महाधिवेशनको सकसले नेपाली कांग्रेसभित्र अन्तरसंघर्ष चर्किएको छ । १५औँ महाधिवेशन सम्मुख रहेको कांग्रेसमा विशेष कि नियमित महाधिवेशन गर्ने भन्नेमात्र होइन, कहिले गर्ने भन्ने विषयमा पनि विवाद छ ।
१४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीले किन समयमै १५ औँ महाधिवेशनको तयारी गर्न सकेनन् ? समयमा महाधिवेशन हुन नसक्नुको कारण के हो र को–को जिम्मेवार छन् भन्नेबारे बहस नचलेको पनि होइन । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाही भन्छन्– महाधिवेशनको तयारी गर्नुपर्ने थियो, तर त्यतापट्टि पार्टीको पटक्कै ध्यान गएन । यसमा सबैको कमजोरी देखियो ।
देश संकटमा परेका बेला राष्ट्रिय समस्याबारे गम्भीर छलफल गर्नुपर्नेमा नेपाली कांग्रेस आन्तरिक झगडामा अलमलिएको भन्दै शाहीले नियमित कि विशेष महाधिवेशन भनेर विवाद गर्नुको अर्थ नरहेको बताए । विधानअनुसार अर्को महाधिवेशन आउन धेरै समय बाँकी रहेको अवस्थामा तत्काल महत्त्वपूर्ण विषयमा निर्णयका लागि विशेष महाधिवेशन गर्न सकिने तर अहिले त्यस्तो परिस्थिति नभएकाले नियमित महाधिवेशनमै जानुपर्ने उनको भनाइ छ ।
‘नियमित महाधिवेशन गर्ने समय नै आइसकेकाले विशेष महाधिवेशन किन ?’ भन्ने प्रश्न गर्दै शाहीले विशेष महाधिवेशन गर्दा टाउको फेरिएला तर पार्टीका तलदेखि माथिसम्मका संरचना उस्तै रहने दाबी गरे । विशेष महाधिवेशनले ‘जेनजी’ पुस्ता पार्टीमा प्रवेश नै गर्न नसक्ने उनको जिकिर छ ।
शाहीले राष्ट्रिय संकटको बेला नेपाली कांग्रेस एकताबद्ध भई सामूहिक भावनाका साथ बोल्नुपर्नेमा गुटगत विवादमा अल्झिनु राम्रो नभएको प्रस्ट पारे ।
यी र यस्तै समसामयिक विषयमा कांग्रेसका युवा नेता शाहीसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।
प्रतिक्रिया