‘क्युआर कोड’सहितको १२ लाख लाइसेन्स छाप्ने यस्तो छ तयारी, प्रतिगोटा लागत १९५ रुपैयाँ
सारांश
- स्मार्ट लाइसेन्स छपाइको तयारीले चालक अनुमति पत्रको प्रतीक्षामा रहेका सेवाग्राहीलाई राहत मिल्ने भएको छ।
- सुरक्षण मुद्रण केन्द्रले क्युआर कोड समावेश भएको स्मार्ट लाइसेन्स छाप्ने र १२ लाख लाइसेन्स छपाइको तयारी गरेको छ।
- विभाग र केन्द्रबीच लाइसेन्स छपाइको समझदारी भएको छ, र छपाइको काम एक हप्ताभित्रै सुरु हुने सम्भावना छ।
काठमाडौँ । लामो समयदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रतीक्षामा रहेका सेवाग्राहीले अब कागजको ‘चिर्कटो’ बोकिराख्नुपर्ने झन्झटबाट राहत पाउने भएका छन् । सुरक्षण मुद्रण केन्द्रले ‘क्युआर कोड’ समावेश गरिएको स्मार्ट लाइसेन्स छपाइको तयारी गरेसँगै सेवाग्राहीले राहत पाउने भएका हुन् ।
यातायात व्यवस्था विभागसँगको सहकार्यमा तत्काल १२ लाख लाइसेन्स छापिने कोषको भनाइ छ । योजनाले वैदेशिक रोजगारीमा जाने तथा अत्यावश्यक परेकासहित हाललाई १२ लाख सेवाग्राहीलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
यसअघि यातायात व्यवस्था विभागले छाप्दै आएको लाइसेन्समा चिप जडान गरिएको थियो । अब भने सुरक्षण मुद्रण केन्द्रबाट छपाइ हुने स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा चिपको सट्टा क्युआर कोड प्रयोग हुने छ । केन्द्रका उपसचिव गोपाल राज तिमिल्सिनाले नयाँ लाइसेन्सको स्वरूप परिवर्तन हुने र त्यसको छपाइका लागि केन्द्र पूर्ण रूपमा तयार रहेको रातोपाटीलाई बताए ।
तिमिल्सिनाका अनुसार, नयाँ छाप्न लागिएको लाइसेन्स पनि स्मार्ट कार्ड नै हुनेछ, तर पहिलेको जस्तो चिप जडान हुनेछैन । ‘कार्ड स्मार्ट नै हो, तर त्यसमा चिप हुँदैन, क्युआर कोड हुन्छ,’ तिमिल्सिनाले भने ।
- २५ लाखमध्ये केन्द्रले १२ लाख लाइसेन्स छाप्ने
यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीका अनुसार केन्द्रले तत्कालका लागि तयार हुन नसकेका २५ लाख लाइसेन्समध्ये १२ लाख छाप्ने गरी तयारी गरेको छ । केन्द्रले ३ देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्ने उनको भनाइ छ ।
‘केन्द्रसँग अहिलेलाई १२ लाख कार्ड छाप्ने गरी समझदारी भएको छ । अझै केही प्राविधिक कुराहरू मिलाउन बाँकी छ । छपाइको काम छिट्टै, सम्भवतः एक हप्ताभित्रै सुरु हुन्छ ।’
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच बुधबार उक्त सङ्ख्यामा लाइसेन्स छाप्नेबारे समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।
यससँगै केन्द्रले छपाइका लागि आवश्यक उपकरण तयारी अवस्थामा रहेको बताएको छ । विभागबाट आवश्यक डाटा प्राप्त भएलगत्तै छपाइको काम हुने उपसचिव तिमिल्सिनाले बताए ।
तिमिल्सिनाका अनुसार, छपाइको मेसिन विगत तीन–चार वर्षदेखि नै बनेपामा जडान गरेर तयारी अवस्थामा राखिएको छ ।
‘सबैभन्दा पहिला हामीलाई डाटा चाहियो। विभागले अहिलेसम्म डाटा दिन सकेको छैन,’ उनले भने, ‘कहिले डाटा आउँछ, त्यसपछि मात्र छपाइ सुरु हुन्छ ।’
- लाइसेन्स नपाएर सास्ती भोगिरहेकालाई राहत
लामो समयदेखि लाइसेन्स नपाएर सास्ती भोगिरहेका सेवाग्राहीलाई यसले राहत दिने अपेक्षा गरिएको छ । तिवारीका अनुसार तत्काल आवश्यक परेका र लामो समयदेखि प्रतीक्षा सूचीमा रहेका दुवैलाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण गरिनेछ ।
छपाइको सुरुवातमा सानो सङ्ख्याबाट काम थालिने र क्रमशः बढाउँदै लगिने योजना विभागको छ । ‘सबै कुरा छलफलकै क्रममा छ, भोलि–पर्सिसम्ममा कहिलेबाट र कसरी छाप्ने भन्नेबारे टुङ्गो लाग्नेछ,’ तिवारीले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जानेलगायत तत्काल लाइसेन्स चाहिनेको हकमा केन्द्रले दैनिक ५ सय लाइसेन्स छापेर तुरुन्त दिने सहमति भएको छ । त्यसपछि भने विभागले आफ्नै प्रणाली विकास गरेर लाइसेन्स वितरण गर्ने जनाएको छ ।
यसअघि विभागले अत्यावश्यक सवारी लाइसेन्स छापेर वितरण गर्दै आएको थियो । तर जेनजी आन्दोलनका क्रममा लाइसेन्स छाप्ने मेशिन ध्वस्त बनेपछि लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द गरिएको थियो । जसका कारण वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अत्यावश्यक सवारी लाइसेन्स आवश्यक सेवाग्राही मर्कामा परेका छन् ।
गत भदौ २३/२४ को जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग तोडफोड तथा आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो । सो क्रममा सवारी लाइसेन्स छपाइ मेशिनपनि पूर्ण रूपमा क्षति पुगेको थियो ।
केन्द्रले एउटा लाइसेन्स छाप्दा लगभग १९५.१७ रुपैयाँ (करबाहेक) लागत अनुमान गरेको छ । यो लागत बोर्डले निर्धारण गरेको हो । यातायात व्यवस्था विभागले लाइसेन्स छपाइको बजेट उपलब्ध गराउने समझदारी भएको छ । ‘हाम्रो आफ्नो कुनै बजेट हुँदैन, जसको काम गर्ने हो, उहाँहरूकै बजेटले गरिदिने हो,’ तिमिल्सिनाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण