहिलो तहको नेतृत्व), अब हामी लैजान्छौँ। सैद्धान्तिक रूपले हामी योग्य छौँ ।
त्यसैले आजको सङ्कटको समाधानका लागि:
- सत्य स्वीकार: वाम आन्दोलनको ‘डीएनए’ र वैचारिक सङ्कटलाई स्वीकार गर्ने।
- नेतृत्वको भूमिका परिवर्तन: पहिलो तहका नेताहरूले आफ्नो भूमिका बदल्ने, आवश्यक परे राजीनामा गरेर नयाँ नेतृत्वलाई बाटो खोल्ने।
- क्रान्तिकारी आधार: नयाँ विचार र सिद्धान्तहरूको निर्माण गरी, कम्युनिस्ट आन्दोलनको बृहत् वाम एकताका लागि साँच्चिकै क्रान्तिकारी आधार तयार गर्ने।
जबसम्म हामी यो सैद्धान्तिक र राजनीतिक गृहकार्य गर्दैनौँ, तबसम्म कुनै पनि एकताले मुलुक र जनताको हितमा काम गर्न सक्दैन। आजको आवश्यकता यो अपमानपूर्ण अवस्थालाई सच्याएर वाम आन्दोलनको नयाँ र क्रान्तिकारी मार्ग पहिल्याउनु हो।
(नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा व्यक्त विचारको सम्पादित अंश)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण